संगीत

चलचित्र 'आँखा'को ‘खुसी’ गीतमा सुकुम्बासी बस्तीको कथा (भिडियो)

इकागज |
भदौ २१, २०८१ शुक्रबार १२:२० बजे

काठमाडौँ- नेपाली चलचित्र ‘आँखा’को थिम गीत ‘खुसी’ले सामाजिक यथार्थलाई उतारेको छ । दर्शकको मन छुने प्रयास गरेको गीतमा सुकुम्बासी बस्तीमा विवाह गरेर गएकी एक पात्रको संघर्षमय जीवनको कथा प्रस्तुत गरिएको छ ।

यो कथामा स्मिता लामिछाने, आरके मेहता र विजय बरालका केही मर्मस्पर्शी दृश्यहरू छन् । उनीहरूको दृश्यले समाजमा प्रेम, पीडा, र आशाको भावनालाई गहिरो रूपमा उजागर गरेको छ ।


पवन गिरी र मिना सिंहको स्वरले सजिएको ‘खुसी’ गीतमा प्रकाश मल्ल र राम अविरल विष्टका मन छुने शब्दहरू छन् । गीतमा दीपक आरजेको संगीतले विशेष बनाएको छ ।

संगीत निर्मातामा गंगा थापा छन्, जसले यसलाई उत्कृष्ट बनाउन मिक्सिङ र मास्टरिङको काम राजीव एन्ड्रयू श्रेष्ठलाई सुम्पेका छन् । गीतमा इलिन जोआना ओ’नेल थापाको पियानो र सेलो, रोशन पुतवारको बाँसुरी, फोबी श्रेष्ठको भायोलिन, सञ्जय विकेको ध्वनिक गिटार, र गङ्गा थापाको गिटारले संगीतमा विशेष भावनात्मक गहिराइ ल्याएका छन् ।

चलचित्र ‘आँखा’ले सुकुम्बासी बस्ती र सूर्यमुखी फूललाई पृष्ठभूमिमा राखेर समाजको गहिरो चित्रण गर्ने साहसी प्रयास गरेको छ । निर्देशक जोन योन्जनले यस चलचित्रमा कथा, पटकथा लेखन र निर्देशनको भूमिका निभाएका छन् ।

चलचित्रमा स्मिता लामिछाने, आरके मेहता, निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल जस्ता कलाकारहरूको सशक्त अभिनय देख्न पाइन्छ । रोयल भीमसेनको कलात्मक पोस्टर डिजाइन र आरआर फिल्म्सको वितरणले यसलाई अझै विशेष बनाएको छ ।

‘आँखा’ केवल मनोरञ्जन मात्र होइन, समाजको गहिरो संवेदनशीलता र मानवताका असंख्य पक्षहरूको एक अद्भुत प्रस्तुति हो । यसले प्रत्येक दर्शकलाई सोच्न बाध्य बनाउनेछ कि वास्तवमा ‘खुसी’ के हो ?


Author

थप समाचार
x