‘बस है पियारी’ : खुसी किन्न बिदेशिन बाध्य नेपालीको कथा
पोखरा- खुसी किनेर पाईन्छ ? सायद पाइँदैन । तर खुसी किन्ने बहानामा वर्षेनी थुपै्र नेपाली युवाहरू विदेशिन्छन् । थुप्र्रै बाध्यताहरूले नेपाली युवालाई विदेशिन बाध्य पार्छ । विदेश जाने प्रत्येक युवाहरूको आफ्नै कथा छ, व्यथा छ अनि बाध्यता छ ।
नेपालीहरू दसैँलाई महान चाडको रुपमा मनाउँछन् । वर्षौँैदेखि विदेशिएका नेपालीहरू दसैँ मान्न बिदा मिलाएर सकेसम्म घर फर्कन्छन् । तर कतिपय युवाहरूको बाध्यता यस्तो छ कि, उनीहरू दसैँ मान्न छाडेर विदेशिनुपर्ने हुन्छ । चाडवाडको बेलामा घरपरिवारसँग बसेर रमाइलो गर्न छाडेर विदेशिनु पर्दाको पीडा पक्कै पनि नमिठो हुन्छ ।
यस्तै कथालाई टपक्क टिपेर गीतकार आकाश दाहालले गीत कोरे–‘बस है पियारी, घरबारै स्याहारी’ । गायक तथा संगीतकार सन्तोष बस्यालले धुन भरेर गीत गाए । सोही गीतमाथि निर्देशक नेत्र गुरुङले भिडियो बनाए । गीतको भिडियोमा अभिनेत्री सोफी धरेलसँगै गीतकार दाहाल आफै फिचर्ड छन् । भिडियोलाई दिपेश केसीले खिचेका हुन् ।
वैदेशिक रोजगारीमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई मुख्य विषय बनाएर बनेको गीतको भिडियो केही दिनअघि जक्सन टिभीको अफिसियल युट्युबमार्फत सार्वजनिक भएको छ । फुलपातीको साइत पारेर पोखरामा एक विशेष कार्यक्रमको आयोजना गरी गीतको भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक भिडियोलाई गतिलो प्रतिक्रिया मिलेको छ । मिडियाकर्मीमाझ गरिएको प्रिमियरमा सहभागीले गीत र भिडियोलाई रुचाए । ‘यो गीतले साँच्चै मन छुन्छ । हरेक नेपाली घरको कथा बोल्छ । अडियो मेकिङका हिसाबले पनि गीत उत्कृष्ट छ ।’ गीतमाथि आफ्नो धारणा राख्दै गायक तथा संगीतकार विनोद बानियाँले भने–‘गीतलाई स्रोता अनि दर्शकहरूले पनि निकै रुचाउने विश्वास लिएको छु ।’
त्यस्तै कलाकार तथा फिल्म निर्देशक माओत्से गुरुङले भिडियो र गीतको उत्कृष्ट ‘कम्बिनेसन’ भएकै कारण ‘बस है पियारी’ दर्शक अनि स्रोताको मनमा बस्ने बताए । ‘पोखराबाट पनि यो लेभलको काम हुन्छ भन्ने प्रमाणित भएको छ । गीत अनि भिडियोको मेकिङ लेभल पनि उत्कृष्ट छ ।’ गुरुङले भने–‘यसले पोखराको कला क्षेत्रलाई अगाडि बढाउन अझै बढि मद्दत पुग्ने निश्चित छ ।’
जक्सन म्युजिकको सुरुवात
पोखराको संगीत क्षेत्रलाई व्यवसायिक बनाउँदै यहाँका संगीतकर्मीहरूलाई कलाको उचित मूल्य दिने उद्देश्यसहित नयाँ म्यूजिक कम्पनी सुरु भएको छ । जक्सन ग्रुप प्रालिले ‘जक्सन म्युजिक’ नामक युट्युब च्यानलको लञ्च गर्दै यसको जानकारी दिएको हो ।
संगीतको उर्वर भुमी मानिने पोखरामा थुप्रै संगीतकर्मीहरूले कर्म गरेपनि व्यवसायिक हुन भने नसकेको आरोप लाग्ने गरेको छ । ‘पोखराबाटै बन्ने थुपै्र गीत र भिडियोहरू सार्वजनिक गर्ने व्यवसायिक प्लेटफर्मको अभाव हुँदा यहाँका संगीतकर्मीहरूले काठमाडौँको प्लेटफर्म प्रयोग गर्नुपर्ने बाध्यता छ । यहि बाध्यतालाई केही कम गर्न भएपनि हामीले प्रयास गरेका हौँ ।’ जक्सन ग्रुपका प्रबन्ध निर्देशक अरुण गिरीले भने–‘बस है पियारीबाट हामीले सुरुवात गरेका छौँ । आगामी दिनमा यहाँका अन्य संगीतकर्मीहरूसँग पनि सहकार्य गरेर अगाडि बढ्नेछौँ ।’
जक्सन ग्रुपले हाल जक्सन डटकम संचालन गर्दै आएको छ । ‘न्यूज, इभेन्ट्स एन्ड इन्टरटेनमेन्ट’ थिममा संचालित कम्पनीले इन्टरटेनमेन्ट सेक्सनअन्तर्गत ‘जक्सन म्युजिक’ लञ्च गरेको हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया