गायिकाको बक्सिङ सपना
काठमाडौँ- विश्व च्याम्पियनसीपको क्वार्टरफाइनलसम्मको यात्रा तय गर्ने पहिलो नेपाली बक्सर हुन्, अन्जनी तेली । उनै अन्जनी सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनको हान्झाउमा हुने एसियन गेम्सको तयारीमा व्यस्त छिन् ।
एसियन गेम्सको तयारीमा जुटे पनि अन्जनीको लक्ष्य भनेको नेपालका लागि ओलम्पिकमा छनोट हुनु हो । त्यसका लागि उनले दिनहुँ कडा मेहनत गरिररहेकी छन् ।
‘चीनमा हुने एसियन गेम्समा क्वार्टरफाइनलसम्मको यात्रा तय गरेर ओलम्पिकका लागि छनोट हुने विश्वास मैले लिएकी छु,’ अन्जनीले इकागजलाई बताइन् ।
अन्जनीले भारतको नयाँ दिल्लीमा गत मार्चमा भएको आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालका लागि कीर्तिमान कायम गरेकी थिइन् । उनले दुई खेल जित्दै क्वार्टरफाइनलसम्मको यात्रा तय गरेकी थिइन्, जुन नेपाली बक्सिङका लागि कीर्तिमान नै हो । यसअघि कुनै पनि नेपाली बक्सिङ खेलाडीले विश्व च्याम्पियनसिपमा एक खेल पनि जित्न सकेका थिएनन् ।
विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम आठमा पुग्ने पहिलो नेपाली बक्सर बनेपछि अन्जनीको चर्चा चुलियो तर यही समयमा कीर्तिमान कायम गर्दै गर्दा उनको राष्ट्रियतामाथि प्रश्न पनि उठेको थियो ।
५२ केजीमुनीको तौल समूहमा खेलेकी अन्जनीले आफ्नो पहिलो खेलमै जित हात पारेपछि भारतीय संचारमाध्यममा भारतीय खेलाडी भएपनि अन्जनीले नेपालका लागि खेलेको भन्दै समाचारहरु आएका थिए । भारतीय टिमका प्रशिक्षक तथा पदाधिकारीहरुले पनि विरोध जनाए ।
अन्जनीले पहिलो खेलमै डोमिनिक रिपब्लिककी हर्नान्डेज गार्सिया मिगुलिनालाई पराजित गरेकी थिइन् । तर विरोध हुनुका साथै उजुरी परेपछि अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) का पदाधिकारीहरुले अन्जनीको राष्ट्रियता छानविन गरे र पछि ‘क्लिन चिट’ दिए । अन्जनीका अनुसार दिल्लीका प्रशिक्षकले उनलाई विवादित बनाएका थिए ।
उनको दोस्रो खेल भने हाइटीका खेलाडीसँग थियो । त्यसअघि नै उनको राष्ट्रियतालाई लिएर बहस सुरु भयो । तर विवादलाई परास्त गर्दै उनले दोस्रो खेल जितेर अन्तिम आठको यात्रा तय गरिन् ।
‘विवादपछि मैले खेल जितेँ र आफूलाई विवादमा तान्नेहरुलाई गतिलो जवाफ दिएँ । सबै कुरा प्रष्ट भएका कारण आत्मविश्वास पनि बढ्यो,’ अन्जनीले सुनाइन् ।
खासमा भारतमा हुँदा उनको बुबाले अन्जनीको नाम हिमलता राखेका थिए । जबकि नेपालमा उनका हजुरबुबाले उनको नाम अन्जनी राखेका थिए । यही कारण पनि विश्व च्याम्पियनसिपका क्रममा विवाद भएको अन्जनी बताउँछिन् ।
नेपालको लुम्बिनी प्रदेशको कपिलवस्तुमा घर भएपनि करिब ३० वर्षअघि नै अन्जनीका आमा र बुवा रोजगारीका लागि भारतको दिल्ली गए । र सन् १९९९ मा भारतमै अन्जनीको जन्म भयो । उनी दिल्लीमै हुर्किइन् तथा त्यहीँको दिल्ली विश्वविद्यालयबाट ‘बी कम’ सम्मको पढाइ पनि पूरा गरिन् ।
पढाइ पूरा गरेपछि बल्ल अन्जनीले सन् २०१९ मा १९-२० वर्षको उमेरमा बक्सिङ सुरु गरिन् । सन् २०२१ मै दिल्लीको राज्यस्तरमा अन्जनीले ५० केजी तौलसमूहमा स्वर्ण पनि हात पारिन् । तर केही समयपछि नै उनले राज्य परिवर्तन गरिन् । बक्सिङका लागि राम्रो सुविधा तथा अभ्यासका लागि राम्रो मानिने हरियाणा पुगिन् ।
सन् २०२२ मा नेपालबाट खेल्न सुरु गरेकी अन्जनीले गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा बागमती प्रदेशका लागि रजत पदक समेत जितिन् । अन्जनीका अनुसार काठमाडौँमा बक्सिङ सिकाइरहेको बक्समान्डुका प्रशिक्षक सन्दिप श्रेष्ठको सहयोगमा नेपाल आइपुगेकी हुन् ।
नेपालबाट खेल्न सुरु गरेको छोटो समयमै अन्जनीले चर्चा बटुलिरहेकी छन् र उनीबाट अन्तर्राष्ट्रिय पदक अपेक्षा गर्न थालिएको छ । एसियन गेम्सका लागि प्रशिक्षण गराइरहेका प्रशिक्षक मध्येका एक दीपक महर्जनले पनि अन्जनीबाट एसियन गेम्समा पदकको अपेक्षा गरिएको बताए ।
‘मैले नेपालका लागि पदक जित्ने तथा ओलम्पिकका लागि छनोट हुनेमा मेरा प्रशिक्षकहरु विश्वस्त हुनुहुन्छ,’ पाँच दाजुकी एक्ली बहिनी अन्जनीले भनिन् ।
खासमा सन् २०१९ को सुरुवातसम्म पनि अन्जनीलाई बक्सिङ खेलाडी बन्छु भनेर लागेको थिएन । उनको लक्ष्य भनेको गायक बन्ने थियो । त्यसका लागि उनले दिल्लीकै राम्रो मानिएको एक प्रशिक्षण केन्द्रमा सन् २०१६ देखि २०१८ सम्म तीन वर्षसम्म संगीतको शिक्षा लिइन् ।
तर बक्सिङमा लागेपछि भने उनले संगीत भन्दा पनि बक्सिङलाई प्राथमिकतामा राखेकी छन् । ‘कुनै समय गायक बन्ने उदेश्य राखेकी थिएँ । बच्चैदेखि गायक बन्ने सोच पनि थियो । बक्सिङको बारेमा सोचेको पनि थिइँन । तर भारतमा बस्दा राज्य परिवर्तन गरेपछि संगीतलाई दोस्रो प्राथमिकतामा राखेकी हुँ,’ अन्जनीले थपिन् ।
धेरैजसोले उनलाई बक्सिङ छाडेर गीत गाउन पनि सुझाव दिन्छन् । तर अन्जनी भन्छिन्, ‘जब जब आफूलाई शान्ति चाहिन्छ, गीत गाउछु । बक्सिङलाई भने व्यावसायिक रुपमा लैजाने हो ।’
तर भारतमा लामो समय बिताएकी अन्जनीका लागि नेपालमा अर्थात काठमाडौँमा अभ्यास गर्न भने त्यति सजिलो भने छैन । उनलाई यहाँको वातावरणमा घुलमिल हुनकै लागि पनि कम्तिमा पनि एक महिना चाहिन्छ ।
‘भारत र नेपालको अल्टिच्यूडका कारण मलाई काठमाडौँमा अभ्यासका लागि एडजस्ट हुन निकै गाह्रो हुन्छ । नेपालमा खेल्न आउँदा कम्तिमा पनि एक महिना अगावै नेपाल आइपुग्नुपर्छ । उचाइका कारण क्षमतामा ह्रास आउने गरेका कारण १०० मिटर दौडिन पनि गाह्रो हुन्छ,’ अन्जनी थप्छिन् । यसैका कारण उनले भारतमा गरेको अभ्यास नेपालमा उपयोगी हुन सकिरहेको छैन ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया