फिटनेस फर्मुला
मास्टर ट्रेनर शोभा भन्छिन् - ४९ पुगेकी मलाई हेर्नुहोस् !
काठमाडौँ : ४९ वर्षमा के खान जिमखाना जानु पर्यो ? शोभा गुरुङले बेलाबखत सुनिरहनुपर्ने डायलग हो यो । तर, यसो भन्नेलाई उनी धेरै केही भन्दिनन् । उनको तन्दुरुस्त शरीरले भनिरहेको हुन्छ, ‘लुक एट मी ।’ ‘लुक एट मी’ अर्थात् मलाई हेर्नुहोस् । शोभाको यस्तो आत्मविश्वास यत्तिकै आएको भने होइन । उनले जीवनका २५ वसन्त दिनरात नभनी फिटनेसका खातिर लगानी गरेकी छिन् ।
शोभा आफ्नो परिचय दिँदा उमेर निर्धक्क खुलाउँछिन् । भन्छिन्, ‘अर्को वर्ष पचास पुग्छु । ५० वर्ष पुग्दैमा स्पोर्टस् ड्रेस लगाउनु हुँदैन, कन्सर्ट र क्लब जानु हुँदैन भन्नेउनलाई लाग्दैन । ‘जति वर्ष पुगे पनि बदमासीबाहेक जीवनमा जे गर्न मन लाग्छ त्यही गर्नुस्,’ उनी भन्छिन् ।शोभा नेपालको पहिलो महिला ‘मास्टर ट्रेनर’ हुन् । उमेरको उकालोसँगै उनको फिटनेस यात्राले पनि उचाइ लिँदै छ । पहिलो नेपाली मास्टर ट्रेनर हुनुमा शोभालाई धेरैले भाग्यमानी भन्छन् । तर, शोभा यसलाई भाग्यभन्दा कडा परिश्रमको परिणाम मान्छिन् ।
स्याङ्जाकी शोभा हङकङमा जन्मिइन् । उतै पढिन् । सात महिनामा जन्मिएकी उनलाई परिवारले निकै पुल्पुल्याएर हुर्कायो । हुर्किने क्रममा उनीमाथि कुनै किसिमको रोकटोक भएन । छोरा र छोरीबीचको विभेद उनले कहिल्यै भोग्नु परेन । उनको परिवारमा छोराले यसो गर्नुपर्छ, छोरीले त्यसो गर्नुपर्छ भन्नेसोच कसैमा थिएन । यस अर्थमा भने उनी आफूलाई भाग्यमानी ठान्छिन् । उनी अहिले ३० वर्षे छोरा र २५ वर्षे छोरीकी आमा हुन् । छोराछोरी दुवैजना अस्ट्रेलियामा बस्छन् । सन्तानमा आमाको स्वभाव उसै पनि सर्छ नै, शोभाले संस्कार पनि आफ्नो जस्तै दिएर थप शोभा बढाइदिएकी छिन् ।
२५ वर्षअघि शोभा सिंगापुरमा बस्थिन् । उनका केही साथीहरूले एरोबिक इन्स्ट्रक्टरको कोर्स गर्ने भए । उनले उतिसारो चासो देखाइनन् । तर, जब साथीहरूले ल्याएको कोर्सबुक उनको हातमा पर्यो, त्यसले उनलाई आकर्षित गर्यो । उनी फिसाफ सिंगापुरमा जोडिइन् । ट्रेनिङ लिइन् । त्यो दिनदेखि उनी फिटनेस यात्रामा निरन्तर छिन् । सिंगापुरमा उनले लिएको त्यो कोर्र्स दुई वर्षको थियो । उनीसँग कोर्स गर्ने १६ जना थिए । तर, कोर्स सकेर ६ जनाले मात्रै सर्टिफिकेट लिए । त्यसपछि शोभाले आक्वा फिटनेस, स्टेप्स, पर्सनल ट्रे निङ, मास्टर ट्रेनिङ आदि लिइन् । सिङ्गापुरमा पनि उनी नेपाली पहिलो मास्टर ट्रेनर थिइन् । त्यहाँको क्लबमा उनी चिफ इन्स्ट्रक्टर भएर काम गर्थिन् ।
यो दौरानमा उनलाई विभिन्न देशबाट कामका अफर आए । तर, उनले आफ्नै देश फर्किने सोच बनाएकी थिइन् । सन् २००७ मा उनी नेपाल आइन् । ‘बाहिर जन्मिए पनि आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्नेलागिरहेको थियो,’ उनी भन्छिन्, ‘नेपालमा फिटनेसको क्षेत्रमा स्कोप छ भन्नेलागेको थियो । र मेरो अनुमान सही थियो ।’ सिंगापुरबाट नेपाल आएपछि उनले केही समय ब्रेक लिइन् । सन् २००९ मा ज्यास्मिन फिटनेस क्लबबाट नेपालको पहिलो महिला हेड ट्रेनर भएर काम गरिन् । हेड ट्रेनरको त्यो जिम्मेवारी उनलाई निकै भारी पर्यो । महिला भएकै कारण मानिसहरूले उनलाई फिटिक्कै नपत्याउने । ‘जिममा हामी चार जना ट्रेनर थियौँ,’ शोभा भन्छिन्, ‘तीन जना पुरुष थिए । म एकजना मात्र महिला । अरु ट्रेनरले ‘उहाँ हाम्रो हेड ट्रेनर ’ भनेर क्लाइन्टलाई परिचय गराउँदा तलदेखि माथिसम्म हेर्थे ।’ जिममा आउनेले आफूलाई भएका समस्या शोभालाई राख्दैनथे । सिधै पुरुष ट्रेनरकहाँ जान्थे ।
आफ्नो ज्ञान र क्षमतामाथि अविश्वास गरेको देखेर शोभालाई दुःख लाग्थ्यो । तर, उनले कहिल्यै हिम्मत हारिनन् । ‘यो क्षेत्रमा ४० किलो डमबेल उचाल्दैमा सर्वज्ञान सम्पन्न भइँदैन,’ उनी भन्छिन्, ‘टेक्निकका कुरा थाहा हुनुपर्छ । ह्युमन बडीको मेकानिक थाहा भएको हुनुपर्छ । फिटनेसमा महिला र पुरुष भन्नेनै हुँदैन । तर, अझै पनि यो क्षेत्र भनेपछि कसैको दिमागमा महिला नै आउँदैन ।’ ज्यास्मिनमा बिताएको दुई वर्षले उनलाई आफ्नै काम सुरु गर्न प्रेरित गर्यो । शोभाले आफ्ना साथीहरूसँग मिलेर ‘नेक्स्ट स्टेप फिटनेस’ सुरु गरिन् । शोभाका अनुसार ज्यास्मिनमा उनले जुन पोजिसन होल्ड गरेकी थिइन् उपयुक्त क्यान्डिडेट नपाएर त्यो पोजिसन अहिले पनि खाली छ ।
त्यो बेला नेपालमा जुम्बा भर्खर भर्खरै भित्रिएको थियो । शोभा ढुक्कसाथ भन्छिन्, ‘नेक्स्ट स्टेपबाट नै नेपालमा जुम्बा फिटनेस पपुलर भएको हो ।’ जुम्बाका लागि शोभा भारत गएर सर्टिफाइड भएर आइन् । १० वर्ष पहिले उनीहरूले पहिलो जुम्बा पार्टी गरेका थिए । ‘नेपालमा अहिले जति पनि फिमेल फिटनेस इन्स्ट्रक्टरहरू छन् ती प्रायः नेक्स्ट स्टेपका उत्पादन हुन्,’ उनी भन्छिन्, ‘जिममा पुरुष मात्रै हुन्छन् भनेर महिलाहरू आउन रुचाउँदैनथे । महिलाले खोलेको थाहा पाएपछि छोरी, बुहारी, श्रीमतीहरू पनि जिम धाउन थाले । यसरी फिमेलहरू फिटनेस मार्केटमा देखिन थाले ।’
नेक्स्ट स्टेपमा केही समय काम गरेपछि उनलाई रिटायर्ड हुन मन लाग्यो । उमेरले पनि उनलाई ‘तिमी ४७ वर्षकी भयौ, आराम गर’ भनिरहेको हो कि जस्तो लागिरहेको थियो । उनले केही समय ब्रेक पनि लिइन् । तर, यत्तिकै बस्न सकिनन् । फिटनेस मार्केटको अध्ययन गर्न थालिन् । त्यसले उनलाई रिटायर्ड हुन दिएन । ‘आफूले सकुन्जेल यो क्षेत्रमा लागिरहने जोस पलायो,’ उनी भन्छिन्, ‘नयाँ पुस्तालाई मैले तयार नगरे कसले गर्छ भनेर प्रश्न जन्मियो र म फेरि फर्किएँ ।’
एक वर्षअघि मात्रै उनले गल्खोपाखा ठमेलमा जेनेक्स फिटनेस सुरु गरेकी छिन् । ‘जेनेक्स भनेको जेनेरेसन नेक्स्ट हो,’ उनले भनिन्, ‘यहाँबाट म आगामी पुस्तालाई फिटनेसको क्षेत्रमा अहिलेदेखि नै ग्रुम गरिरहेको छु । यही जेनेक्सको नाममा विभिन्न ठाउँमा ब्रान्च खोल्ने मेरो लक्ष्य छ ।’ कोभिड १९ नहुँदो हो त यतिबेला एक-दुई स्थानमा यसका शाखा पनि खुलिसक्थे होलान् तर आफ्नोसँगै अरुको पनि आर्थिक अवस्था डामाडोल भएको अनुमानमा उनले यसलाई तत्कालका लागि थाँती राखेकी छिन् ।
‘जिममा पुरुष मात्रै हुन्छन् भनेर महिलाहरू आउन रुचाउँदैनथे । महिलाले खोलेको थाहा पाएपछि छोरी, बुहारी, श्रीमतीहरू पनि जिम धाउन थाले । यसरी फिमेलहरू फिटनेस मार्केटमा देखिन थाले ।’
नेपालमा उनी फिटनेस क्षेत्रमा लाग्दा जिम भन्नेबित्तिकै गुन्डा बन्न, बाउन्सर बन्न गर्ने अभ्यास हो भन्नेसोच थियो । तर, अहिले त्यो सोचमा धेरै नै परिवर्तन आएको महसुस उनले पनि गरेकी छिन् । ‘जिमले मान्छेलाई स्वस्थ र बलियो मात्रै बनाउँदैन सकारात्मक पनि बनाउँछ,’ उनी भन्छिन्, ‘धेरैले जिम सुरु गर्नुभन्दा पहिले भोलि-भोलि भन्छन् । तर, जे गर्नुछ आजै गरौँ । भोलि कहिल्यै आउँदैन ।’
जिम धाउन नभ्याउनेलाई उनको सल्लाह छ- शारीरिक क्रियाकलापमा आफूलाई एक्टिभ राखिरहनुस् । बसी नराख्नुस् । हिँडेर कुनै सामान ल्याउन सकिने छ भने अर्कोलाई नगुहार्नुस् । नजिकै तरकारी लिन जानु छ भने हिँडेर जानुस्, स्कुटर ननिकाल्नुस् । ‘केहीबाहेक जीवनमा धेरै कुरा आफ्नै हातमा छ,’ उनी भन्छिन्, ‘आफ्नो शरीरलाई कस्तो बनाउने, के खाने, आफू कस्तो जीवनशैली बाँच्ने भन्नेकुरा हाम्रो हातमा भएका कुरा हुन् । आफ्नो हातमा भएका कुरालाई हामीले उम्किन दिनु हुँदैन ।’ शोभालाई धेरैले ‘भ्याइँदैन’ भन्दै गुनासो गर्छन् । समय व्यवस्थापनको समस्या धेरैले देखाउँछन् । तर, उनीहरूलाई शोभाको प्रश्न छ- ‘हप्तामा १ सय ६८ घण्टा हुन्छ, त्यसमा तपाईंले आफूलाई ८ घण्टा पनि समय छुट्याउन सक्नुहुन्न ?’
फिटनेस इन्स्ट्रक्टरका रूपमा थुप्रै महिलासँग नजिक भएपछि उनलाई लागेको छ, ‘नेपाली महिला आफूलाई माया नै गर्दैनन् ।’ महिलाले आफ्नो शरीरलाई माया नै गर्दैनन् भन्नेशोभाको ठहर सुनिसकेपछि एउटा जिज्ञासा आउँछ, ‘अनि महिला त मेकअपमा घन्टौँ समय दिन्छन् भनिन्छ त ?’ यसमा शोभाको सीधा जवाफ छ- त्यो त आवरणको कुरा मात्र हो, भित्रैदेखि फिट एन्ड फाइन हुन अभ्यास र कसरतको विकल्प छैन ।
नेपाली महिलाको धेरै समय आफ्नो भन्दा परिवारको चिन्तामा बित्छ । ‘नेपालमा महिलाहरूले आफूले आफूलाई माया नै गर्दैनन्,’ उनी भन्छिन्, ‘बिहेपछि त झन् उनीहरूको प्राथमिकतामा बरु घरमा पालेको कुकुर-बिरालो पर्छ, आफू पर्दैन । उनीहरू सासूससुरा, श्रीमान्, छोराछोरीको स्याहारमा आफ्नो जीवन बिताउँछन् । तर, आफ्नो ख्याल कहिल्यै राख्दैनन् ।’ शोभा घरसँगै आफ्नो स्याहार पनि गर्न उत्तिकै जरुरी रहेको सुझाउँछिन् । ‘हामीले आफूलाई माया गरेमात्र हामीलाई पनि अरुले माया गर्छन्,’ उनी भन्छिन्, ‘एक्सरसाइजले धेरै महिलाहरूको जीवन परिवर्तन भएको मैले देखेको छु । धेरै महिलालाई यसले मानसिक रूपले बलियो, आत्मविश्वासी र सकारात्मक बनाएको छ ।’
शोभा बिहान पाँच बजे उठ्छिन् । ६ बजे जिम पुगिसक्छिन् । दिनभरि ट्रेनिङ दिन्छिन् । उनको जिम खाली हुँदा कहिले रातको आठ, कहिले नौ बज्छ । जब जिम खाली हुन्छ, तब उनी वर्कआउट गर्छिन् । ‘आफ्नो शरीरलाई फिट र स्वस्थ राख्ने कुरामा मैले कहिल्यै सम्झौता गरिनँ,’ उनले भनिन्, ‘दिन भनिनँ, रात भनिनँ । यही कारण आज पनि म आशावादी छु । खुसी छु र तन-मन दुवैले युवा छु ।’ फिमेल फिटनेस फर्मुला भन्दै कुराकानीको अन्त्यमा उनले भनिन्, ‘तपाईंका सबै जिज्ञासाको जवाफ म हुँ, ४९ पुगकी मैलाई हेर्नुहोस् ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया