संगीत

स्टारले खेलेको म्युजिक भिडियोमा हैन मेलोडीमा छन् दर्शक

इकागज |
कात्तिक २२, २०७८ सोमबार ९:५१ बजे

काठमाडौँ- म्युजिक भिडियोमा बीचका दुई चार वर्षमा अभूतपूर्व लगानी बढेको छ । दिनमै आठ–दस गीत रिलिज हुन्छन् । र ती गीतमा औसतमा ५ देखि ३६ लाखसम्म लगानी भएका उदाहरण छन् । तर, पैसा पानी सरी बगाएकै भिडियोमा दर्शकको खडेरी छ । 

 तीन हप्ताअघि निकै अपेक्षाका साथ भारतीय गायक मिका सिंहको ‘बोतलको बिर्को’ बोलको गीत रिलिज भएको थियोे । भिडियोमा थिए अहिलेका चल्तीका मोडल पल शाह र दुर्गेश थापा । त्यतिले नपुगेर यो पटक आर्यन सिग्देल पनि थपिएका थिए ।


विभिन्न क्लबमा खिचिएको यो भिडियोमा निर्माताले ३६ लाख खर्च गरेको चर्चा छ । तर, तीन हप्तामा यो गीत जम्मा ७ लाखले हेरेका छन् । यदि हेरेको समय र भ्युजको गणना गरेर यसले युट्युबबाट कमाएको पैसा हिसाब गर्ने हो भने निर्माताले यो गीतबाट मुस्किलले २५ हजार हात पार्छन् ।

यो अनुपातमा हेर्दा निर्माताको ३५ लाख ७५ हजार बालुवामा पानी हाले बराबर भएको मान्न सकिन्छ । हिन्दी गीतको ठाडो नक्कल गरिएको यो गीतले न निर्मातालाई फाइदा दिलायो न गायक गायिकालाई । न त आफूलाई स्टार ठान्ने मोडललाई । 

यो कथा ‘बोतलको बिर्को’को मात्र हैन, अहिले स्टार भनिएको मोडल खेलेका सबैको हो । एकै दिनमा सकिने म्युजिक भिडियोमा एकै खालको स्टेप गरेर डेढ लाख डिमान्ड गर्ने मोडलका गीतले १० लाख भ्युज पाउन निकै सकस हुन थालेको छ । यो अवस्था ३० दिनमा ३० दिन नै म्युजिक भिडियोमा देखिने पल शाहसँगै पूजा शर्मा, आकाश श्रेष्ठ, दुर्गेश थापाको पनि छ । 
स्टार हैन मेलोडी चल्छ 
गएको १ महिना यता ३ गीतले चर्चा पाएका छन्, रमरम मरौटी , कालो केशमा रेलिमई र लाहुर जाने रेल । यी तीनै गीतमा ठूला स्टार छैनन् । रमरम मरौटीमा पूजा शर्मा छिन् तर यो गीतका मेल मोडल ओबी रायमाझी यसअघि उति चलेका मोडल होइनन् । १ महिना छेउछाउ रिलिज भएको यी तीनै गीत दर्शकले रुचाएका छन् । रमरम मरौटी करोड छेऊ पुगेको छ भने कालो केशमा रेलिमई ५० लाख छेऊ । त्यसैगरी तीन हप्ताअघि नै रिलिज भएको लाहुर जाने रेलले ६० लाख हाराहारी दर्शक पाएको छ । 

१ महिनाको अवधिमा चलेका यी तीनै गीतको विशेषता समान हो, यिनमा ठूला स्टार छैनन् तर संगीत र भिडियो निर्माणमा मेहनत छ । रमरम मरौटीको भिडियोलाई उति धेरै अंक दिन मिल्दैन तर यसको मेलोडी र शब्द रचनामा नयाँपन छ । बाँकी दुई गीतको भने संगीत जति राम्रो छ भिडियो उति नै नैनसुखदायक । स्टारहरुले खेलेको भिडियोको लगानी जति हुन्छ सम्भवतः यी गीतमा त्यसको एक भाग पनि खर्च भएको छैन । 

एक म्युजिक भिडियो निर्देशकले इकागजलाई बताएअनुसार स्टार कलाकारलाई म्युजिक भिडियोमा लिनुको खर्च, उनीहरुले लिने पैसामा मात्र सीमित छैन । त्यो गीतको भ्युज बढाउन गर्नुपर्ने खर्चको हिसाब पनि छुट्टै हुन्छ । स्टार मोडलले आफूले खेलेको गीतमा ५ लाखसम्म भ्युज किन्न पर्ने, टिकटकरलाई गीत प्रमोसनका लागि पैसा दिनुपर्नेसम्मका सर्त पनि अघि राख्ने गरेको ती निर्देशक बताउँछन् । 
कमजोर कम्पोजर 
म्युजिकमा यति बिघ्न लगानी सायदै पहिले कहिले भित्रिएको थियो । तर यो समयमा भित्रिएको लगानी संगीत क्षेत्रले एउटा गतिलो गीत नपाई सकिएको छ । यो समय बनेका केही गीत केही समय टिकटकमा चले पनि मनमा लामो समय चल्ने सम्भावना कमै छ । 

संगीतमा भित्रिएको यो लगानीको सबैभन्दा बढी फाइदा म्युजिक कम्पोजरले लिन सक्थे तर अहिलेको समयमा यही कोही सबैभन्दा कमजोर छन् भने ती संगीतकार नै हुन् । अझ यसमा पनि स्थापित संगीतकारले त भिडको हिस्सा हुनुबाहेक एउटा पनि गतिलो गीत नदिएको संगीत क्षेत्रमा चर्चा हुने गरेको छ ।

स्टार रिझाउन लागि परेका उनीहरुले बिर्सन लायक गीत संगीत क्षेत्रमा थुपारेका छन् । संगीतकार यतिसम्म कमजोर भएका छन् कि अब उनीहरुलाई आफूलाई स्थापित गराउन आफ्नो संगीतमा भरोसा छैन, राजेश हमालको बूढो र बेसुरा स्वरमा भरोसा छ । चर्चाको लोभमा अगायकलाई गायक बनाउने होड चलेको छ जबकि स्वर साधना गरेका निशान भट्टराई, सुमित पाठक, प्रविन बेडवाल जस्ता गायक फुर्सदमा छन् । 

महामारीको समयमा आएको लगानीले संगीत क्षेत्रले धेरै कालजयी गीत सिर्जना गर्ने अवसर दिएको थियो तर संगीतकार, रचनाकार र गायक गायिका संगीतको हैन पल शाह, आकाश श्रेष्ठ, पूजा शर्मा, आँचल शर्माको भरमा नेपाली संगीतले आकर्षण हैन विकर्षण गर्न थालेको छ । लाखौँ खर्च गरेका भिडियो र भयंकर चलेका मोडल राख्दा पनि दर्शकले यस्ता गीत क्लिक पनि नगर्नमा यिनै पक्ष जिम्मेवार छ्रन् । संगीतकर्मीले यो तथ्य चाँडोभन्दा चाँडो बुझेको राम्रो । 


Author

थप समाचार
x