अमेरिकाको सात सहरमा गुञ्जँदै नेपथ्य
काठमाडौँ- नेपालीपनमा रमाउने संसारभरिका श्रोता दर्शकहरूलाई लोकरकका माध्यमबाट जोड्दै आएको अग्रणी ब्याण्ड नेपथ्यले आगामी महिना अमेरिकामा श्रृंखलावद्ध साँगीतिक यात्रा गर्दैछ ।
नेपथ्य छैठौं पटक उसका गीत सुनाउनका लागि अमेरिका जान लागेको हो । ब्याण्डले यो पटकको यात्रामा अमेरिकाको पूर्वी किनारादेखि पश्चिमी किनारासम्म सात वटा फरक-फरक सहरका भब्य मञ्चहरूमा आफूलाई प्रस्तुत गर्ने जनाएको छ ।
सङ्गीत यात्राका निम्ति आगामी साता अमेरिका प्रस्थान गर्न लागेको टोलीले अगस्त ३ तारिखका दिन कोलोराडोको राजधानी डेनभर सहरमा आफुलाई उभ्याउने छ । अग्ला पर्वत, नदी र जंगलहरूले घेरिएको भूपरिवेष्ठित राज्यका रुपमा चिनिने कोलोराडोमा उल्लेख्य संख्यामा नेपालीहरूको बसोबास छ ।
यस स्थानमा नेपथ्यले पहिलोपटक साँगीतिक पाइला टेक्न लागेको हो । डेनभरको छेवैमा पर्ने बोल्डरस्थित ऐतिहासिक महत्वको ‘बोल्डर थिएटर’मा नेपथ्यले यो वर्षको अमेरिका यात्राकै पहिलो कोसेली प्रस्तुत गर्नेछ ।
त्यसपछिको दोश्रो प्रस्तुती अमेरिकाको पश्चिमी तटकै समृद्ध सहर सानफ्रान्सिस्कोस्थित ‘वारफिल्ड थिएटर’मा अगस्त १० तारिखका दिन आयोजना हुनेछ । क्यालिफोर्निया राज्यको यसै सहरस्थित यसै हलमा आठ वर्षअघि पनि नेपथ्यले आफूलाई उभ्याइसकेको छ ।
तेश्रो प्रस्तुतीको निम्ति भने ब्याण्ड ओहायो राज्यको राजधानी कोलम्बसतर्फ प्रस्थान गर्नेछ । त्यहाँस्थित ‘केम्बा लाइभ कन्सर्ट भेन्यू’मा ब्याण्डले अगस्त १७ तारिखका दिन आफूलाई प्रस्तुत गर्नेछ । यो सहर नेपथ्यका लागि पहिलो अनुभव हुनेछ ।
त्यसपछिको चौथो कन्सर्टका लागि ब्याण्ड फेरि अमेरिकाको दक्षिणवर्ती भेगतिर फर्केर टेक्सास राज्य आइपुग्नेछ । उक्त राज्यको सबैभन्दा घना आवादी भएको सहर डालासमा ६ वर्षपछि नेपथ्य फेरि प्रस्तुत हुन लागेको हो । यसपालि ब्याण्डले ‘टोयोटा म्यूजिक फ्याक्ट्री’ मा आफुलाई उभ्याउँदैछ । विशाल एवं भब्य यो आयोजनास्थलमा टेक्सासका नेपाली दर्शकहरूलाई अगस्त २४ तारिखका दिन फेरि पहिलेजस्तै रमाइलो साँझ प्रदान गर्ने अठोट ब्याण्डले लिएको छ ।
त्यसपछि भने ब्याण्ड फेरि उत्तरतर्फ उक्लँदै अमेरिकामा सबैभन्दा बढी प्रस्तुत भएको सहर न्युयोर्कमा पुग्नेछ । अघिल्लापटक जस्तै न्यूयोर्कको म्यानहटनमै प्रस्तुत हुने नेपथ्यले यसपाला भने बेग्लै हल ‘टर्मिनल फाइभ’ मा आफ्ना लोकरक धुनहरू पस्कने छ । त्यहाँ अगस्त ३० तारिख नेपथ्य साँझ आयोजना हुनेछ ।
न्यूयोर्कमा प्रस्तुत भइसकेपछि ब्याण्ड फेरि थोरै दक्षिणतर्फ बढेर मेरिल्याण्ड राज्य पुग्नेछ । त्यहाँ सेप्टेम्बर १ तारिखका दिन ब्याण्डले लाइभ क्यासिनो होटल मेरिल्याण्ड स्थित ‘द हल एट लाइभ!’ को प्रेक्षालयमा आफुलाई प्रस्तुत गर्नेछ ।
यसरी अमेरिकाका फरक फरक सहरहरूमा आफुलाई उभ्याइसकेपछि अन्तिम कन्सर्टका निम्ति नेपथ्य पेन्सिलभानियाको ह्यारिसवर्ग सहर पुग्नेछ । ब्याण्डको लागि यो सहर पनि पहिलो अनुभव बन्ने भएको छ । यसै सहरको ‘द फोरम अडिटोरियम’ मा अमेरिकाको श्रृंखलावद्ध यात्राकै अन्तिम अर्थात् सातौं कन्सर्ट सेप्टेम्बर ७ तारिखका दिन आयोजना हुनेछ । झण्डै सय वर्षअघि यो हल सिम्फोनी अर्केष्ट्रा प्रस्तुत गर्ने उद्देश्यका साथ तयार पारिएको थियो ।
नेपथ्यले सन् २००४ मा फिनिक्स र वासिङटन डिसिमा आफुलाई प्रस्तुत गर्ने उद्देश्यका साथ पहिलोपटक अमेरिका यात्रा गरेको थियो । त्यसपछिका वर्षहरूमा ब्याण्डले न्यूयोर्क, सानफ्रान्सिस्को, लस एन्जलस, एटलान्टा, डालास र बोस्टनमा साँगीतिक प्रस्तुती दिइसकेको छ ।
गत वर्ष मात्रै छेवैको क्यानाडामा श्रृंखलावद्ध साँगीतिक यात्रा गरेको ब्याण्डले अमेरिकामा भने कोभिड महामारीपछि यो पहिलो यात्रा गर्नलागेको हो । अमेरिका यात्राको संयोजन ‘डिजे मोमो इन्टरटेनमेन्ट’ले गरिरहेको छ ।
कलाकार, प्राविधिक र व्यवस्थापन सम्मिलित नेपथ्य टोली अमेरिका यात्राको अन्तिम तयारीमा जुटेको छ । अमेरिकाका सबै कन्सर्टको अनलाइनबाटै सोझै टिकट काट्न सकिने व्यवस्था मिलाइएको छ । त्यसका लागि नेपथ्यको अधिकारिक वेबसाइट www.nepathya.com.np मार्फत् आफ्नो सिट सुरक्षित गर्न सकिने जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया