सुमन शेखरको उर्दू गजल भारतको टी सिरिजबाट सार्वजनिक
काठमाडौँ - गायक सुमन शेखर मानन्धरको स्वरमा सजिएको उर्दू गजल ‘साम से हि दिल’ सार्वजनिक भएको छ । टी सिरिजको अफिसियल च्यानलबाट सार्वजनिक गीत आइतबार वरिष्ठ चलचित्रकर्मी नीर शाह तथा पूर्व चलचित्र विकास बोर्ड अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा सुनिल थापा, निर्जन थापा र धारणा शर्माको अभिनय रहेको छ ।
मुख्य गरी मुगुको रारामा खिचिएको गीतले हिन्दी र उर्दूभाषी पर्यटकलाई नेपाल आकर्षित गर्ने अपेक्षा राखेको गीत निर्माणमा संलग्न टिमको धारणा थियो । गीतकार तथा संगीतकार इम्तियाज वफाले गीतले नेपालको पर्यटनलाई प्रत्यक्ष फाइदा पुर्याउने विश्वास व्यक्त गरे ।
यसैगरि, गायक सुमन शेखरले भारतीय उपमहाद्धिपमा बसोबास गर्ने करोडौँ हिन्दी र उर्दूभाषी जनतालाई नेपाल बोलाउने अभिप्रायसहित गीत तयार गरेको जानकारी गराए । कुनै समय अध्ययनका लागि पाकिस्तान बसेका गायक मानन्धरले सोही बसाइले आफूलाई उर्दू गीत गजल र शायरीमा चाख बसेको र सोही चाखलाई लामो समयपछि यो गीतमार्फत अभिव्यक्त गरेको बताए ।
‘यो गीत तयार गर्न हामीलाई तीन वर्ष लाग्यो । यो गीतले कम्तिमा पनि रारा ताल हेर्न आउने दर्शकमा वृद्धि हुने हाम्रो अपेक्षा छ ,’ उनले भने, ‘भावनाको अभिव्यक्तिसँगै संगीतलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि पनि प्रयोग गर्न सकिन्छ भन्ने लागेर हामीले यो गीत हिन्दी र उर्दूमा तयार गरेका हौँ ।’
उनको कुरामा सही थाप्दै निर्देशक जनकदीप पराजुलीले टिसिरिजको च्यानलमा नेपाली कलाकार र प्राविधिकले सिर्जेको सिर्जना आएको सम्भवतः पहिलो घटना भएको जानकारी गराउँदै यसले नेपाली संगीत र कलाकारलाई भारतमा स्थापित गर्न बाटो खोल्ने अपेक्षा व्यक्त गरे ।
‘टिसिरिज जस्तो भारतकै एक नम्बर कम्पनीमा नेपाली प्राविधिक र कलाकारले गरेको काम सार्वजनिक हुनु गौरवकै कुरा हो । योसँगै गीतले पर्यटनलाई पनि केही न केही फाइदा गरोस् भन्ने हाम्रो चाहना हो,’ पराजुलीले भने । कार्यक्रममा गीतलाई शुभकामना दिन पुगेका वरिष्ठ चलचित्रकर्मी नीर शाहले सुमन शेखर मानन्धरका बुबासँगको सामीप्य स्मरण गर्दै सम्पूर्ण टिमको मेहनतको प्रशंसा गरेका थिए ।
नीर शाहले आफू पनि गीत संगीतको विद्यार्थी भएको बताउँदै गीत र दृश्यको संगमले उत्कृष्ट सिर्जना तयार भएको धारणा राखेका थिए । ‘कसैलाई लाग्ला हिन्दी गीतको किन यति चर्चा तर म भन्छु हामी उनीहरूको मनमा बस्ने उनीहरूकै भाषा र शैली प्रयोग गरेर बस्ने हो । यस्तो गर्दा कसैले अराष्ट्रिय भन्छ कि भन्ने पिर गर्नु पर्दैन,’नीर शाहको भनाइ थियो ।
यसैगरि कार्यक्रममा निर्माण टिमलाई शुभकामना दिँदै पूर्व विकास बोर्ड अध्यक्ष राजकुमार राईले आफू मौलिकताको पक्षधर भए पनि प्राविधिक रुपमा बलियो गीत तयार गरेकोले यसले दीर्घकालीन रुपमा नेपाली कलाकार र प्राविधिकलाई फाइदा पुर्याउने विश्वास व्यक्त गरे । सन्जिव पाण्डेको संयोजन र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको गीतलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने गीतमा सम्पादन तथा भीएफएक्स धुव्रराज पराजुलीको रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया