फिचर

अन्तर्राष्ट्रिय धावक सुनमायाका आँखा ट्राउजर र जुत्तामा किन अडिन्छन् ?

सृजना खड्का |
चैत ५, २०७७ बिहीबार १८:६ बजे

सुर्खेत : पहिलो पटक उनी स्टेज चढिन् । माइक समातिन् । आफ्ना अनुभव सुनाउन कुर्सीमा बसिन् । उनी थिइन्, पैकेलो अर्थात् ‘हिरो’ । जुम्ला पातारासीकी २२ वर्षीया सुनमाया बुढा । फागुन २९ गते सुर्खेत वीरेन्द्रनगरको बुलबुले उद्यानमा आयोजित ‘कर्णाली उत्सव : कुडा कर्णाली’मा पनि आफ्ना कुडा (कुरा) राख्‍न आएकी थिइन्, सुनमाया । कर्णालीका सहासिक र कीर्तिमानी पैकेलाको कथा सुनाउन उनलाई बोलाइएको थियो । सुनमाया पहिलो पटक स्टेज चढेकी हुनाले नर्भस देखिन्थिन् । त्यसैले उनले खुलेर आफ्ना कुरा व्यक्त गर्न सकिनन् । बीच-बीचमा उनका वाक्य बसे । माफी माग्दै बीच-बीचमा उनले भनिन् - 'स्टेजमा यो मेरो फस्ट टाइम हो । त्यसैले, म धेरै नै नर्भस छु ।' 

उनले हतार-हतार आफ्ना कुरा राखिन् र हतार हतारै स्टेजबाट ओर्लिइन् । 


स्टेजमा बोल्न नसकेको केही कुरा सुनमायाले इकागजलाई सुनाइन् । कुराकानीका क्रममा उनले भनिन्- कति धेरै कुरा भनौँला भनेर स्टेज चढेको थिएँ । त्यहाँ गएपछि बोल्नै सकिनँ । सबै बिर्सिएँ ।

सुनमाया नर्भस भएको यो पहिलो पटक होइन । पहिलो पटक स्कुल जाँदा, पहिलो पटक दौड प्रतियोगितामा भाग लिँदा, पहिलो पटक काठमाडौँ जाँदा, पहिलो पटक प्लेन चढ्दा, पहिलो पटक अर्काको देशमा पुग्दा उनी यसैगरी नर्भस भएकी थिइन् । उनका वाक्य यसैगरी बसेका थिए । 

तर, सुनमायाको आवाजले नबोले पनि उनका उपलब्धिले धेरै कुरा बोल्छन् । सुनमाया हिरोमात्रै नभएर कर्णालीकी हिरा मानिन्छिन् । अल्ट्रा धावक सुनमायाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा थुप्रै उपाधि जितेकी छिन् । दौडको सिलसिलामा उनी स्विट्जरल्यान्ड, चीन, इटली, फ्रान्स, अस्ट्रिया, ओमन, पोर्चुगल लगायत देश पुगेकी छिन् । 

यो उनको यात्रा सहजै भने तय भएको होइन । त्यो कहालीलाग्दो यात्रा सम्झिँदा स्टेजमा मात्रै होइन, एक्लै हुँदा पनि उनको वाक्य बस्छ, आँखा रसाउँछ । उनीसँग यति धेरै संघर्षका चाङ छन् कि उनलाई बोल्ने बेला कहाँबाट सुरु गरौँ, के बोलौँ हुन्छ !

‘सुनमायालाई ट्राउजर किन्दिनू’

सुनमायाका सातजना दिदी बहिनी । उनी परिवारकी चौथो सन्तान । उनीमाथि तीन दिदी र एक दाइ छन् । उनीमुनि तीन बहिनी । ‘दुई जना छोरा जन्माउन यति धेरै छोरी जन्माउनु भएको रे,’ सुनमायाले सुनाइन्, ‘एउटा मात्रै छोरा हुँदा बिरामी भएर तलमाथि होला भनेर अर्को छोरा पाउने आशमा हामी सात जना छोरी जन्मियौँ । हाम्रोतिर संस्कार नै त्यस्तै छ ।’ 

सुनमाया त्यो विभेदलाई संस्कार मानेर हुर्किइन् । छोरीहरूको सट्टा छोरा भएको भए बुहारी ल्याउँथ्यो, सुखले पाल्थ्यो भनेर आमाबुवाले भनेको उनले सानैदेखि सुनिन् । छोरी भएर जन्मिएकामा उनी, उनका दिदीहरू र बहिनीहरू गाली खाँदै हुर्किए । सुनमायालाई लाग्थ्यो- म किन जन्मिएँ हुँला । नजन्मिएको भए पनि त हुन्थ्यो नि । 

 

विकटमा विपन्‍न , तर लोभलाग्दो सफलता, संघर्ष जारी छ । एउटा मात्रै छोरा हुँदा बिरामी भएर तलमाथि होला भनेर अर्को छोरा पाउने आशमा हामी सात जना छोरी जन्मियौँ । हाम्रोतिर संस्कार नै त्यस्तै छ । 

स्कुल पढ्दादेखि नै सुनमाया लजालु स्वभावकी थिइन् । हत्तपत्त कसैसँग बोल्दैनथिन् । सात कक्षा पढ्दा हो उनले पहिलो पटक गाडी देखेको । त्यही साल उनको स्कुलमा राष्ट्रपति रनिङ शिल्‍ड हुने भयो । उकाली ओरालीमा हुर्किएकी उनलाई दौडिनु ठूलो कुरा थिएन ।

दौडिने दिन आयो । दौडिँदा अरुले टिसर्ट र ट्राउजर लगाएर दौडिएका थिए । तर, सुनमाया कुर्ता सुरुवाल लगाएरै दौडिइन् त्यो पनि नाङ्गो खुट्टा । जुत्ताबिनाको खुट्टाले उनको यात्रालाई रोकेन । उनी प्रथम भइन् । ‘यो केटी दौडिँदी रहिछ’ भनेर मलाई सरहरूले जुम्लामा जिल्ला स्तरीय रनिङ शिल्डमा लैजाने हुनुभयो,’ उनले खुसी हुँदै सुनाइन् । 

जिल्लामा दौडिन उनलाई हाफ प्यान्ट वा ट्राउजर चाहिने भयो । बुबा भेडा पाल्थे । आमा सामान्य खेतीकिसानी गर्थिन् । घरको खर्चको जिम्मेवारी उनका दाजुले लिएका थिए । स्कुलमा शिक्षकले सुनमायालाई भन्थे- अब कुर्ता सुरुवाल लगाएर हुन्‍न है सुनमाया । जिल्लामा जाँदा त ट्राउजर वा हाफ प्यान्ट लगाएर दौडिनुपर्छ । कुर्ताभन्दा सजिलो हुन्छ ।

‘सरले हरेक दिन ‘ट्राउजर किनी मागिस्’ भनेर सोध्नुहुन्थ्यो,’ उनले सम्झिइन्, ‘अति भएपछि एकदिन सर आफैँ घरमा गएर दाइलाई  ‘यो सुनमाया एकदमै राम्रो कुद्छे यसलाई हाफ प्यान्ट किन्दिनु, बजारमा कुदाउन लैजानुपर्‍यो’ भन्‍नुभयो ।’ सरको कुरा सुनमायाका दाइले हावामा उडाइदिए । न हाफ प्यान्ट किनिदिए, न ट्राउजर । 

स्कुलबाटै उनले एउटा हाफ प्यान्ट पाइन् । यसरी उनको दौड यात्रा सुरु भयो । दोस्रो वर्ष उनी राष्ट्रपति रनिङ शिल्डबाट छनोट हुँदै नेपालगञ्‍जसम्म पुगिन् । त्यहाँबाट छनोट भए काठमाडौँ जान पाइन्थ्यो । उनमा काठमाडौँ देख्‍ने हुटहुटी थियो । त्यही हुटहुटीले उनलाई गेम जितेर काठमाडौँ पुर्‍यायो ।

काठमाडौँ पुगेपछि केही साथीहरूसँग उनको भेट भयो । साथीहरूका राम्रा ट्राउजर र टिलिक्क परेका जुत्तामा उनका आँखा अडिन्थे । कुर्ता सुरुवालमा उनीहरूका अघि असजिलो महसुस गर्थिन्, सुनमाया । नेपाली नै बोल्ने बोल्ने भए पनि उनको भाषामा खस लवज आउँथ्यो । साथीहरूले जिस्काउँछन् भन्‍ने डरले उनी सकेसम्म चुपचाप बस्थिन् । 

देशदेखि विदेशसम्म

नौ कक्षा पढ्ने बेला रनिङ ट्रेनिङ लिन सुनमाया बजार अर्थात् जुम्लाको सदरमुकाम खलंगा झरिन् । एकजना गुरुको घरमा उनले कोठा पाइन् । ग्याँसको चुलोमा भात पकाउनु उनका लागि आकाशको फल आँखा तरी मर भने जस्तै थियो । ‘ग्याँस भनेको धनीहरूले मात्रै बाल्छन् भन्‍ने लाग्थ्यो,’ उनले भनिन्, ‘सिमेन्टको कोठामा पनि ढुंगाको चुलो बनाएर भात पकाउँथेँ । एक छाक पकाएको भात दुई-तीन छाकसम्म खान्थेँ ।’ 

पाँच सयको जुत्ता किन्‍न मुस्किल थियो । कुद्दा कुद्दै खुट्टामा नमज्जाले फोका उठ्थ्यो । तर, सुनमाया कामना गर्थिन्- बरु जुत्ताले अरु फोका उठाओस् तर, फाट्न चाहिँ नफाटोस् ।

उनीसँग टोपी हुँदैनथ्यो । पन्जा नभएर जाडोमा दौडिँदा हात ठिहिर्‍याउँथ्यो । ज्यान कक्रक्क पर्थ्यो । ‘हरेक दिन ट्रेनिङ सकिएपछि खोलाको किनारमा गएर कसैले नदेख्‍ने गरी रुन्थेँ,’ उनले भनिन्, ‘हात रगड्थे र ठिहिर्‍याउन अलि सन्चो भएपछि कोठामा फर्किन्थेँ ।’ केही समय यो दैनिकी उनले जसोतसो खपिन् । एकदिन उनलाई लाग्यो- यो दौड हामीजस्तो आर्थिक अवस्था कमजोर हुनेका लागि होइन । अनि उनले दौडबाट गीभ अप गरेर घरै फर्किइन् । 

दौडमा रस बसिसकेकाले एसएलसी दिएपछि फेरि उनले एकपटक आँट बटुलिन् । गुरु हरि रोकायालाई ‘ट्रेनिङ गर्न आउँछु’ भनेर फोन गरिन् । घरमा एक दिन सबैजना भएको बेला उनले भनिन् - म अब बजारमा पढ्न जान्छु, उतै गएर गेम पनि खेल्छु ।

उनको कुरा भुइँमा खस्‍न नपाउँदै दाजुले जवाफ दिए- अब बजार होइन, बिहे गरेर पोइलीको घर जाने ।

बुवाले पनि उनलाई दौडमा भविष्य छैन भन्दै सम्झाए । पैसा खर्च हुने, नदुखेको ज्यान दुखाउने खेल किन खेल्नु भनेर गाली गरे । ‘ऋण गरेर भए पनि पढ्छु, गेम खेल्छु भनेर म खलंगा बजार झरेँ,’ उनले भनिन्, ‘एकजना साथीसँग मिलेर बसेँ । उनले मलाई धेरै सहयोग गरिन् । उनीसँग लिएको ६ हजार ऋण पछि मैले गेम खेलेर तिरेँ ।’ 

सुरुमा उनी रोड म्याराथन गर्थिन् । पछि अल्ट्रा धावक मीरा राईलाई भेटेपछि नेपालमा ट्रेल रनिङबारे थाहा पाइन् । 

गोवालिगोङ अल्ट्रा, गोल्डेन वर्ल्ड ट्रेल सिरिज, तेन्जिङ हिलारी, ब्रेथलेस रनिङ, एमएसआइजी, जुम्ला रारा अल्ट्रा, धरान म्याराथन, जुम्ला म्याराथनमा उनले थुप्रै पदक जितेकी छिन् । 

देश-विदेश दौडिँदाका अनेक अनुभव उनीसँग छन् । ‘लामो रेस दौडिँदा हामीले ब्यागभित्र पानी, चकलेट र इनर्जी जेलहरू हालेर कुद्छौँ,’ उनले भनिन्, ‘भोक लागेको बेलामा बाटोमा खाँदै कुद्दै गर्ने हो । हङकङमा लगातार १६ घण्टा कुद्नुपरेको थियो । त्यहाँ चाहिँ १० देखि १५ किलोमिटरको दूरीमा खाने कुराको स्टल राखिएको हुन्थ्यो । जे खान मन लाग्छ, छिटो-छिटो समातेर खाँदै कुद्नुपर्थ्यो ।’ 

दौडमा न घाम भन्‍न पाइन्छ, न पानी । चीनमा एकपटक त्यस्तै भयो । गेम हुँदाहुँदै पानी पर्‍यो । हिलोमा चुर्लुम्मै डुब्दै भए पनि उनले दौडिन छाडिनन् ।

सन् २०१९ मा भएको तेन्जिङ हिलारी एभरेस्ट म्याराथनमा सुनमायाले उपाधि जितिन् । एभरेस्ट बेस क्याम्पबाट नाम्चेसम्म ४२ किलामिटरको दूरी उनले ५ घण्टा ३ मिनेट ४ सेकेन्डमा पूरा गरेकी थिइन् । एक दिन उनकी साथीले सामान्य ज्ञानको किताब देखाउँदै भनिन्- सुनमाया यो किताबमा त तेरो नाम पो रहेछ । समान्य ज्ञानको किताबमा सन् २०१९ को तेन्जिङ हिलारी एभरेस्ट म्याराथनकी विजेता को हुन् भनेर प्रश्‍न सोधिएको थियो । 

यस्ता कुराले उनलाई गेम खेल्न थप प्रोत्साहित गर्थ्यो । उनलाई अहिले मीरा राई जस्तै नेपालकी खेलाडी भनेर चिनिने रहर छ । हरि रोकाया जस्तै  दौडमा वर्ल्ड रेकर्ड राख्‍न मन छ । केही कुराले प्रेरित गरे पनि धेरै कुराले भने उनलाई निरुत्साहित तुल्याउँछ । ‘मान्छेहरू एउटा शब्द बोलेको भरमा एउटा टिकटक बनाएको भरमा भाइरल हुन्छन्,’ उनले दुःखेसो पोखिन्, ‘तर, हामी कस्तो-कस्तो गेम जितेर पनि ब्यागमा ट्रफी हालेर एयरपोर्टबाट घर जान्छौँ । हाम्रो दुःख कसैले देख्दैन ।’

 

‘मान्छेहरू एउटा शब्द बोलेको भरमा एउटा टिकटक बनाएको भरमा भाइरल हुन्छन् । तर, हामी कस्तो-कस्तो गेम जितेर पनि ब्यागमा ट्रफी हालेर एयरपोर्टबाट घर जान्छौँ । हाम्रो दुःख कसैले देख्दैन ।

सुनमायाको परिवारले अहिले पनि उनी दौडमा लागेको स्वीकारेको छैन । ‘यो दौडिने काम छाड्, १० हजारको भए पनि जागिर खा भनेर बुवा भनिरहनुहुन्छ,’ उनले भनिन्, ‘हाम्रो गाउँमा २० वर्ष नाघेपछि छोरीहरू बूढी हुन्छे भन्‍ने चलन छ । मलाई पनि बूढी भइस् अब कसैले बिहे गर्दैन भनेर सुनाउँछन् । म सुनेको नसुन्यै गर्छु ।’ 

घरमा मात्रै नभएर गाउँ र छिमेकमा पनि उनले अनेक कुरा सुन्‍नुपर्छ । ट्रेनिङमा दौडिएर दुब्लाएको ज्यानलाई कसैले लभ गरेर दुब्लाएकी भन्छन् । कसैले धेरै दौडिने मान्छेको त पछि बच्चा नै हुँदैन रे है भनेर सुनाउँछन् । ‘हाम्रैतिरको भाषामा धेरैले यसरी तिघ्रा दुखाएर खाएको त राम्रो होइन है सुनमाया पनि भन्छन्,’ उनले सुनाइन् । केही समयअघि सुनमायाले आमिर खानद्वारा अभिनित फिल्म ‘दंगल’ हेरिन् । फिल्मका थुप्रै दृश्यले उनका आँखा रसाए । उनले मनमनै कल्पना गरिन्- मेरो बुवाले पनि मलाई यसरी नै सपोर्ट गरिदिएको भए आज म कहाँ पुग्थे होला ? फिल्म हेरेपछि सुनमायाले पानीपुरी खान छाडिन् । स्वस्थ हुनलाई के खाँदा राम्रो, के नखाँदा राम्रो भनेर अरू रनरहरूलाई पनि फलो गर्न थालिन् ।

०००
अंग्रेजी नजानेर उनले धेरै समस्या बेहोरेकी छिन् । एकपटक स्विजरल्यान्ड जाँदा उनको पासपोर्ट वासिङमेसिनभित्र छिरेर भिज्यो । एयरपोर्टमा उनलाई धेरै प्रश्‍न गरिए । तर, उनको मुखबाट ‘वासिङमेसिन’बाहेक दोस्रो शब्द निस्किएन । यही अप्ठयारोलाई चिर्न उनले केही समयअघि मलेसिया गएर अंग्रेजी भाषा सिकिन् । भाषाका कारण उनले पाएका दुःखका किस्सा अनेक छन् । गेम खेल्न एक्लै विदेश जाँदा उनले थुप्रै तीतामीठा अनुभव बटुलेकी छिन् ।

‘बाहिरको एयरपोर्ट यहाँको जस्तो एक ठाउँबाट फुत्त छिरेर अर्कोतिरबाट निस्किन मिल्ने खालको नहुने रहेछ,’ उनले भनिन्, ‘ठाउँ पत्ता लगाउन नसकेर धेरै चोटि रुदै हिँडेको छु । एकपटक त अर्को फ्लाइटमा गएर बसेछु । एयर होस्टेसले यो तिम्रो फ्लाइट होइन भनेर ओरालेकी छिन् । त्यो फ्लाइट उडेको भए म कुन देशमा गएर अलपत्र हुन्थेँ ।’ 

अहिले उनलाई सानैदेखि बजार वा काठमाडौँतिर आएर पढ्न पाएको भए त्यतिविधि दुःख पाइँदैनथ्यो कि भन्‍ने लाग्छ । आफूले दुःख पाए पनि बहिनीहरूले दुःख नपाऊन् भनेर सुनमायाले पढाउन उनीहरूलाई बजार झारेकी छिन् । दाइको छोरा र उनकी कान्छी बहिनी खलंगा बजारमा बसेर पढ्छन् । ‘घरबाट खर्च हुन्छ पर्दैन बजार लैजान भन्‍नुभएको थियो,’ सुनमायाले सुनाइन्, ‘तर, मलाई जस्तै अप्ठ्यारो भोलिको दिनमा उनीहरूलाई नहोस् भनेर बजार ल्याएर पढाएको हुँ ।’ उनीहरूको आर्थिक पाटो सुनमायाले नै हेर्छिन् । उनीमुनिकी बहिनी राममाया पनि दौडमै लागेकी छिन् । उनी रोड म्याराथन गर्छिन् । 

सुनमायालाई दोस्रो जीवन दिने चिप्लेकिरा

आमाको माया सबैलाई लाग्छ । तर, सुनमायालाई उनकी आमाको माया विशेष लाग्छ । जसले उनलाई कुनै समय मृत्युको मुखबाट निकालेकी थिइन् । सुनमाया एकताका असाध्यै बिरामी परिन् । एकोहोरो हेर्ने, कसैसँग नबोल्ने गर्न थालिन् । उनको जिउको केही भाग डम्म फुलेको थियो । त्यो बेला के भएको थियो थाहा भएन । तर, अहिले उनले बुझिन् त्यो बेला उनलाई कुपोषण भएको थियो । ‘म जन्मिएको वर्ष दिनमै बहिनी जन्मिएकी रहिछ,’ उनले भनिन्, ‘त्यो बेला मैले न आमाको दूध खान पाए न पोषिलो खानेकुरा ।’ आमाले उपचार लाग्छ भनेर जीउभरि खरानी घसेको सुनमायालाई अलिअलि याद छ । जडिबुटी दल्दै डोकोमा हालेर काम गर्न लेकतिर लगेको सम्झना पनि उनलाई मधुरो गरी आउँछ ।

लेकमा थुप्रै चिप्लेकिरा पाइन्थ्यो । एकदिन सुनमायाकी आमाले औषधि लाग्ला कि भनेर उनलाई चिप्लेकिरा खुवाइन् । त्यही चिप्लेकिरा सुनमायाका लागि औषधि बन्यो, पोषिलो खानेकुरा बन्यो । ‘एकदिन खायो अलि राम्रो, अर्कोदिन खायो झन् राम्रो भएछ,’ सुनमायाले भनिन्, ‘मेरा आँखा बिस्तारै टठिला हुँदै गएछन् । आमाले झन् धेरै चिप्लेकिरा खुवाउन थाल्नुभएछ । मैले चिप्लेकिरा खान्छु भन्‍ने थाहा पाएपछि गाउँलेले आमालाई ‘यहाँ चिप्लेकिरा छ तेरो छोरीलाई लैजा’ भनेर पठाउँथे । आमाले ताउमा भुटिदिनुहुन्थ्यो, म मस्त खान्थेँ ।’ 

दौडिँदा उनको जीउ मर्ने गरी दुख्छ । आफ्नो खुट्टा आफ्नै हो जस्तो लाग्दैन । धेरै गाह्रो भएको बेला कस्तो गेममा आइएछ भन्‍ने पनि लाग्छ उनलाई । तर, गेम जितेर ट्रफी हातमा उचाल्दै गर्दा उनी बेस्सरी आमालाई सम्झिन्छिन् । ओमनमा एकपटक गेम खेल्न जाँदा सुनमायाले समुद्रभित्र पौडिने मौका पाइन् । टिभीमा देखेको कुरा आफैँले अनुभव गर्न पाउँदा उनका खुट्टा भुइँमा थिएनन् । समुन्द्रमा पौडिँदा उनलाई अर्कै दुनियाँमा पुगेको जस्तो भयो । माछासँगै उनी पनि समुद्रमा पौडिइन् । त्यो सपनामा पनि नसोचेको संसारमा पुग्दा उसै उनको आँखा रसायो । त्यही आँखामा झल्झल्ती आमाको चित्र आयो । कुनै समय ‘मलाई किन जन्मायौँ आमा ?’ भन्‍ने सुनमायाले त्यस दिन समुद्रभित्रै रुँदै भनिन्- मलाई जन्माइदिनु भएकोमा धेरै-धेरै धन्यवाद है आमा ! 


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x