संगीत

‘बेनीको बजार जता माया उतै छ नजर’ पुनः नयाँ भर्सनमा

इकागज |
असोज २, २०८१ बुधबार १६:२४ बजे

काठमाडौँ - म्याग्दीको सांगीतिक इतिहासलाई पुनः बँचाउने प्रयासस्वरूप चर्चित गीत ‘बेनीको बजार जता माया उतै छ नजर’लाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको छ। म्युजिक नेपालको युट्युब च्यानलबाट मंगलबार सार्वजनिक गरिएको यो गीतमा रामचन्द्र काफ्ले र समीक्षा अधिकारीको आवाज सुन्न पाइन्छ। शब्द र संगीत स्व. टीकाबहादुर श्रेष्ठ र प्रेम बरालले तयार पारेका हुन्।

 बेनी बजारको सांगीतिक गाथा पुनर्जीवित
यो गीत २०१८ सालमा स्व. टीकाबहादुर श्रेष्ठले रचना गरेका थिए । यो गीत उनी र उनको श्रीमती मना छन्त्यालको स्वरमा रेडियो नेपालमा रेकर्ड भएको थियो। यो गीतले बेनीबजारलाई देश–विदेशमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको थियो। गीतको पुरानो सँस्करण २०३१ सालमा पुनः रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड गरिएको थियो। राजु परियार र बीमाकुमारी दुराको स्वरमा पुनः रेकर्ड गरिएको संस्करणले पनि निकै चर्चा बटुल्यो।


म्याग्दी जेसीजद्वारा पुनःनिर्माण
म्याग्दी जेसीजले निर्माण गरेको नयाँ भर्सनको म्युजिक भिडियोले दर्शकलाई पुरानो गीतको सम्झना दिलाउँदै नयाँ ऊर्जा थप्ने प्रयास गरेको छ। भिडियोको निर्देशन डीके चोचाङ्गी पुन मगरले गरेका छन् । जसले म्याग्दीको विभिन्न सुन्दर स्थानहरूमा दृश्य खिचेका छन्। लाहुरे छुट्टीको बेला मेला हुँदै घर फर्किएको कथा समेटिएको यस भिडियोले म्याग्दीको सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ। 

 करिब ४५ कलाकारको सहभागिता
रोशन विश्वकर्माको कोरियोग्राफीमा तयार गरिएको यस भिडिओमा सन्तोष पिठाकोटे मगरको छायांकन र प्रविन भट्टको सम्पादनले भिडिओलाई उत्कृष्ट बनाएको छ। म्याग्दीका करिब ४५ भन्दा बढी स्थानीय कलाकारले यो भिडियोमा नृत्य र अभिनय गरेका छन् । 

 गम्भीर विष्टको उत्कृष्ट प्रस्तुति
मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले मुख्य भूमिकामा नृत्य प्रस्तुत गरेका छन्। सह–कलाकारहरूमा शेखर घर्ती, पविता पुन र देवेन्द्र घिमिरे छन्।  विष्टले यस गीतको कथा र भावलाई जीवन्त बनाउँदै दर्शकको मन जितेका छन्। लामो समयदेखि चर्चित कोरियोग्राफर र निर्देशकको रूपमा सक्रिय रहेका विष्टको यस भूमिकामा विशेष रूपमा प्रशंसा गरिएको छ।

बेनीबजार, गलेश्वर र लभ्लिहिलमा छायांकन गरिएको म्युजिक भिडियोमा रघुगंगा गाउँपालिका-७, चिमखोलाबाट सुरुआत भएर पछिल्लो समय लोकप्रिय बनेको थाली नाचलाई समेत समावेश गरिएको छ ।

हेर्नुहोस् भिडियो

 


Author

थप समाचार
x