विमल घर्तीमगरकाे 'फेरिएकाे रुप'
फाइल फाेटाे
काठमाडौँ- पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँगको खेल फरवार्ड विमल घर्तीमगरका लागि निकै नै स्मरणीय रहनेछ । उनले केही वर्ष अघिसम्म आफू खेलमा फर्कने या नर्फकने सोच्न सकेका थिएनन्, अन्योल थियो । ठमेलको ठिस्को काण्डमा मुछिएका विमल कारबाहीपछि मैदान त फर्किए । तर, जीवनकै ठूलो चोट बोके ।
२०७७ साल मंसिरमा राष्ट्रिय टोलीको अभ्यास सत्र क्रममा घुँडाको चोटपछि एमआरआई रिपोर्टमा एन्टेरियल क्रुसिएर लिगामेन्ट (एसीएल) र मिडियल कोल्याटेर लिगामेन्ट (एमसीएल) गएपछि विमल करिब एक वर्ष नै मैदान बाहिर रहे । अखिल नेपाल फुटबल संघ (एन्फा)को सहयोगमा विमलले विश्वप्रसिद्ध कतारको अस्पेटार अस्पतालमा पुस २०७७ मा उपचार पाए ।
रिकवरीपछि विमल असाेज २०७८ मा यु-२३ राष्ट्रिय टोलीसँगै अभ्यासमा फर्किए । लगत्तै सहिद स्मारक ए डिभिजन लिग खेल्न साविक विजेता मछिन्द्र फुटबल क्लबसँग जोडिए । सुरुवाती खेलमा जम्न समय खर्चिएका विमलले पछिल्ला खेलहरूमा आफूलाई प्रमाणित गरे । जारी लिगमा ८ खेल खेल्दा ४४५ मिनेट (इन्जुरी समय बाहेक) मैदानमा बिताएर तीन गोल गरे ।
यसपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले विमललाई राष्ट्रिय टोलीमा ‘कमब्याक’ गराए । मौरिसससविरुद्धको दुवै खेलमा विमल टोलीमा थिए । पहिलो खेलमा प्लेईङ सेटमा खेलेका विमलले मैदानमा ७४ मिनेट बिताउँदै १ गोल गरे । अन्जन बिष्टको पासमा ५५औं मिनेटमा विमलले गरेको गोलमा नेपाल विजयी समेत भयो ।
जुन गोल विमलले भदाै २०७५ मा ढाकामा भएको साफ च्याम्पियनसिपमा आयोजक बंगलादेशविरुद्ध गरेपछिको थियो । दोस्रो खेलमा भने विमलले ४६ मिनेटपछि मैदानमा प्रवेश पाए । गोल भने भएन । तर, उनले अग्रपंक्तिमा आफूलाई प्रमाणित गर्दै विपक्षी रक्षकलाई दबाबमै राखे । लेफ्ट ब्याक पोसिजनमा खेलिरहेका सुजल श्रेष्ठले १०औं मिनेटमा गरेको गोल निर्णायक हुँदा नेपाल १-० ले विजयी भयो । पहिलो अफ्रिकन प्रतिद्वन्दी मौरिसससँग नेपालले दुबै मैत्रीपूर्ण खेलमा आफ्नो कब्जा जमायो ।
अब, भने विमलले आफूलाई सुधारिएको र फेरिँदै खेलमा फर्किएको संकेत गरेका छन् । उनले मैदान बाहिर रहँदासमेत सधै भावनात्मक रुपमा राष्ट्रप्रति साथ रहिरहेको जनाए ।
‘निकै लामो समय प्रत्यक्षरूपमा मैदान भित्र नरहँदा पनि भावनात्मक रूपमा राष्ट्रप्रति सदैव आफ्नो सत प्रतिशत साथ रहिरह्यो,’ २४ वर्षीय विमलले दुई खेलपछि भनेका छन् ।
विमलले सन् २०१२ मा बंगलादेशविरुद्ध डेब्यु गरेका थिए । १५ वर्षको उमेरमै डेब्यु गरेका विमलले हालसम्म नाै गोल गरिसकेका छन् । विमलले सन् २०१३ मा दशरथ रंगशालामा भएको साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध गोलसँग चर्चा बटुलेका थिए ।
त्यसयता उनको जीवनमा ठूलै उतारचढाव रह्यो । कहिले घरायसी कारण त कहिले आफ्नै व्यवहार । पछिल्लो समय कहिले ‘होस्टेल काण्ड’ कहिले ‘डिस्को काण्ड’ उनि चर्चामा आइरहे । साथै एन्फाको कारबाहीमा पनि ।
कात्तिक २०७६ मा विश्वकप छनोट अन्तर्गत कुवेतविरुद्ध थिम्पुमा खेल्नुअघि अघिल्लो रात ठमेलको क्लबमा भेटिएपछि तत्कालीन स्विडिस प्रशिक्षक योहान कालिनले विमलसहित चार खेलाडीलाई तत्कालनै टोली बाहिर राखे । विमल ९० दिन कुनै पनि फुटबल प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्धमा परे ।
करिब दुई वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गरेका विमल नेपालको झण्डा अंकित जर्सी लगाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुरासँग तुलना हुन नसक्ने मान्छन् ।
‘उतार चढाव पश्चात शारीरिक र मानसिक रुपमा सबल भई मैदानमा नेपालको झण्डाअंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षणलाई म अरु कुनै कुरासँग तुलना गर्न सक्दिन,’ देशका लागि ३७ क्याप जितेका विमल भन्छन् ।
यसअघि लिगका दौरान बोल्दै विमलले आफू सोहि ब्यक्ति भएपनि आफ्नो बानी व्यहाेरा र आचरण सुध्रिएको बताएका थिए । जुन उनले मैदानमा समेत देखाएका छन् ।
उत्कृष्ट फिनिसिङ, बल ड्रिब्लिङ, काउन्टर अट्याक र विपक्षी रक्षकलाई सहजै बिट गराउन सक्ने खुबी भएका विमल आम दर्शक र प्रशिक्षकका रुचाइएका खेलाडी हुन् ।
यसैले नै विमल भन्छन्, ‘टिमको साथ, दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सदैव आत्मसाथ गर्दै आउने दिनहरुमा पनि नेपालीहरुमा खुसी बाड्न सदैव तत्पर हुनेछु ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया