संगीत

७५ हजार डलर पुरस्कारसहित ‘मेरो भ्वाइस र डान्स यूनिभर्स’को घोषणा

इकागज |
साउन ३, २०७९ मंगलबार १०:५७ बजे

काठमाडौँ- इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा नेपालमै पहिलो पटक सर्वाधिक ठूलो धनराशिसहितको दुई वटा रियालिटी सो आयोजना हुने भएको छ ।

सोमबारकाठमाडौंमा आयोजना भएको पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले ‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’ आयोजना गर्न लागिएको जानकारी गराए ।


विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो सो आयोजना गरिनेछ । ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले ७५ हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि ७५ हजार डलर पुरस्कार पाउनेछन् । यो सोको फस्ट रनरअपले २५ हजार र सेकेन्ड रनरअपले १० हजार डलर पुरस्कार पाउनेछन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले भने–‘यो कार्यक्रम आयोजना गरेर हामीलाई कुनै पनि नाफा कमाउनु छैन । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुलाई एक सूत्रमा बाँध्ने र उनीहरूलाई नेपाली भाषाको बारेमा सजग गराउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।’

यो सोमा सहभागी हुन चाहने विश्वभरका नेपाली भाषीहरूले इन्ट्रा फाउन्डेसनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन् । अगस्ट महिनादेखि सुरु हुने अडिसन डिसेम्बर ३१, २०२२ सम्म जारी रहने पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले जानकारी गराए । यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । अधिकारीका अनुसार, नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १–१ स्थानमा अडिसन गरिनेछ । यीबाहेक अन्य देशमा प्रतिस्पर्धीको संख्याको आधारमा अडिसन हुने बताइएको छ ।

फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिस्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेसनका अध्यक्ष अधिकारीले बताए ।यो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानित पनि गरियो । कार्यक्रममा वरिष्ठ कलाकार नीर शाह, नायक भुवन केसी, कलाकार निर्मल शर्मा, निर्देशक दीपाश्री निरौला, नायिका प्रियंका कार्की, कार्यक्रम होस्ट सुशिल नेपाल, ‘द भ्वाइस अफ नेपाल’का अध्यक्ष लक्ष्मण पौडेललाई सम्मानित गरियो । यस्तै, कार्यक्रममा कुमार कार्की, दुर्गा प्रसाद पाण्डे, ज्ञानेन्द्र राज देवकोटा र माधव खरेललाई पनि सम्मानित गरियो ।

कार्यक्रममा कलाकार किरण केसीले गीत गाएर सुनाएका थिए । यस्तै, गायक पुष्पन प्रधान, शिव परियारले पनि गीत गाएर कार्यक्रममा मनोरञ्जन प्रदान गरे । कार्यक्रममा नेपाली वीरहरुको विरता झल्कने डान्स समेत प्रस्तुत गरिएको थियो ।​इन्ट्रा फाउन्डेसनले अहिले ‘मेरो भ्वाइस कप यूएसए र मेरो डान्स कप युएसए’ आयोजना गरिरहेको छ । 


Author

थप समाचार
x