फिचर

विश्वकप छनौटः जित्‍नै पर्ने खेलमा अर्जेन्टिनाको भेट ब्राजिलसँग

इकागज |
कात्तिक २९, २०७८ सोमवार १९:९ बजे

काठमाडौँ- विश्वकप जित्‍ने मामलामा युरोपलाई पछ्याउने महादेश दक्षिण अमेरिका नै हो । अनि दक्षिण अमेरिकाको मात्र नभई विश्व फुटबलकै सर्वाधिक सफल टिम ब्राजिल हो । जो पाँच पटक विश्व विजेता बनेको छ । ब्राजिल जस्तै लोकप्रिय तर उसको भन्दा कम संख्यामा विश्वकप जितेको टिम हो, अर्जेन्टिना । यी दुई टिम बुधबार बिहान आमनेसामने हुँदैछन् । त्यो पनि विश्वकप छनौटमा । 

ब्राजिल कतारमा हुने विश्वकप २०२२ का लागि छनौट भइसकेको छ । दक्षिण अमेरिकातर्फको विश्वकप छनौटमा अपराजित रहँदै ब्राजिलले कतारको टिकट काटेको हो । कुल १० टिम सम्मिलित दक्षिण अमेरिकी छनौटमा शीर्ष स्थानको ब्राजिलको ३४ अंक छ ।  ब्राजिललाई पछ्याइरहेको अर्जेन्टिनाको खातामा १२ खेलबाट २८ अंक छ भने तेस्रो र चौथो स्थानमा रहेका इक्वेडर र चिलीको क्रमशः २० र १६ अंक छ । दक्षिण अमेरिकी छनौटको शीर्ष चारमा रहने टिम विश्वकपका लागि स्वतः छनौट हुन्छन् । अनि पाँचौँ स्थानमा रहने टिमले अर्को महादेशको टिमसँग प्ले–अफ खेल्ने गर्छ ।


छनौटमा अर्जेन्टिनाले पाँच खेल खेल्न बाँकी छ । यी पाँच खेलबाट अर्जेन्टिनाले विश्वकप सहभागिताका लागि चाहिने अंक बटुल्नेछ भनेर अनुमान गर्न सकिने ठाउँ प्रशस्त छ । तर ब्राजिलविरुद्धको खेल अर्जेन्टिनाका लागि महत्वपूर्ण छ । यसको कारण विश्वकपमा छनौटका लागि अंक बटुल्ने मौका भएकाले मात्र होइन, दक्षिण अमेरिकाको सबैभन्दा बलियो टिम को ? भन्‍ने प्रश्नको उत्तरका लागि पनि यो खेलको नतिजाको महत्व छ । यसैकारण पनि यी दुई टिम भिड्ने खेललाई ‘सुपरक्लासिको’ भन्‍ने गरिएको हो । 

लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले केही महिनाअघि सम्पन्‍न कोपा अमेरिकाको फाइनलमा ब्राजिललाई पराजित गरेको थियो । कोपा अमेरिका मेस्सीले राष्ट्रिय टिमबाट जितेको एकल उपाधि हो । अब उनको नजर विश्वकपमाथि छ । यसका लागि पहिलो विश्वकपमा छनौट हुनुछ । त्यो पनि आफ्नो मैदानमा हुने छनौट खेलमा ब्राजिललाई पराजित गर्दै । यसका लागि मेस्सी र उनका साथी खेलाडीहरूलाई घरेलु दर्शकको साथ हुनेछ । 

छनौटका अधिकतम अंक बटुलेर विश्वकपमा स्थान पक्का गर्न चाहन्छ, ब्राजिल । संयोगवश दक्षिण अमेरिकी फुटबलको इतिहासमा अर्जेन्टिना सर्वाधिक अंकका साथ सन् २००२ विश्वकपका लागि छनौट भएको थियो । त्यसबखत अर्जेन्टिनाले ४३ अंक जम्मा गरेको थियो । यसपटक भने अर्जेन्टिनाको स्थिती फरक छ । 

तत्कालै विश्वकपमा स्थान सुरक्षित गर्न अर्जेन्टिनाका लागि ब्राजिलविरुद्धको जित मात्रै पर्याप्त हुने छैन । चिली, कोलम्बिया र उरुग्वेमध्ये दुई टिमले हार बेर्होनु पर्नेछ । समिकरणतर्फ आँखा डुलाएर निराश बन्न सक्ने अर्जेन्टिनी समर्थकका लागि खुशीको खबर पनि छ । खुशीको खबर मेस्सीको सुध्रेको फिटनेस हो । पेरिस सेन्ट जर्मेन (पीएसजी)का साथी नेयमार सम्मिलित ब्राजिलसँगको खेलका लागि मेस्सी तयार छन् । 

मेस्सी र नेयमार नेतृत्वको भिडन्तको साक्षी बन्‍न सान जुवाँनमा हजारौँ दर्शक उत्साहित छन् । यो खेलका लागि टिकट खरिद गर्न समर्थकहरू दुई माइल लामो लाइनमा बसेका थिए । यस क्षेत्रका प्राय सबै होटल समर्थकले भरिभराउ छन् । 

लगातार २६ खेल नहारेकोे अर्जेन्टिनासँगको खेलमा ब्राजिलले कासिमिरोलाई प्रयोग गर्न पाउने छैन । टिटेका प्रिय मिडफिल्डरले कोलम्बियाविरुद्ध पाएको रातो कार्ड थिए । यहीकारण उनी यो खेलमा अनुपस्थित रहनेछन् । उनको स्थान लिभरपुलका फाबिन्होले लिने अनुमान गरिएको छ । फरवार्ड लाइनमा गेब्रियल हेसुसलाई माथ्युएस कुन्हा र रक्षापंक्तिमा थिएगो सिल्भाको सट्टामा मिलिटाओले मौका पाउने अपेक्षा गरिएको छ । 

विश्वकपमा स्थान पक्का गरिसकेको पनि छनौटमा सर्वाधिक अंक बटुल्ने लक्ष्य पूरा भइनसकेको ब्राजिलका फुलब्याक डानिलोको भनाइ छ ।  तसर्थ अर्जेन्टिनाविरुद्धको खेलमा ब्राजिलले संयम अपनाएर खेल्ने उनको भनाइ छ । ‘यो खेलको प्रतिक्षा दक्षिण अमेरिकामा मात्रै होइन, विश्वका अन्य भागमा पनि छ । खासमा यो खेल ग्लोबल डर्बी हो । हाम्रो उदेश्य जसरी हुन्छ तीन अंक हासिल गर्ने हो,’ डानिलोले भनेका छन् । 


Author

थप समाचार
x