संगीत

म्युजिक नेपालले ल्यायो म्युजिक एप

इकागज |
कात्तिक ४, २०७७ मंगलबार १०:५० बजे

काठमाडौं : म्युजिक नेपालले एनसेल र न्यू आइटी भेन्चरको सहकार्यमा नेपाली गीत संगीतका पारखीहरूका लागि विश्वस्तरिय एप ल्याएको छ । एण्ड्रोइड र आइओएस दुवै थरि मोबाइल फोनमा चलाउन सकिने यस एपको हाइपरलिंक एन्ड्रोइड र आइओएस रहेको छ ।

यस एपमार्फत प्रयोगकर्ताहरूले लोकदोहोरी, आधुनिक, पप, नेपाली फिल्म, भाषाभाषीलगायत कुनै पनि विधामा अहिलेका चर्चित, लोकप्रिय गीतहरू मात्र नभई पुराना सदाबहार नेपाली गीतहरू पनि २४ सै घण्टा सुन्न सक्नेछन् । त्यति मात्र नभई आफ्नो रूची अनुसारका गीतहरू छान्न, सूची बनाउन र संग्रहित गर्न सकिनेछ । आफूले सुन्न मन पराउने गीतका बोल पनि देख्न सकिने तथा फेसबुकमार्फत् साथीभाइसँग सेयर गर्न सकिने प्रावधान पनि यस एपमा रहेको छ ।


कलाकारको प्रवर्द्धनका लागि समर्पित यो एपमार्फत् उनीहरू असंख्य श्रोताहरु माझ पुग्न सक्ने र स्रोताहरूले पनि आफ्नो रोजाइका कलाकार र उनीहरूका नयाँ गीत बिना झन्झट सुन्न सक्ने म्युजिक नेपालले बताएको छ । विश्वका अरु थुप्रै मुलुकका कलाकारहरूले व्यावसायिक रुपमा उठाइरहेको फाइदा अब म्युजिक नेपालको माध्यमबाट नेपाली कलाकारले पनि उठाउन सक्ने भएको हुनाले यसलाई एउटा महत्वपूर्ण उपलब्धि मान्न सकिने म्युजिक नेपालले जनाएको छ ।

दसैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा एक महिनासम्म निशुल्क गरिएको यो  एप एनसेलका करीब १ करोड ६३ लाख ग्राहकहरुका लागि मात्र उपलब्ध गराइएको छ । एनसेलका कुनै पनि ग्राहकले यो एप डाउनलोड गर्ना साथ ३० दिनको लागि निःशुल्क प्रिमियम सेवा उपभोग गर्न सक्नेछन् । एप डाउनलोड गर्दा कुनै शुल्क लाग्नेछैन तर डेटा शुल्क भने प्रयोगकर्ताको योजना अनुसार  लाग्न सक्नेछ । एप प्रयोग गरेको पहिलो ३० दिन कुनै शुल्क लाग्दैन । त्यसपछि प्रति दिन तीन रुपैंयाँ, प्रति हप्ता १५ रुपैंयाँ वा प्रति महिना ५० (कर बाहेक)मा असीमित संगीत सुन्न सकिनेछ ।


Author

थप समाचार
x