'मोहनी लाग्ला है' गाउँदै रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’ सार्वजनिक
काठमाडौँ- संगीतज्ञ रञ्जित गजमेरको आत्मकथा ‘मोहनी मादल’को सार्वजनिक भएको छ । राजधानीको प्रज्ञा प्रतिष्ठान डबलीमा सोमबार गजमेरका समकालीन पिटर जे कार्थकी पत्नी रञ्जना कार्थक, नोर्बु योञ्जनकी छोरी सुजाता, गजमेरका छोराछोरी सत्यजित, प्रिती लगायतले पुस्तक विमोचन गरे । पुस्तकलाई वी रिडले प्रकाशन गरेको हो ।
गजमेर रचित धूनहरुको पुनर्प्रस्तुतिका साथ सम्पन पुस्तक सार्वजनिकीकरण कार्यक्रममा गीतकार नगेन्द्र थापा र दिनेश अधिकारीले गजमेरको योगदानको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा गीतकार नगेन्द्र थापाले प्रवासी नेपालीको गीत लेखेर शरण प्रधानलाई संगीतका लागि अनुरोध गर्दा त्यही समूहमा गजमेरलाई भेटेको सम्झिए । १९६३ देखि गजमेरसँगको संगत सुरु भएको भन्दै उनले ६० को दशक संगीतको उत्कर्षको समय रहेको बताए । अर्का गीतकार दिनेश अधिकारीले लक्ष्मीप्रसाद देवकोटाको कुन मन्दिरमा जान्छौ यात्रीलाई संगीतबद्ध गरेर गजमेरले जोखिम मोलेको बताए । ‘चर्चित सिर्जना चलाउनु जोखिम हुन्छ, त्यो उहाँले जोखिम मोल्नुभयो र राम्रो सिर्जना दिनुभयो,’ उनले भने, ‘त्यसपछि म उहाँको फ्यान भएँ ।’ गजमेरकै कारण आफूले ५ वटा गीतमा धुनका आधारमा गीत तयार पारेको अधिकारीले स्मरण गरेका थिए । ‘रञ्जित दाइ संगीतका कारण चीरस्थायी हुनुहुन्छ, यसमा कुनै शका छैन । तर अक्षरको आयु अझ लामो हुन्छ ,’ उनले भने, ‘यो आत्मकथाले उहाँलाई अझ लामो आयु दिएको छ ।’
रञ्जित गजमेरको सम्मानमा शिला बिष्टले गीत गाइरहँदा नाचेर साथ दिँदै अभिनेता भुवन केसी
संगीतकार गजमेरले आफूले नेपाल र नेपालीका लागि संगीतका के कर्म गरे भन्ने प्रमाण पुस्तकमा रहेको बताए । काठमाडौंमा सुरुवाती दिनमा निकै संघर्ष गरेको स्मरण गर्दै उनले आफूलाई सहयोग गर्ने समकालीनहरुलाई सम्झिए । आफू अहिले नेपालमा आएर नेपालीमा कुरा गर्न पाएको भन्दै उनले निकै खुसी व्यक्त गरे ।
पुस्तकका लेखक शेखर खरेलले गजमेरको समयको जस्तो सांगीतिक समाज आजकाल नपाइने भन्दै उनको योगदानबारे आफ्ना भनाइ राखे । ‘हामी कुनै रुखलाई सिंगा रुखमात्र देख्छौं,’ उनले भने, ‘यो पुस्तकले रुखको जरा पनि देखाउने काम गरेको छ ।’
कार्यक्रममा गजमेरद्वारा संगीतबद्ध गीतहरु विभिन्न कलाकारले प्रस्तुत गरेका थिए । मोहनी लाग्ला है , तिम्रो मनमा लुकेको कुरा, चिसोचिसो हावामा, वीरताको चिनो, भुलिगए सम्झनालाई लगायत गीतले प्रतिष्ठानको डबली गुन्जायमान बनेको थियो I बाद्ध वादन तर्फ सुरज प्रधान, विक्रम कार्की, रुपेश सिङ, जे पि जोशी, भवन गन्धर्ब, संजीव मैनाली थिए । गायन तर्फ क्रमश; विपिन, कर्म ग्याल्जेन, कमल किरण, नवीन गजमेर, बानीका प्रधान, शीला बिष्ट, जीना रसैली र टीका प्रसाई थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया