संगीत

लिच्छवि हाउसको शिलान्यासमा विपुल गायन

इकागज |
भदौ १३, २०७९ सोमबार १३:३ बजे

काठमाडौँ- शनिवार साँझ काठमाडौं स्थित बौद्धमा गायक विपुल क्षेत्री सुनिए । विश्वप्रसिद्ध अवार्ड ग्रामी सदस्य समेत रहेका विपुलले आफ्ना हिट गीतहरु प्रस्तुत गरे । हावा चल्यो यहाँ बेस्सरी, हल्लियो बाँसघारी, उडी जाउँ भने, चरी म हैन बस्न पनि यहाँ मन छैन लगायत हिट गीत उनले गाए । स्टेज उक्लिदै गर्दा जन्मोत्सवको शुभकामना पाएका विपुलको प्रफुल्लता गीतसंगीतमा देखिन्थ्यो ।

पंचतारा चर्या नृत्य र बर्था गन्धर्वले सारंगी रेटेर केही गीत गाएपछि कार्यक्रमको मध्यतिर गितार बोकेर स्टेजमा देखिएका विपुलले युवापुस्तालाई नचाउन सफल भए । विपुलसँगै सुकर्म ब्यान्डले पनि प्रस्तुति दियो । यो सांगीतिक माहोलको सन्दर्भ थियो, निर्माण गर्न लागिएको लिच्छवि हाउसको भूमिपूजा तथा शिलान्यास कार्यक्रम । अन्तर्राष्ट्रिय फिल्म निर्देशक एवं बुद्ध धर्मका अग्रणी गुरु जोङसार खिन्से रिम्पोछे (खिन्से नोर्बु) को कल्पनामा बन्न लागेको लिच्छवि हाउसको भूमि पुजा तथा शिलान्यास कार्यक्रमको निम्तो मान्न विपुल काठमाडौं आएका थिए ।


कार्यक्रमलाई सांगीतिक बनाउने भएपछि विपुलदेखि सुकर्म ब्यान्डसम्म गुञ्जिए । कार्यक्रममा गीतसंगीतसँगै सन्देशमूलक नाटक ‘इफ वी डन्ट लाइक गड : हु विल बी’ मञ्चन गरियो । साढे दुई रोपनी क्षेत्रफलमा बन्न लागेको लिच्छवि हाउसलाई सबै कलाप्रेमको पूजनीय स्थल बनाउन लागिएको फिल्म अभिनेता तथा निर्माता रविन्द्रसिंह बानियाँले जानकारी दिएका छन् । बानियाँका अनुसार भवनमा कलाका सबै विधालाई समेटिने छ । ‘भवनलाई नाटक, पेन्टिङ, कविता, थाङ्का, तालिम केन्द्र, थिएटर र ग्यालरीको रुपमा विकास गरिने भएको छ । साथै, पाहुना गृह, क्याफे पनि बनाइने भएको छ’ अभिनेता बानियाँले भने ।


Author

थप समाचार
x