कवि मञ्जुलको पाँच दशक पुरानो गीतमा नेपथ्यको ताजा आवाज
काठमाडौं - कुनै समय संगीतको माध्यमबाट चेतनाको जागरण फैलाउँदै हिँडेका कवि मञ्जुलले २०२४ सालमा लेखेको कविता ‘साइँली मोरीलाई’ लाई नेपथ्य ब्याण्डले आफ्नो सार्वजनिक गरेको छ ।
‘लेकैको लालीगुराँस, काली काली केशलाई
साइँली मोरीलाई
पाखैको चिसो बतास, डाली डाली फूललाई
साइँली मोरीलाई’
बोलको गीतलाई मञ्जुलले १९ वर्षमा लेखेका थिए । त्यसको निकै पछि मात्र यसले पुस्तकाकारमा सार्वजनिक हुने मौका पायो । त्यहि शब्दलाई नेपथ्य ब्याण्डका मुख्य गायक तथा अगुवा अमृत गुरुङले आफ्नै स्वादमा पस्केपछि अब यो ब्याण्डकै ताजा गीत बन्नपुगेको छ ।
‘धेरै पहिले यसलाई कविता संग्रहमा पढेको थिएँ,’ अमृत भन्छन्, ‘त्यो पुस्तकमा पनि विशेष गरेर यो रचना चाहिँ बारम्बार पढेकाले कण्ठस्थै थियो ।’
यसरी आनन्द लिएको शब्दलाई गीतमा ढाल्ने काम भने पछिल्लो समय मात्रै गरिएको हो ।
‘मञ्जुल–रामेश दाइहरुले गरेको पदयात्रामा आधारित गीतीयात्रा संस्मरण ‘सम्झनाका पाइलाहरु’का डोब पछ्याउँदै करिब एक दशकअघि म पनि पैदलै पूर्वतर्फ लागेको थिएँ,’ उनी थप्छन्, ‘ओखलढुँगाको गोरेटोमा हिँड्दा हिँड्दै एउटा दृश्यले मलाइ यस्तरी रोमाञ्चित बनाइदियो जसले फेरि त्यस पुरानो कविताको सम्झना भयो ।’
अमृतका अनुसार त्यस दिन उनी कोषभञ्ज्याङ नाघेर कटुन्जेतर्फ ओह्रालो लाग्दै थिए । त्यतिबेलै बाटोमा भर्खर विहे गरेर आएको एउटा जोडी भेटिए । हिँड्दा हिँड्दै त्यो जोडी केही छिनको निम्ति अमृतको सहयात्री बन्न पुगेछन् । उनले त्यस जोडीको तस्बिर खिच्न खोजे । तस्बिर खिचाउँदै गर्दा हौसिएका बेहुलाले अचानक श्रीमतीको कुममा हात राखे । बेहुली पहिरनमा रंगीएकी नवविवाहिताको अनुहार त्यसबखत राताम्मे बन्न पुगेको थियो ।
‘त्यो दृश्यले मलाइ यस्तरी झक्झक्यायो,’ अमृत भन्छन्, ‘मैले कता कता वर्षौं पहिले पढेको मञ्जुल दाइको साइँली मोरी कविता दृश्यमा देखेजस्तो लाग्यो ।’
त्यसपछि पनि अमृतको पैदलयात्रा निरन्तर अघि बढ्दै गयो ।‘ती जोडीलाई भेटेको दुइ तीन दिनमै म दिक्तेलतर्फ उकालो लाग्दै थिएँ,’ उनी भन्छन्, ‘त्यतिबेलै लालीगुराँसले राताम्मे डाँडामा बसेर मैले मञ्जुल दाइका पुराना शब्दहरुलाई संगीतबद्ध पारेको हुँ ।’
यसरी दशक अगाडि काठमाडौंबाट पैदल हिँडेरै पूर्वी पहाडी कुना संखुवासभा पुग्दा अमृतले तयार पारेको यो गीत एकपटक कन्सर्टमा पनि प्रस्तुत भइसकेको छ । केहि महिनाअघि मात्र नयाँ वर्षको दिन दमकमा आयोजित नेपथ्यको कन्सर्टमा यसलाई ब्याण्डले गाएर सुनाएको थियो । दमकमा आयोजित कन्सर्टमा यो गीत सुनेका दर्शकहरुको उत्साहलाई उतिबेलै भिडियो क्यामराले कैदसमेत गरेको थियो । यु ट्युबमा आजबाट बग्न सुरुभएको यो गीतको भिडियो त्यसै कन्सर्टका दृश्यहरु हुन् ।
‘समाज परिवर्तनको मुख्य चाहना बोकेर गाउँ गाउँ डुल्ने गरेता पनि मेरो मनमा लोकगीतले गहिरो प्रभाव जमाएको थियो,’ यस गीतका बारे श्रष्टा मञ्जुल भन्छन्, ‘त्यहि भावनाले उतिबेला यी शब्दहरु कोरिएका हुन् ।’नेपथ्यले तयार पारेको यो गीतलाई सुनेर आफू आनन्दित भएको प्रतिक्रिया मञ्जुलले दिए ।‘अमृत भाइले आफ्नै शैलीको छाप सहित यसलाई तयार पारेर प्रस्तुत गरेका छन्,’ उनले अगाडि भने, ‘यसको आफ्नै मिठास छ ।’
नेपथ्य ब्याण्डलाई प्रवद्र्धन गर्दैआएको ‘नेपालय’का अनुसार स्थापनाको तीन दसक पुरा गरिसकेको यस ब्याण्डका हालसम्म नौ वटा एल्बम श्रोतासमक्ष प्रस्तुत भइसकेका छन् । यो गीत भने निकट भविष्यमै पूर्ण हुने तयारीमा रहेको दशौं एल्बमको नवौं प्रस्तुती हो । यसका आठवटा गीत यु ट्युवमा उपलब्ध भइसकेका छन् ।
‘थोरै सन्तानमा सीमित हुँदैगएको नेपाली पारिवारिक संरचनामा अब साइँला र साइँलीजस्ता शब्दहरु क्रमशः लोपोन्मुख भएका छन्,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यसरी एउटा कालखण्डको बेग्लै सामाजिक संरचना पनि उभ्याउने स्वाद यो गीतको थप विशेषता बनेको देखिन्छ ।’
पुराना भाकाहरुलाई ब्यूँताएर नयाँ पुस्तासम्म पुर्याउने नेपथ्यको प्रयासकै निरन्तरता स्वरुप यस गीतलाई प्राथमिकताका साथ प्रस्तुत गरेको श्रेष्ठले उल्लेख गरे । यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया