'मन बूढाे भएन' भन्दै गायक भए राजेश हमाल
काठमाडौं- महानायक राजेश हमालको स्वरमा रहेको गीत ‘मन बुढो भएन’को भिडिओ रिलीज गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भिडिओ रिलीज गरिएको हो । गीत हमालले गाएको पहिलो गीत हो । गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ ।
गीतमा हमालको साथमा गायक सुवास पुरी तथा गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलको स्वर रहेको छ । देवेन्द्र पाण्डेले निर्देशन गरेको यस गीतको भिडिओमा हमालसँग रेश्मा घिमिरेले अभिनय गरेकी छन् । उत्सव दाहालले छायांकन गरेको भिडिओलाई विकास दाहालले सम्पादन गरेका छन् ।
चलचित्र करिअरको तीन दशकपछि आएर हमालले गीत गाएका हुन् । केहि चलचित्रहरुका गीतमा आवाज दिएको भएता पनि सुरमा रहेर गाएको यो नै पहिलो भएको हमालले बताए । संगीतकार दीपक शर्माले दिएको हौसलाले आफूले यो गीत गाउन सफल रहेको उनको जिकिर थियो । कार्यक्रममा हमालले आफ्नो स्कुले जीवनमा गाउने गीत सम्झना गरे ।
‘विद्यालयमा संगीतको कक्षा हुँदा म अगाडिको सिटमा बस्थें । त्यो बेला सर, मिसहरुले मलाई गीत गाउनका लागि भन्नुहुन्थ्यो र म गीत गाउँथे । मैले कक्षा ५, ६ मा पढ्दा राम्रै गीत गाउँथे । तर त्यसपछि के कारणले हो गीत गाउनै सकिएन’, उनले बताए । कुनै संगीतकारले विश्वास गरे आफूले अन्य गीत गाउन तयार रहेको पनि उनले बताए ।
गीतको शीर्षक सम्बन्धित प्रश्नमा हमालले आफूलाई जिस्क्याउने गीत बनेको बताए । ‘उमेर आफ्नो रफ्तारमा गईरहेपनि मन बूढो भने कहिल्यै हुँदैन । यो गीतको पोस्टर सेयर गरेपछि उमेर धेरै भएका शुभचिन्तकहरुले हौसला मिलेको बताउनुभयो । मलाई पनि लाग्छ मन बूढो कहिल्यै हुँदैन’, उनले भने, ‘आफ्नो उमेर घटाएर कहिल्यै घट्दैन तर उमेरभन्दा बढी नदेखिन आफ्नो जीवनशैली मिलाउनै पर्छ’ ।
अभीनेत्री रेश्मा घिमिरेले हमालसँग काम गरिसकेपछि आफ्नो जीवन मोडिएको बताईन् । भनिन्, ‘यदि मैले उहाँको जस्तै जीवनशैलीलाई लगातार अँगाल्न सकेँ भने मैले राम्रो जीवन बाँच्नेछु’ । एक दिनमा नै आफूले हमालबाट धेरै कुरा सिकेको उनले बताइन् ।
संगीतकार दीपक शर्माले राजेश हमालको स्वरबाट आफू प्रसन्न रहेको बताए । हमालसँग काम गर्न पाउनु अवसर र चुनौती दुवै रहेको उनले बताए । यस अघि हमालसँग चारवटा म्यूजिक भिडियोमा काम गरिसकेका निर्देशक देवेन्द्र पाण्डेले हमाललाई यो गीतमा अरुभन्दा फरक तरिकाले अभिनय गराएको बताए ।
गायिकाद्वय एलिना चौहान र बेनिशा पौडेलले हमालको स्वरमा रहेको गीतमा आफूले पनि गाउन पाउनु भाग्यले पाएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया