कलाकारबाटै बालेनको चर्को आलोचना
काठमाडौँ- कलाकार राष्ट्रका गहना हुन् । जसले कलाकारको साथ पाउँछन्, उनीहरूले सफलता पनि अवश्य पाउँछन् । यसमा बालेन शाहको सफलताको पछाडि नेपालीको कलाकारको ठूलो साथ र सहयोग छ ।
उनीहरूले स्थानीय तहको चुनावमा बालेनले उम्मेदवारी घोषणा गरेपछि सामाजिक सञ्जालबाटै भोट माग्न सुरु गरेका थिए । बालेनले बोल्ने हरेक भाषण र अन्तर्वार्तामा आफ्नो प्रतिबिम्ब हेर्दै उनीहरूले ‘बालेन जिताऔँ’ अभियान चलाएका थिए ।
राजनीतिक दलका नेता, कार्यकर्ता र जनप्रतिनिधिबाट वाक्क दिक्क भएका कलाकारहरूले ‘बालेन जिताऔँ’ अभियान चलाएकै कारण उनको जित सम्भव भएको हो ।
राष्ट्रका गहना भनिने कलाकारले नै बालेन सही उम्मेदवार भएको भन्दै भोट मागेपछि अधिकांश मतदाताको पनि मन फेरिएको थियो । जसले काठमाडौँ उपत्यकामा दलहरूबाट आजित भएका कारण उनीहरूले स्वतन्त्र उम्मेदवार बालेनलाई काठमाडौँको मेयरमा निर्वाचित गराए ।
निर्वाचित भएपछि बालेनले सुरुवाती दिनमा गरेका कामले निकै चर्चा पाएको थियो । अवैध संरचना भत्काउनदेखि काठमाडौँको पार्किङ र फुटपाथ व्यवस्थित गर्दा बालेनलाई गरेको मतदान सही साबित भएको धेरैको बुझाई थियो ।
तर, पछिल्लो समय एक पछि अर्को गरी बालेनको आलोचना बढ्दै गएको छ । त्यसमा पनि कलाकारबाटै बालेनको आलोचना चर्किएको छ । जसलाई रोक्न बालेनको शक्तिले सम्भव देखिएको छैन ।
खुलामञ्चमा भूमिगत पार्किङ बनाउने निर्णयले बालेनलाई ठूलो विवादमा तान्यो । त्यसअघि टुकुचा खोला उत्खनन गरेर उनले चर्चा र वाहवाही निकै पाएका थिए । तर, पुरातात्त्विक सम्पदा भएका कारण उनले उत्खनन गरेर अलपत्र छाडिदिए । न त्यसलाई व्यवस्थित गरे । न टुकुचा खोलालाई खुला अस्तित्वमा ल्याउन सके ।
यी त उनले गरेका केही कामको आलोचना थियो । सबैभन्दा ठूलो कुरा त अहिले बालेन कसैको कुरा सुन्दैनन् । त्यो कुन हदसम्म छ भने कुनै पनि सञ्चारमाध्यमलाई उनी अन्तर्वार्ता दिँदैनन् ।
चुनावअघि प्राय: सबै मिडियामा अन्तर्वार्ता दिने बालेन चुनावपछि अहिलेसम्म कसैलाई पनि औपचारिक रूपमा अन्तर्वार्ता दिनबाट भाग्दै आएका छन् । नेपालका प्रतिष्ठित सबै मिडियाले लाख कोसिस गर्दा पनि बालेन अन्तर्वार्ता दिन मान्दैनन् ।
चुनाव जितेको केही समयपछि बालेनले हिमालय टेलिभिजनका पत्रकारलाई दुर्व्यवहार गरेका थिए । त्यसले उनको आलोचना भए पनि सुरुवाती समय भएका कारण त्यति ठूलो अन्तर देखिएन ।
तर, चुनाव जितेर काम सुरु गरेको ६ महिना बितिसक्दा पनि बालेन कुनै पनि मिडियामा एक झुल्को देखाउँदैनन् । उल्टै उनी पत्रकारप्रति पूर्वाग्रह सोच राख्दै आएका छन् ।
यसले पनि सीमा नाघेको छ । पछिल्लो समय बालेन कलाकारहरूलाई पनि बेवास्ता गर्न थालेका छन् । हिजो कलाकारकै कारण चुनाव जित्न सक्षम भएका बालेन अहिले कलाकारलाई सामाजिक सञ्जालमै तथानाम गाली गर्न र आरोप लगाउन अभ्यस्त भइरहेका छन् ।
केही दिनअघि चलचित्र निर्देशक तथा कार्यक्रम प्रस्तोता विशाल भण्डारीले सामाजिक सञ्जालमा बालेनले धेरै काम गर्ने सपना देखाएर काम गर्न नसकेको भन्दै एक प्रश्नसहितको पोस्ट हालेका थिए ।
जसले चर्चा पायो । यद्यपी त्यो पोष्टमा धेरै प्रश्न थिए । बालेनले काम गर्छु भनेर जिते पनि पछिल्लो समय सुस्त भएपछि प्रश्न गर्नु स्वाभाविक थियो । तर, बालेनले भण्डारीकै कमेन्टमा गएर ‘रक्सी खाएर राती राती डिस्टर्ब गर्ने’ भन्दै गैरजिम्मेवार रिप्लाई गरेका थिए ।
त्यसपछि बालेनको आलोचना चुलिएको हो । प्रश्न गर्ने भण्डारीले नै अर्को पोस्टमा बालेनले आफूलाई राजाकै स्वरूप सम्झेको भन्दै काठमाडौँमा भत्काउनेबाहेक के कुरा बनाएको छ ? भन्दै प्रश्न गरेका थिए ।
त्यसमा पनि बालेनले तपाईँको गाउँको मेयरले के गरिरहेको छ ? बुझेको छ ? भन्दै अर्को गैरजिम्मेवार जवाफ दिएर पन्छिने प्रयास गरेका थिए ।
एक कलाकारसँग जुहारी गरेर सबै कलाकारको अपमान गरेको भन्दै अहिले बालेनप्रति सबैभन्दा बढी आक्रोशित कलाकार देखिन्छन् । उनीहरूले एक पछि अर्को गरी बालेनप्रति आक्रोश व्यक्त गर्दै संयमित भएर काम गर्नुपर्नेमा गैरजिम्मेवार बनेकोमा आलोचना पनि गरिरहेका छन् ।
हुन पनि सुरुमा बालेनको क्रेज ह्वात्तै बढेको थियो । तर, पछिल्लो समय सुस्त र गैरजिम्मेवार बनिरहेका बालेनप्रति काठमाडौँबासीको आलोचना बढेको छ ।
आलोचनालाई सामना गर्दै फेरि राम्रो काम गर्नुको साटो पन्छिँदै जाने बालेन प्रवृत्तिमाथि आम मानिस र उनलाई जिताउन लागिपरेका कलाकार नै विरोधमा उत्रिएका छन् । यसले बालेनलाई आगामी दिनमा जटिल त बनाउने छ नै उनको खराब कामको चाप बढे स्वतन्त्र उम्मेदवारी दिएर जितेका जनप्रतिनिधिमाथि पनि धेरै शंका, आशंका र विरोध चुलिनेछ ।
यसको हेक्का बालेनले समयमै नराखे उनीसँगै धेरै स्वतन्त्र मेयर तथा जनप्रतिनिधिको अस्तित्वमाथि पनि प्रश्न उठ्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया