फिचर

टोकियो ओेलम्पिकसँग जोडिएको जापानी राष्ट्रवाद

इकागज |
जेठ २४, २०७८ सोमबार १०:५५ बजे

काठमाडौँ: टोकियो ओलम्पिक सुरु हुन ५० दिन पनि बाँकी छैन । यो खेलकुद महाउत्सव आउँदो जुलाई–अगस्टमा आयोजना हुँदैछ । कोभिड–१९ महामारीको खतरा नभएको भए, विश्व खेलकुदकै सबैभन्दा ठूलो ‘इभेन्ट’ सन् २०२० मै हुने थियो ।

कोभिड–१९ को खतरा सकिएको भने छैन । यो महामारीले ओलम्पिक आयोजक जापानलाई साँच्चै नै गाँजेको छ । टोकियो लगायतका सहरमा संकटकाल लगाइएको छ । अस्पताल भर्ना हुने संक्रमितहरूको संख्या बढिरहेको छ । यस्तोमा टोकियो आलम्पिक स्थगित हुनुपर्ने माग उठिरहेको छ । अहिलेको अवस्थामा ओलम्पिक आयोजना गर्न नहुनेमा सर्वसाधारण देखि जनस्वास्थ्य विद्हरू एकमत छन् । तर भइरहेको विरोधलाई अन्तरार्ष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले वास्ता गरेको छैन । 


पछिल्लो समय जापानमा खोप कार्यक्रम सुस्त बनेको छ । कयौँ विदेशी खेलाडी खोप नलगाई जापान पुग्नेछन् । यस्तोमा ओलम्पिक ‘सुपर स्प्रेडर’ इभेन्ट पनि हुनसक्छ । ओलम्पिक स्थगित गर्नुपर्ने मागका बावजुद पनि जापान किन जसरी पनि ओलम्पिक आयोजना गर्ने पक्षमा छ ? आईओसीसँग सम्झौताका कारण जापान ओलम्पिक आयोजना गर्नै पर्ने अवस्थामा छ । अनि, जापानी प्रधानमन्त्री सुगा योसिहिडेको व्यक्तिगत आकांक्षा पनि ओलम्पिक गर्ने नै हो । 

सफलतापूर्वक ओलम्पिक आयोजना गरेर जापान विश्वलाई आफू ठूला इभेन्ट गर्न सक्षम रहेको सन्देश दिन चाहन्छ । जापानको शक्ति क्षय हुँदै गएको र उसको स्थान चीनले लिएको भनिदै गर्दा, योसिहिडे त्यस किसिमको दाबीलाई चुनौती दिन चाहन्छन् । उसो त ओलम्पिक आयोजनाले प्रधानमन्त्री योसिहिडेको कद बढ्ने अनुमान पनि गरिएको छ ।

जापानले ओलम्पिक आयोजना गर्न लागेको यो पहिलो पटक होइन । जापानले सन् १९४० मा पनि आयोजना अधिकार पाएको थियो । त्यस मौका जापानले सजिलै पाएको भने थिएन । सन् १९३० को दशकमा जापानले ओलम्पिक आयोजना अधिकारका लागि विश्वभर नै लबी गर‍्‍यो । तर टोकियोमा आयोजना गरिने भनिएको सो ओलम्पिक अन्तिममा स्थगित गरियो । चीनमाथिको जापानी आक्रमण र सुरु हुँदै गरेको विश्वयुद्धका कारण टोकियो ओलम्पिक आयोजना सम्भव भएन । 

सन् १९४० को टोकियो ओलम्पिक स्थगित हुँदैगर्दा जापानी शासक थिए, हिरोहितो । उनका सल्लाहकार किडो कोइचीले शान्ति बहाली हुनसाथ टोकियोले स्थगित ओलम्पिक आयोजना गर्ने दाबी गरे । तर कालान्तरमा उनी दुश्यबाट हराए । उनीमाथि युद्ध अपराधको आरोप लाग्यो । कोइचीले गरेको वाचा टोकियोले पूरा गर्‍यो । तर अलिक समय लगाएर । सन् १९६४ मा टोकियाले सफलतापूर्वक ओलम्पिक आयोजना गर्‍यो । 

एसियामा ओलम्पिक आयोजना हुँदा आयोजक मुलुककै राजनीति परिवर्तन भएको उदाहरण छ । सन् १९९८ मा दक्षिण कोरियाली सहर सियोलले ओलम्पिक आयोजना गर्दा त्यस मुलुकमा रहेको अधिनायकवादी शासन ढल्न मद्दत पुग्यो । चिनियाँ राजधानी बेइजिङमा सन् २००८ मा ओलम्पिक गरिँदा कम्युनिष्ट पार्टी शासित मुलुकको इज्जत बढेको मानियो । चीनले सन् २०२२ मा फेरि ओलम्पिक आयोजना गर्दैछ । तर समर होइन विन्टर ओलम्पिक । भनिन्छ, टोकियोले यसपटकको समर ओलम्पिक आयोजना गर्न असमर्थ हुने हो भने, याे चीनका लागि  जापानविरुद्ध प्रोपोगान्डा फैलाउने अवसर  बन्नेछ । 

धेरै अर्थमा ओलम्पिक आयोजना देशभक्ति र राष्ट्रवादसँग जोडिएको हुन्छ । आयोजक मुलुकको इज्जत र क्षमताको विषय त छँदैछ । त्यसकारण जापान ओलम्पिक स्थगित गर्न नदिने मनस्थितीमा छ । चाहे छिमेकी मुलुकबाटै ओलम्पिक बाहिस्कार गर्ने धम्की नै किन नआइरहेको होस् । त्यसकै नतिजा हो, जापानले छिमेकी दक्षिण कोरियाका दुई पूर्व प्रधानमन्त्रीको कुरा नसुनिरहेको । ती पूर्व प्रधानमन्त्रीले दक्षिण कोरियाले टोकियो ओलम्पिक नै बहिस्कार गर्नुपर्ने माग राखिरहेका छन् । 

ओलम्पिक टर्च रिले कार्यक्रममा जापानको नक्सा देखाइएको थियो । त्यस नक्सामा डोक्डो नाम गरेको सानो महाद्विपलाई पनि समावेश गरिएको थियो । डोक्डोमाथि दक्षिण कोरियाको पनि दाबी छ । त्यसकारण दक्षिण कोरियाली प्रधानमन्त्रीहरूले टोकियो ओलम्पिक बहिस्कर गर्नुपर्ने माग गरिरहेका हुन् । दक्षिण कोरियाले नक्सा संशोधन गर्नुपर्ने माग औपचारिक रुपमै राखेको छ । तर जापानले छिमेकीको माग स्वीकार गरेको छैन । 

त्यसो त जापानी ओलम्पिक कमिटीले डोक्डोलाई जापानी नक्सामा सजिलै नदेखिने तरिकाले समावेश गरेको थियो । तर जुम गर्दा भने डोक्डो प्रष्टै देखिन्थ्यो । डोक्डोलाई जापानी नक्सामा समावेश गर्दा दक्षिण कोरिया आक्रोशित हुन्छ भन्ने अनुमान अवश्य पनि गरिएको थियो । त्यसै पनि जापान र दक्षिण कोरियाबीचको सम्बन्ध न्यानो छैन । जापानको दक्षिणपन्थी दलको ‘राष्ट्रवाद’को नाराले त्यसै पनि दक्षिण कोरियाविरुद्ध माहोल सिर्जना गरिरहेको हुन्छ । भलै सत्तारुढ दलले दक्षिण कोरियासँग सम्बन्ध सुधार्नुपर्छ भन्ने मान्यता किन नराखोस् । 

दी इकनोमिस्टबाट 
 
 


Author

थप समाचार
x