‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’का प्रतियोगी काठमाडौँमा
काठमाडौँ- इन्ट्रा नेसनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका(इन्ट्रा फाउन्डेसन)ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए –सिजन २)को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धी अमेरिकाबाट नेपाल आएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
इन्ट्रा फाउन्डेसन, नेपाल च्याप्टरको आयोजनामा अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिहरुलाई विमानस्थलमा स्वागत गरिएको हो । स्वागतपश्चात त्रिभुवन विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकल र्यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको मुलबरी होटलमा पुर्याइएको थियो ।
होटलमा आयोजित पत्रकार सम्मेलनमा दुई वटा रियालिटी सोको विषयमा जानकारी दिइयो । ग्यालेक्सी फोर के टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भैरहेको यो सोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।
अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरुले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् ।
यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् । यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी सोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमाझ चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियाले जानकारी दिए ।
‘मेरो भ्वाइस कप युएसए’को निर्णायकमा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, युएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर बीसी, संचिता लुइटेल र नरमान राई छन् । दुवै कार्यक्रमको सञ्चालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् । कार्यक्रममा फाउन्डेसनका नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरुलाई स्वागत गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया