संगीत

संगीतज्ञ रञ्जित गजमेरसँग जीवन-वार्ता

ट्युन बुझ्न शब्द हुनैपर्छ, हाम्रो मान्छेहरूका लागि (संर्वार्ता)

विमल आचार्य |
जेठ ८, २०७९ आइतबार १६:५२ बजे

अन्तर्वार्ताका लागि समय दिनुभयो, खुसी छु सर । 

मलाई सम्झिनुभयो धेरै धेरै धन्यवाद । जति पनि महानुभावहरूले अहिले सुन्नुहुँदैछ, मेरो सबैलाई धेरै धेरै नमन छ । 


‘गुफ्तगू’मा तपाईंको एउटा अन्तर्वार्ता सुनेको थिएँ । हिन्दीमा बोल्न यहाँलाई अलिकति गाह्रैगाह्रै परेको थियो । 

हिन्दीमा बोल्न अप्ठेरो त पर्छ नै । हिन्दी पनि भारतको सबै प्रान्तमा अलग–अलग हिसाबले बोलिन्छ । भारतभर हिन्दीको आफ्नै आफ्नै स्ल्याङ छ । दिल्लीको पत्रकार आएर हिन्दीमा बोल्दा अप्ठेरो हुन्छ । सलल बग्दैन । मातृभाषामा बोल्न पाउँदा हृदय खुल्छ नि । जस्तो, अहिले मलाई कुनै गाह्रो परिरहेको छैन ।

के काममा यता आउनुभयो अहिले ? 

दुई–अढाइ वर्षदेखि नै हाम्रो रेकर्डिस्ट विक्रम कार्कीजीका धेरै क्लाइन्टहरू, चिनाजानाहरू, गाउने–लेख्ने राम्रो कतिजना केटाकेटीहरू, झापादेखि अमेरिकासम्मका केटाहरूले अनुरोध गरी पठाउनुभएको थियो । सबलाई मैले ल न त भनेँ । तर, कोरोना आएर अढाइ वर्ष केही गर्नु पाइएन । अब उहाँहरूलाई भारत बोलाएर काम गर्न पनि सकिन्न । धेरै महँगो पर्छ । फेरि न आफू जान नै सकिन्छ । सबै कुरो विचार गर्दा नेपालमै सजिलो हुने हुँदा म नेपाल आको । यहाँका कतिजना भाइबहिनीहरू राम्रो गाउने छन् । उनीहरू अहिले मेरो गीत गाउँदै छन् । गीत लेखेर पठाउनुभको छ धेरैले । तुलसीजीले गीत लेखिदिनुभएको छ ।

कतिवटा गीतमा काम हुँदै छ, यसपल्ट ? 

जम्मा गरी १५–१६ वटामा । कति त ट्रयाक उतै अमेरिकातिर पठाउनुपर्ने पनि छन् । 

यही अन्तर्वार्ता गरिरहेको स्टुडियोमा भर्खरै तीन घण्टा जति यहाँको संगीत रेकर्डिङ लाइभ सुन्न र हेर्न पाइयो । संगीतप्रतिको यहाँको प्रेम, साधना, इज्जत, युनिकनेस सबै देखियो । यहाँले संगीतकर्म सुरु गर्दाको र अहिलेको समयको फरक अनुभूति के छ ? 

कुनै पनि कुरो नयाँ गर्दा अलिअलि अप्ठ्यारो त हुन्छ । आस्तेआस्ते बानी पनि भयो । संगीतमा डुबेर उमेरै बित्यो भाइ । अझै यही काम गरिँदै छ । म अझै सिकिरहेछु । 

यो उमेरसम्म पनि निरन्तर काम गरिरहनुभएको छ । 

कति जना भाइहरू छन्, कति जना आफन्तहरू । जति पनि नेपालीहरू छन्, सबै मेरा आफन्त हुन् । देहरादुन, सिक्किम, मणिपुर, दाजीर्लिङ, आसामदेखि संसारका जुनै देशमा जति पनि गोर्खाली भाषाभाषी बसेका छन्, तिनीहरू सबै मेरो सन्तान हो । उनीहरूको मन किन दुखाउने ? संगीत गरिदिनुस् भनेर अनुरोध गर्नुहुन्छ । म गर्दै छु । उनीहरू खुसी पनि हुन्छन् भने मैले किन नगर्ने ? यही सोचेर गर्दैछु । 

हिजोआजको संगीत सुन्नुभएको त छ नै, कस्तो लाग्छ ?

कतिवटा गीतहरू त एकदमै राम्रो छ । हाम्रो कति भाइहरूले विशेष गरी फोक ट्युनको बेस लिएर राम्रो गीत बनाउनुभको छ । असाध्यै राम्रो । जतिले राम्रो गर्दैछन्, उनीहरूलाई मेरो उमेरको हिसाबले आशीर्वाद भनौँ होला । 

कमजोर पाटो के लाग्छ ? 

जति पनि संगीतमा लाग्नुभको छ, संगीतकार हुनु आँटेका छन्, उहाँहरूले सिक्नु चाहिँ पर्छ । सिकेर त्यसमा अलिकति मेहनत गर्नुपर्छ । दुई–तीनवटा गीत हिट भएर ताली पाएपछि फेरि राम्रो गीत बनाउनै छोडिदिन्छन्, सिक्नै छोडिदिन्छन् । अनि फुल्लेर कोहीसँग बात पनि गर्दैनन्, त्यस्तो भयो भने मज्जै आउँदैन । त्यो ओरालो यात्रा हुन्छ । 

नेपाल र भारतमा संगीतकर्मको लामो अनुभव छ, यहाँसँग । काम गराइमा के अन्तर पाउनुहुन्छ ?

धेरै अन्तर छ । उताकोहरू सिकेर गर्छन् । ग्रामेटिकल्ली पनि एकदम राम्रो हुन्छ । पब्लिकलाई सोचेर सबै काम गरिन्छ । यहाँ त्यस्तो केही छैन । यहाँ त जसले जे पनि गर्छन् । कतिले सोचेर पनि गर्छन् । कतिले राम्रो पनि गरेका छन् । 


इन्डियामा संगीत सिकेर गर्छन्, नेपालमा जसले जे पनि गर्छन् 

तपाईं बाजाविहीन भएर बसेको लामो क्षण कति हो ?

त्यस्तो अहिलेसम्म भएकै छैन । सधैँ साथमा बाजा लिएरै बसेको छ । घरमा पनि सबै छ मेरो । यसरी म बाहिर आउँदाखेरि रेकर्डिस्ट विक्रमजीले बाबुजी बाजा चाहिन्छ होला भनेर मलाई दिनुहुन्छ । संगीतविनाको मेरो जीवन असम्भव । म सोच्न पनि सक्दिनँ । किनभने संगीतबाहेक अरु त केही छैन मेरो ।

परिवार के हो यहाँका लागि ?

मेरो श्रीमती (गीतकार कुसुम गजमेर) हुँदा हामी बात गर्थ्यौं । कतिवटा गीत उल्ले लेख्थ्यो । कतिवटा मैले ट्युन गर्थें । अब श्रीमती पनि छैनन् । छोराछोरी, नातिनातिनासँग बातचित त गरिन्छ । उनीहरू सबैले मलाई स्याहारेर राखेको छ । यो उमेरमा पनि कुखुराको फूल जसरी जतन गरेर राखेको छ । तर, कतिवटा कुरा उनीहरूको र मेरो जेनेरेसन ग्यापले मिल्दैन । उनीहरूलाई पनि सायद बोर होला, म पनि कतिवटा कुरा बुझ्दिनँ । तरै पनि सबै जना छन्, मेरो वरिपरि छन् । छोरा, बुहारी, छोरी, ज्वाइँ, नाति, नातिना सबै छन् । सबैभन्दा ठूलो कुरो त तपाईंहरूजस्ता मलाई माया गर्ने श्रोता हुनुहुन्छ । 

गीतकार कुसुमविनाको संगीतकार रञ्जित के हो ? 

ऊ भएको र नभएकोमा भिन्नता त धेरै हुन्छ नै । तरै पनि परिवारले एकदम सम्हालेर मलाई राखेको छ । श्रीमतीले कतिवटा कुरा लेखेको छ, बेलाबेला ती पढ्छु । कति किताब पढ्छु । यस्तै हो ।

यहाँहरू दम्पतीमा गीत पहिला हो कि संगीत पहिला हो कि सँगसँगै हो कि कस्तो थियो ? 

सँगसँगै हो । प्रायः तुलसीजी, शम्भु प्रधानहरूको पिक्चरको काम गर्थें म । उनीहरू मलाई सिचुएसन दिएर जान्थे– दाइ यस्तो यस्तो छ, गरिदिनुस् है भनेर । त्यो सम्झेर बिहान चाँडै उठ्थेँ । हार्माेनियम बजाएर अलिअलि ट्युन गर्दाखेरि यो त राम्रो छ भनेर श्रीमतीले भन्थिन् । यो त बिर्सिन्छु होला अलिकति केही लेख न भनेपछि ऊ खरखर लेखिहाल्थ्यो । कोही कोही बेला म आफैँ पनि लेख्थेँ । हेर त कस्तो छ भन्थेँ । कतिवटा उसले लेखेको गीत तुलसीजीलाई, शम्भु प्रधानजीलाई पनि मन पर्थ्यो । अनि ऊ लिरिसिस्ट भयो । म संगीतकार भएँ । 

आफैँले गीत लेखेर श्रीमतीको नाम दिए पनि भनेका रैछन् कतिले त ? 

त्यसमा केही छैन । मैले लेखेर उसको नाम राखेँ रे, त्यसमा केही छैन । उल्ले पकाको भात म खाँदै छु । त्यसमा केही भिन्नता छैन । म उसको श्रीमान् हो । ऊ मेरो श्रीमती हो । उसका लागि मैले जे गरेँ, उल्ले मेरो लागि त्यही गर्यो । यसमा कसैले प्रश्न गर्नुपर्दैन तर, गर्छन् । शंका गरेर खुसी हुन्छन् भने भओस् न त । 

दुई–तीनवटा गीत हिट भएर ताली पाएपछि फेरि राम्रो गीत बनाउनै छोडिदिन्छन्, सिक्नै छोडिदिन्छन् । 

तपाईंहरू श्रीमान् श्रीमतीबीच तयार भएको सबैभन्दा मन परेको गीत कुन हो यहाँलाई ? 

तुलसी, शम्भु, उगेन छोपेलसँगका सबै गीतहरू राम्रो भको छ । त्यसमा पहिलो, हामीले संगीत सुरु गरेको गीत बाँसुरी फिल्मको आशा भोस्लेले गाउने भए । कहाँको म, कहाँको तुलसीजी, गाउने भयो आशाजी । हरि चौरसियाले बाँसुरी, क्यु कुइर्सले सन्तुर, लुई ब्यांक्सले सिन्थेसाइजर, भूपीन्दर सिंहले गिटार बजाएको, उत्तम सिंहले भ्वायोलिन बजाएको गीत । अनि आशा भोस्लेसँग रेकर्ड गर्नु पाको हाम्रो त भुइँमै खुट्टा थिएन । सबभन्दा राम्रो यही लाग्छ ।

कुन थियो त्यो गीत ? 

ओओ झझल्को लिएर आएछ..., मिर्मिरे साँझमा...सुन्नुभको छ ? 

किन नसुन्नु, यहाँकै मुखबाट सुन्न पाइयोस् भनेर कुन गीत भनेर सोधेको नि...

यी दुई गीत हामीले एकै दिन, एकैपल्ट गरेको । उदीतनारायणलाई फस्ट टाइम आशा भोस्लेसँग माइकमा हामीले खडा गरेको । 

तपाईंको स्वरमा गीत रेकर्ड भएका छन् ? 

मेरो स्वरमा रेकर्ड भको त छैन । रेकर्ड भको त छैन भन्दाखेरि बाँसुरीमै बच्चाहरूले खेल्ने, एउटा क्यारेक्टर थियो बच्चासँग गीत गाको थियो । त्यो क्यारेक्टरका लागि गीत गाउनुपर्छ भन्दा तुलसीजीले तपाईं नै गाउनुस् न भन्नुभयो । मैले पनि गाइदेको, त्यही मात्र हो । 

त्यसपछि किन गाउनुभएन ? 

कम्पोजिसनमा मात्र ध्यान भयो । प्लस त्यति बेला आरडी बर्मनको काम । हिन्दी फिल्मको काम । मादल बजाउँदैथेँ म । चारैतिरबाट बजाउन बोलाउने । त्यतातिर व्यस्त भएँ । गीत गाउने त प्राक्टिस हुनुपर्यो । गाउनेतिर प्राक्टिस नै गर्न पाइनँ । 

अहिले त कति संगीतकार आफैँ गायक पनि भइरहनुभएको हुन्छ । संगीतकार आफैँलाई गायक हुने लोभ भएर पनि हो कि अचेल धेरै गीत नजम्ने ? 

तर, कति जनाले राम्रो पनि गाउँछन् । नारायण गोपालजी गाउने पनि, संगीत पनि राम्रो गर्ने । गोपाल योञ्जन पनि राम्रो गाउने तर उसको कम्पोजिसन मात्रै बेसी भयो । हरेक मानिसलाई एकएकओटा केही खास हुन्छ नि । 

तपाईंलाई आफ्नै धेरै मन परेको गीत ? 

त्यस्तो त म भन्न सक्दिनँ । गीत सबै मेरो छोराछोरी जस्तै हुन् । 

गुनगुनाइराख्ने, मनमा बसेका गीत ? 

त्यस्तो केही छैन हजुर । किनभने म दिनका दिन नयाँ नयाँ संगीतमा डुबिरहेको हुन्छु । देखिहाल्नुभयो त, भर्खर पाँच छवटा गीतमा धून भर्ने काम भइरहेछ । संगीतकारका लागि एउटै गीत गुनगुनाइरहने त कामै भएन नि । 

त्यति राम्रो राम्रो ट्युन–मेलोडी कसरी फुर्छ यहाँलाई ? 

त्यो त हाम्रो पशुपतिनाथको आशीर्वाद । भगवान्‌ले दिएको । मैले गरेको हैन, भगवान्‌ले त्यो देको छन् । उनले मलाई गराको हो । त्यहीबाट म गर्दै छु । कमसेकम मेरो एकदुईवटा ट्युन सुनेर, धुन सुनेर संसारका जुन चाहिँ कुनामा भएका नेपालीहरूको हृदयमा त पस्नसकेँ । भगवान्‌को आशीर्वाद । 

दार्जीलिङबाट तपाईं सँगसँगै एउटै लटमा नेपाल आउने पिटर जे. कार्थकको यो किताब मैले भर्खरै पढेँ । पढ्दा यस्तो लाग्छ, तपाईंहरू जहाँ जन्मि–हुर्किनुभयो, त्यहाँ घरघरमा, गल्लीगल्लीमा, रुख, पात, चरा, खोलासमेत संगीत सृजना गर्छन्, ती स्वाद मानेर संगीत सुन्छन् । कसरी त्यस्तो भयो ? जो पनि गाउने, लेख्ने, बजाउने।

त्यतिबेला माहोल नै त्यस्तै थियो । तपाईं नै विचार गर्नुस् न, अम्बर दाइदेखि लिएर गोपाल योञ्जन राम्रो कम्पोजर थिए । तिनीहरूले नेपालमा राजै गरे । अरुअरु पनि आए । अहिले पनि सचिन, अनुप दासजस्तो थुप्रो छन् यहाँ । 

अहिलेको दाजीर्लिङ कस्ताे पाउनुभयो ? 

पिक्चरहरू नभए पनि गीत गाउने, कम्पोजिसन गर्ने भइरहन्थ्यो । एकआर्कामा राम्रो व्यवहार थियो । गोपाल योञ्जन, कर्म योञ्जन, शरण, अरुणा, जितेन्द्र, रुद्र गुरुङ, गगन गुरुङ, शेखर दीक्षित र उहाँको श्रीमती हामी सप्पै अम्बर दाइसँगै थियौँ । अम्बर दाइ यता आएपछि अलिअलि छिल्लबिल्ल त भयो । तर, उहाँको केटाहरूले पनि छोडेनन् । अहिले सिलिगुडीमा हुनुहुन्छ, मणिकमल, अशोक राई । शान्ति ठटाल, कर्म योञ्जन अहिले पनि छ उहाँ । उनीहरूले पनि गरे नि, धेरै गरे । गर्दै छन् । अहिले पनि भर्खर भर्खर सिक्ने केटाहरू छन् । त्यहाँ सबलाई थाहा छ कि सिक्नुपर्ने रहेछ भनेर । सिक्नलाई त अहिले सजिलो पनि छ । टिभीले, गुुगलले सिकाइदिइहाल्छ । हाम्रो टाइममा त यस्तो थिएन । 
 

संगीतज्ञ अम्बर गुरुङको प्रसंग आई नै हाल्यो । गोपाल योञ्जन, रञ्जित गजमेरहरू सबै अम्बर गुरुङका चेला हुन् भनेर कार्थकले लेखेपछि योञ्जन परिवारले असहमतिमा लेख नै लेख्नुभएको छ । अम्बरले हामीलाई सिकाएनन् भनेर रञ्जितले भनेछ, त्यो मलाई मन परेन भनेर कार्थकले उही किताबमा लेख्नुभएको पनि छ । खास कुरो के हो त सर ?

मैले त त्यस्तो भनिनँ पनि । म त अहिले पनि अम्बर गुरुङलाई गुरु मान्छु । मैले बारम्बार भनेको छु । अम्बर गुरुङले हामीलाई यसरी क्लास राखेर सिकाको त हैन । म तबला बजाउँथेँ, गोपाल बाँसुरी बजाउँथ्यो, शरण म्यान्डोलिन बजाउँथ्यो, अरुणा गीत गाउँथ्यो, हामी सबै जना अम्बर दाइलाई घेरेर बस्दाखेरि उसले जानेको कुरा हामीलाई भन्थ्यो । यो राग त यस्तो हुँदो रैछ, यसमा यसरी हुँदो रहेछ भनेर सिकाउँथ्यो ।

अम्बर दाइको एउटा एकदमै राम्रो बानी के भने उहाँ एकदमै राम्रो पढ्नुहुन्थ्यो, बेसी पढ्ने । उहाँको इङलिस एकदमै राम्रो । उहाँ वेस्टर्न क्लासिकल म्युजिक भनेको के हो ? त्यसका कम्पोजरहरू को हुन्, कस्ता हुन्, त्यो पनि पढेका उहाँले । त्यहाँबाट हामीले सिक्यौँ । अम्बर दाइले मोजार्टले यस्तो यस्तो गरेको, बिथोवनले यो गरेको भनेर उहाँले कुरा गर्दा सिक्थौँ । इङलिसको माइनर मेजर कर्डस् हुन्छ । स्केल हुन्छ । त्यो सबै कुरा उहाँलाई थाहा थियो र उहाँले भन्दाखेरि हामीले सिकेको । यसकारणले हामीले उहाँलाई गुरु मानेको । उहाँले कम्पोजिसन गर्दाखेरि म सधैँ तबला बजाउँथेँ । अन्त कम्पोेजिसन गर्दा वर्डलाई कसरी राख्ने, म ध्यान दिएर उहाँको काम हेरिरहन्थेँ । उहाँबाट धेरै कुरा सिक्न पाएँ । 

संगीतविनाको मेरो जीवन असम्भव । म सोच्न पनि सक्दिनँ । किनभने संगीतबाहेक अरु त केही छैन मेरो ।

संयोग, आज हामी गोपाल योञ्जन स्मृति दिवसकै दिन यो संवाद गरिरहेछाैँ । 

त्यो त नजान्ने भएपछि त्यस्तो हुन्छ क्या । गोपाल योञ्जन र म हाफपाइन्ट लगाएर सँगै बढेको । गोपाल योञ्जनको स्वास्नी र सन्तानलाई के थाहा हुन्छ, पहिलेको कुरा ? गोपाल योञ्जनले बाँसुरी कहाँबाट सिक्यो ? आमाको पेटबाट बाँसुरी लिएर त निस्केन होला । 

रोयल्टी कस्तो पाइरहनु भएको छ, यता–उताबाट ? 

उता भारतमा त त्यस्तो केही छैन । रेकर्डिङमा मादल बजाउँथेँ । बजाएर निक्लिँदा पैसा दिइन्थ्यो । हाम्रो रेट हुन्थ्यो, त्यहीअनुसार लिन्थेँ । लिएर घर जान्थेँ । यहाँ चाहिँ रोयल्टी निकै पाइन्छ । यहाँ चाहिँ म्युजिक नेपालले व्यवस्था गर्दाे रहेछ । म नेपाल आको बेला म्युजिक नेपालको सन्तोषजीलाई फोन गर्छु— मेरो र मेरो श्रीमतीको केही रोयल्टी छ भने हेर्नुस् न भन्छु । अस्ति पनि फोन गरेको थिएँ । उहाँले दुई–तीन दिन समय दिनुस् न दाइ भन्नुभको छ । अब भोलि सोध्छु । 

पुराना जति पनि मीठामीठा फिल्मी संगीत छन्, तिनमा तपाईंकै संगीत देखिन्छ । चिनो, बाँसुरी, लाहुरे, सम्झना, दर्पण छायाँ, वासुदेव, दक्षिणा, कुसुमे रुमाल, साइनोहरूमा तपाईंको संगीतको जादू नै सुन्न पाइन्छ । ती सिनेमा लोकप्रिय हुन सबैभन्दा धेरै मद्दत संगीतले नै गर्यो जस्तो पनि लाग्छ, मलाई । यहाँले निर्देशक तुलसी घिमिरेसँगै धेरै सहकार्य गर्नुभयो । यसको कारण त यहाँले पहिला पटकपटक जवाफ दिइसक्नुभएको छ । एउटा प्रश्न, तपाईंलाई आफ्नो संगीत सिनेमामा आउँदा कत्तिको चित्त बुझ्थ्यो ? (दिनेश अधिकारीले सिनेमाका लागि गीत नलेख्ने भनेर दिनुभएको अन्तर्वार्ता यहाँ पढ्नुहोस् ।) 

अझ राम्रो गरेको भए हुन्थ्यो कि भन्ने त मलाई मात्र हैन, सबैलाई हुन्छ । आरडी बर्मनलाई तपाईंको संगीत कति राम्रो भनेर सबैले भन्थे । उहाँ अझ यसो भएको भए हुन्थ्यो भन्नुुहुन्थ्यो । त्यो त हुन्छै हुन्छ सबैलाई । यसमा यत्ति गर्न सकिनँ । अर्काे पिक्चर पाएँ भने म भयंकर गर्छु भन्ने हुन्छ । त्यो भएन भने त कसरी काम राम्रो गरिहरहन सकिन्छ र ? 

अझै राम्रो गर्न पाए भन्ने सधैँ भइरह्यो है यहाँलाई ?

हो नि, तपाईंले अहिले तयार भइरहेका पाँचछवटा गीत सुन्नुभयो नि । हुन त सबैले राम्रो राम्रो भन्छन् । मलाई त यसलाई अझै यस्तो गर्न पाए हुन्थ्यो भन्ने छ । अब गीत गाउनेहरू आउँदाखेरि उनीहरूलाई सिकाएर गाउँदा कस्तो गाउँछन् हेरौँ । (अन्तर्वार्ताका लागि हामी जाँदा उहाँले तयार पार्नुभएको संगीतमा गिटार, बाँसुरीको धून भर्ने काम भइरहेको थियो । निर्देशक तुलसी घिमिरेसहित उहाँको परिवार नै साथमा स्टुडियोमा थियो । एरेन्जर विक्रम कार्कीको भेनिस स्टुडियोमा गजमेरको गुरुगम्भीरता तीन घण्टा मज्जाले अवलोकन गर्न पाइयो ।)

नेपाली संगीत भनेको के हो ? 

यो भनेको हाम्रो फोक संगीत हो । लोकगीत, लोकनृत्य हाम्रा हुन् । तर भारतकै नक्कल गरेर हाम्रो मान्छेहरूले सारेगमै सिक्छन् । रागरागिनी उताकै सिक्छन् । नागिनधिननाउ उताकै हो । तर, जहाँको भए पनि सिकेको त राम्रो । अहिले त सिकेको केटाहरू थुप्रै आको छ । वेस्टर्न म्युजिक सिकेको पनि धेरै आको छ । सिक्नु त राम्रो हो । तर, हाम्रो चिज त हामीले बिर्सिनु हुँदैन नि । हाम्रो चिज पनि त दुनियाँमा घुस्नुपर्छ भन्छु म । हाम्रो माटो, हाम्रो चिजलाई खोदलेर हेर्यो भने हामी असाध्यै धनी छुम् । त्यहीँबाट हामीले धेरै काम गर्न सक्छौँ । त्यसैका लागि पनि म नेपाल आइरहन्छु । 

तपाईंहरू दाजीर्लिङबाट जति बेला नेपाल आउनुभयो नि, भाग खान वा भाग खोस्न आए भनेर रेडियो नेपाल, नेपाल एकेडेमीमा गरिने व्यवहार राम्रो थिएन भनेर तपाईंसँगै नेपाल आउनुभएको कार्थकको किताब पढेर पनि थाहा पाएँ । कस्तो हो र ? 

मलाई त त्यस्तो केही लाग्दैन । म यस्तो संगीतकार हो । म नेपाल आएँ । नेपालको सबै मान्छेले स्वागत गर्नुपर्छ मैले किन भन्नु ? म त्यो ल्याकतको छ छैन त तपाईंहरूले छनौट गर्नुपर्यो नि त । जे छ राम्रै छ, ठीकै छ । 

तर, उताबाट आउने र यताका संगीतकारबीच अलिकलि संघर्ष त थियो, हैन र ?

संघर्ष अलिकति के, धेरै नै थियो । तर, सब ठीक भयो । 

तपाईं नेपालमा थोरै समय बसेर भारत जानुभयो । नेपाल एकेडेमीमा मनोहरि सिंहले तपाईंलाई देखेपछि उता लिएर जानुभयो । त्यो चाहिँ तपाईंका लागि कस्तो विन्दु हो ? 

त्यो चाहिँ मेरो टर्निङ पोइन्ट हो । मनोहरि दाइलाई म मेरो गडफादर नै मान्छु । उहाँले गर्दा नै म बम्बई जस्तो ठाउँमा मादल लिएर गएँ । मादलको टोन भारतका संगीत निर्देशकहरूलाई चिनाउने अवसर पाएँ । यसले गर्दा संसारभरि म पनि चिनिएँ । उहाँलाई धन्यवाद दिन्छु म । उहाँको आत्माले शान्ति पाओस् । 

गीत राम्रो बन्नलाई मन सफा हुनुपर्छ । छलकपट हुनुहुँदैन । सबसँग विनम्र भावले बस्नुपर्छ । 

यहाँलाई त्यता त कान्छा भनेर चिन्ने रहेछन् ।

त्यो त आरडी बर्मनले भन्नुभयो । उता सबैले मलाई कान्छा भन्छन् । तपाईं बम्बई गएर मेरो नाम गरेर सोध्नुभयो भने कसैले चिन्दैन । आरडी बर्मनसँग बस्ने कान्छा भन्यो भने बल्ल सबले चिन्छन् । 

तपाईंले दुवै देशमा यति लामो समय काम गरेर रोचक अनुभव बटुल्नुभयो । एउटा–दुइटा मात्र होइन, एउटा–दुइटाबाहेक सबै सबै संगीत उत्तिकै लोकप्रिय छन् । तपाईंको यत्रो अनुभव किताबका रूपमा पढ्न पाइँदैन ? 

अहिले हाम्रो शेखर खरेलजी र लन्डनमा उहाँको साथी हुनुहुँदो रहेछ, श्रीभक्त खनाल । उहाँ दुई जना भएर मेरो बायोग्राफी लेख्ने भनेर बम्बईमा मलाई फोन आयो । फोन आउनासाथ एक हप्तामै उहाँहरूले ५० हजार रूपैयाँ पठाई पनि दिनुभयो । कोरोनाको समयमा किताबका लागि शेखरजीसँग फोनमै मेरो कुरा पनि भइरह्यो । म उताबाट भन्थेँ । उहाँ यहाँ बसेर लेख्नुहुन्थ्यो । किताब तयार भइरहेको छ ।

मलाई नेपाल आउनुपर्ने भयो, सबैको काम लिइराखेको छु । त्यही तरखरमा शेखरजीलाई म नेपाल आउँदै छु भन्दा उहाँ एकदम खुसी हुनुभयो । मलाई मेरो छोरी ज्वाइँ तुलसीजीको घरमा बस्नु गाह्रो, उहाँको घर चार तलामाथि । म भर्‍याङ चढ्नै नसक्ने । शेखरजीले मलाई लाजिम्पाटमा होटलमा बस्दोबस्त गरेर १५ दिन उहाँले मलाई त्यहाँ राख्नुभयो । शेखरजी र श्रीभक्तजी भएर मलाई माया गर्नुभयो । पछि यहाँ केही गीतको काम पनि थपियो । एरेन्जर विक्रमजीको साथी रहेछन्, बडिबिल्डर उहाँले सधैँ बोकेर मलाई यो तीन तलामाथिको स्टुडियोमा ल्याउनुहुन्छ । आज एक महिना हुनु आँट्यो, मलाई बोेकेर यहाँ ल्याउन थालेको ।

होटेल छोडर कहाँ बस्ने भन्दाखेरि गायक दीप श्रेष्ठले उहाँको एक जना साथी राजकुमार दाहालको घर पासीकोटमा बस्ने व्यवस्था गरिदिनुभयो । त्यहाँ घरमा भुइँतला खाली रहेछ । दीप श्रेष्ठले त्यहाँ बस्न सक्नुहुन्छ दाइ भनेपछि । म हेर्न गाथेँ, असाध्यै राम्रो ठाउँ लाग्यो । हामी दार्जीलिङ बस्ने मान्छे अलिअलि तुवाँलो आको, अलिअलि जाडोजाडो, शीतल भाको ठाउँ मन पर्यो र अहिले म त्यहीँ बस्दै छु । राजकुमारजीको मिसेस पनि एकदमै राम्रो, उहाँले हामीलाई एकदमै राम्रो गर्नुहुन्छ । म त्यहीँ बसेको छु । 

परिवारका साथ गजमेर

नेपालमा कला–संगीतका लागि धेरै सरकारी संघ–संस्था छन् । नेपाल एकेडेमी छ, संगीत–नाट्य एकेडेमी छ, सांस्कृतिक संस्थान । यहाँ जस्तो मूर्धन्य व्यक्तित्व, जसले नेपाली भाषालाई, नेपाली बाजालाई, नेपाली संगीतलाई देश–देशावरसम्म पुर्याएर यत्रो गुण लगाउनुभयो । राज्यका यत्रा संरचना छन्, कलाका क्षेत्रमा यत्रो बजेट पनि छ । तपाईंले चाहेमा सधैँ यतै बस्ने व्यवस्था मिलाइदिनु त कता कता, दुई–चार हप्ता बस्न पनि अतिथि आवासगृह नहुने, ‘राज्यका कलाकारबाट कुनै चासो नहुने, विडम्बना नै छ । प्रज्ञाहरूमा प्रज्ञावान् कम छन्, दलका कार्यकर्ता बेसी छन् । अहिले चुनाव भइरहेका बेला तिनले टोलटोलमा पार्टीका झण्डा बोकेका फोटो सगर्व टाँसेका छन् । खै, यस्तै छ समय सर । यसमा यहाँमा जवाफ दिनुपर्दैन । यहाँको आत्मकथा कहिले पढ्न पाउँछौँ त हामी ?
 

शेखरजीले लेखिसकेर मलाई दिनुभएको छ, बाइन्डिङ गरेर । सबै पढेँ मैले । एक दुइटा कुरा छुटेको रहेछ । मलाई भन्नुस् न, म मिलाइहाल्छु भन्नुभको छ, शेखरजीले । एकडेढ महिना लाग्ला, किताबको रूपमा सार्वजनिक हुन । (लेखक शेखर खरेलका अनुसार पुस्तक वी रिडले प्रकाशन गर्नेछ । चाँजोपाँचो मिलाउने श्रीभक्त खनाल र लेखक शेखर खरेल हुन् ।)

आफ्नो पुस्ताका पुराना संगीतकार, गायक, लेखक कोकोसँग भेट भयो यसपालि ? 

किरण खरेलजीसँग हाम्रो शेखरजीले बात गराइदिनुभयो । अरुसँग कुराकानी हुनु पाएन । किरण खरेलजीसँग पहिला काम पनि गरेको । असाध्यै राम्रो गीत लेख्ने मान्छे । गीत बनाउँदाखेरि म पहिला ट्युन बनाउँछु । ट्युनमा ठ्याकठ्याक मिल्ने सिचुयसनलाई ठीकठीक गर्ने, फिल गरेर लेख्ने मान्छे चाहिँ मैले अहिलेसम्म नेपालीमा किरण खरेलजीजस्तो कसैलाई पनि देख्तिनँ । अर्काे हुनुहुन्छ, उहाँ पनि राम्रो लेख्ने, रत्नशमशेर थापा । दिनेश अधिकारीजीले एक–दुईवटा एकदमै राम्रो लेख्नुभाको छ । उहाँ पनि राम्रो लेख्नुहुन्छ । 

अनि विशेष मेरो गीतमा त मेरो मिसेस र तुलसीजीले लेख्नुभएको छ । तुलसीजीलाई म्युजिकको एकदमै राम्रो सेन्स छ । उहाँले ताल पनि सब जानेको हुँदा ठ्याकठ्याक मिलाएर लेख्नुहुन्छ । हाम्रो नीर शाहजी हुनुहुन्छ नि, उहाँ पनि एकदम राम्रो लेख्नुहुन्छ । मेरो ट्युनमा उहाँले ‘वासुदेव’मा तीनवटा लेख्नुभएको छ । अर्काे यो गीत पनि गरिदिनुस् न भन्नुभयो । त्यो महाकवि देवकोटाको ‘यात्री’ रहेछ । त्यो गीत गर्न पाउनु मेरो सौभाग्य नि । धुमधाम मेहनत गरेर, धेरैपल्ट गर्दा पाँच–सातपल्टमा मिल्यो । भूपाली रागमा हाम्रो नेपाली टाइपको गीत हाम्रो रबिन शर्माजीले गाउनुभयो । 

त्यो गीत मलाई पनि धेरै मन पर्छ । (यो गीतको कथा हामीले पोहोर साल इकागजमा लेखेका थिइम् ।) यात्रीमा यहाँले असाध्यै राम्रो गर्नुभएको छ ।

त्यो त भगवान्‌ले गराएको हो, मैले गरेको हैन । तपाईंहरूको, संसारभरि बस्नुभएका सम्पूर्ण नेपालीको माया, मोह र पशुपतिको आशीर्वाद हो । अहिलेसम्म गरिरहेको छु । 

आफ्ना गीतमध्ये यो एउटा चाहिँ बहुत खास छ भन्ने पनि छ कि सर कुनै ?

त्यस्तो छैन । भारतको, नेपालको ठूलो ठूलो गायकले गाइदिनुभयो । मन पराइदिनुभयो । त्यही राम्रो । नारायण गोपालजीले गाइदिनभयो । नारायणजीले जसरी त कसैले पनि गाउन सक्दैन । 

गीत राम्रो बन्नलाई केके राम्रो हुनुपर्छ ? 

मन सफा हुनुपर्छ । छलकपट हुनुहुँदैन । सबसँग विनम्र भावले बस्नुपर्छ । 

शब्द, संगीत, स्वरमा कुन प्रधान हो गीतका लागि ?

म मान्छु है, ट्युन । वर्ड नभाको ट्युन पनि मान्छेले सुन्दाखेरि मज्जा आउने हुन्छ । पछि वर्ड आएपछि त झन् मज्जा आउने । तर, हाम्रो मान्छेहरूले ट्युन मात्रै बुझ्न गाह्रो हुन्छ । ट्युन बुझ्न शब्द हुनैपर्छ, हाम्रो मान्छेहरूका लागि । 

आफूले संगीत गरेको कुनै गीत यसलाई फेरि गर्न पाए हुन्थ्यो भन्ने लाग्छ कि कुनै ? 

यो भन्दा राम्रो गर्नु पाए हुन्थ्यो भन्ने चाहिँ लाग्छ । त्यही गीतलाई भन्दा पनि नयाँ गीतलाई । 

तपाईंजस्तो संगीत साधकबाट नयाँ पुस्तालाई के सन्देश छ ?

हाम्रो केटाकेटीहरूले संगीत सिक्नुपर्छ । संगीतमा लागेर जीवन त्यसै बिताउनुभन्दा संगीतसँगसँगै कुनै व्यवसाय पनि केही गर्नुपर्छ । सिक्नु चैँ पर्छै पर्छ । सिकेर घमण्ड राख्नुहुँदैन । सबसँग विनम्र भएर बात गर्दा खुसी मिल्छ । दुई वचन किन मीठो नबोल्ने ? 

मलाई कुराकानीका लागि काबिल सम्झिनुभएकामा धेरैधेरै धन्यवाद । संसारभरि रहनुभएका सम्पूर्ण नेपाली गोर्खे जातिलाई मेरो विनम्र निवेदन छ, हामीले सिक्नुपर्छ । हामीले हाम्रो माटो बिर्सिनुहुँदैन । हामी जहाँ गएर जस्तो अवस्थामा पनि जन्मभूमि छोडेर कर्मभूमिमा रहेको छु, जन्मभूमिलाई बिर्सनु हुँदैन । 
म अहिले पनि सिकिरहेछु । म १८ वर्ष भएँ ।​
(उहाँ ठट्टा गर्दै ८१ लाई १८ वर्ष भन्नुहुन्छ । संगीतका लागि यो १८ वर्षको उमेरसम्म दिनमा १८ घण्टासम्म खटिबस्ने संगीतज्ञ गुरु गजमेरज्यूको जय होस् ।) 
 

आदरणीय पाठकज्यू, यो अन्तर्वार्ता सार्थक संगीतज्ञ रञ्जित (मलाई दिएको अटोग्राफमा ‘रनजित’ लेख्नुभएको छ) गजमेरसँग काठमाडौँमा रेकर्ड गरिएको हो । एरेन्जर विक्रम कार्कीको महाराजगन्जस्थित भेनिस रेकर्डिङ स्टुडियोलाई धन्यवाद । फोटो र भिडियोमा साथ दिने सहकर्मी पुरन विश्वकर्मालाई धन्यवाद । माथि इन्ट्रो लेख्न छुटेछ, कसको–के वार्ता भनेर क्लिक गर्नुअघि फोटोबाटै थाहा पाइसक्नुभयो आखिर । अहिले त यो वार्ता पनि पढिसक्नुभयो । किन विमल आचार्यले बूढाको अलि बढी गुणगान गायो भन्ने सोच्नुभएको छ भने सयौँ गीतबाट यी गीत अवश्य सुन्नुहोस् :

कुन मन्दिरमा । झझल्को लिएर । मिर्मिरे साँझमा । मन छोडे मैचाङ । भुलिगए सम्झनालाई कुसुमे रुमाल । डाली डाली । लहनाले जुरायो कि । पहाडको माथिमाथि । मोहनी लाग्ला है । पिरतीको मीठो तिर्सना । वीरताको चिनो । सपना भई आँखामा । दुई पाते सुइरो । झिम्काइदेऊ परेली । इसाराले बोलाउनु । यो मुटुलाई कसरी । माया के होला । सुन भन न । जून त लग्यो । यो डाँडापारि यो डाँडावारि । बैंसालु मनले रोजेको । साउने झरीमा । अब यो बाटो मेरो हो कि । साँचिराखूँ जस्तो लाग्छ । चियाबारीमा हो । बतासले उडाइ । कसरी भनूँ म । अधरमा आज उनकै छ गीत । सुन कथा एउटा गीत । तिम्रो मनमा लुकेको कुरा । पसिनाको जलैले मेहनतको । उकालीमा पछि पछि । लौ न मायालुको देशमा माया खोजी । मखमली माया दिम्ला । फेरि आयो त्यो कालो रात । बस है आमा । ... ... ... ... ।

 

 

तस्बिर र भिडियाे  : पुरन विश्वकर्मा 
 


Author

विमल आचार्य

सामाजिक विषयमा कलम चलाउने आचार्य अप-एड तथा फिचर ब्यूरो चिफ हुन्।


थप समाचार
x