‘देउरालीका ठिटी हो’ गाउने गायक कुमार सुब्बाको निधन
काठमाडौँ -
मेरो स्वरमा झोपडी र दरबारको कथा
सुनाइहिँड्छु लडाइँ र पिरतीको व्यथा
फूल रोए शीत बन्छ मैले रोए गीत
सारङ्गीको धुनमात्र गाइनेको जित ।
गरिब दुःखीका पीडा बोल्ने गीतमा लय दिएर चर्चित बनेका गायक कुमार सुब्बाको निधन भएको छ । मुटुको रोगका कारण लामो समयदेखि उपचाररत उनको शनिबार सिलगुढीमा निधन भएको हो । दार्जिलिङको लेबोङको हर्सिङहट्टामा बसोबास गर्दै आएका सुब्बा उपचारको क्रममा सिलगुढीमा थिए ।
सन् १९६८ देखि वरिष्ठ गायकका रूपमा आकाशवाणी खर्साङमा काम गरेका सुब्बाले मनबहादुर मुखियाको चर्चित नाटक ‘अनि देउराली रुन्छ’मा दुई गीत गाउँदै नेपालमा सांगीतिक यात्रा सुरु गरेका थिए । नाटकमा रहेका दुई गीतबाहेक एक गीत थपेर रत्न रेकर्डिङ संस्थानमा रेकर्ड भएका गीत चर्चित बनेपछि उनी स्रोताको ओठमा झुण्डिन सफल भएका थिए ।
सो समयमा उनले ‘हे फूल चुँडेर लाने हो’ र ‘देउरालीका ठिटी हो, नक्कल पार्नुपर्दैन’ नाटकका लागि गाएका थिए भने उसबेलाका संस्थानका अध्यक्ष बच्चु कैलाशले सुब्बाका गीत मन पराएपछि ‘सारंगीको तार’ समेत गरी तीन गीत रेकर्ड भएका थिए ।
‘सम्हाल पछ्यौरी त्यो लत्रिसक्यो भुँइमा’ र ‘कति बुझाऊँ यो दुनियाँलाई, कति भिजाऊँ यी आँखालाई’कुमार सुब्बाले सर्वप्रथम रेकर्ड गरेका गीत हुन् । यी गीतलाई सुब्बाले कलकत्ताको एचएमभीमा गएर रेकर्ड गराएका थिए ।
‘जुनीभरि आर्जेको कमाइहरूलाई’ ‘तेरो माटोभरि म फालेर जान्छु’ आदि कालजयी गीतका गायक सुब्बाका एक श्रीमती दुई छोरी र एक छोरा छन् ।
रेडियो नेपाल, आकाशवाणी खरसाङ, गान्तोक र गुवाहटी गरेर उनले पाँच सयभन्दा बढी गीत गाएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया