निल योङको संगीत किन हटाउँदैछ स्पटिफाई ?
संगीत स्ट्रिमिङ प्लेटफर्म स्पटिफाईले क्यानेडियन पप स्टार निल योङको संगीत हटाउने प्रक्रिया सुरु गरेको छ । ७६ वर्षीय गायक निलले कि त कमेडियन जोय रोगनको पडकास्ट हटाउनु पर्ने नभए आफ्ना गीत हटाउनु पर्ने सर्त राखेपछि स्पटिफाईले पहिलो विकल्प रोजेको हो । उसले जोय रोगनको पडकास्ट हटाउनुको साटो निल योङका गीत हटाउने निर्णय लिएको हो ।
निलले जोय रोगनले आफ्ना पडकास्टमार्फत कोभिड १९को विषयमा भ्रम फैलाएको आरोप लगाएका हुन् । उनको अडान थियो, ‘कि उनीहरूले योङ राख्न पर्र्यो कि रोगन ।’योङको चेतावनीमा दुःख व्यक्त गर्दै स्पटिफाईले उनी चाँडै फर्कने आशा व्यक्त गरेको छ ।
योङले कोभिड १९ को भ्याक्सिनका सम्बन्धमा रोगनले फैलाइरहेको भ्रमको स्पटिफाई पनि साझेदार भएको भन्दै प्लेटफर्मको आलोचना गरेका हुन् । रोगनले भ्रम फैलाइरहेको भन्दै पहिला पनि धेरैचोटि प्रमाणित भइसकेको छ । योङले अहिले हटाइसकेको पोस्टमा भनेका छन् , ‘स्पटिफाई पछिल्लो समय महामारी सिर्जित समस्यालाई सामान्यीकरण गर्नमा संलग्न भइरहेको छ । यसैले म यो अपराधमा सामेल हुन सक्दिन ।’
योङको स्पटिफाईमा ७ लाख हाराहारी फ्लोवर छन् । उनले आफ्ना धेरै गीत वार्नर ब्रोजको लेबलबाट सार्वजनिक गरेका हुन् । उनले आफ्नो निर्णयमा साथ दिएकोमा वार्नर ब्रोजलाई पनि धन्यवाद दिएका छन् । उनले लाखौँ रुपैयाँको क्षति हुँदा पनि वार्नर ब्रोजले दिएको साथ विशेष रहेको उल्लेख गरेका छन् ।
‘झुट पैसाका लागि बिक्री भइरहेको छ,’ उनले भनेका छन्, ‘कलाकार सबैले स्पटिफाईबाट आफ्नो सिर्जना निकालेर यो भ्रम बेच्नबाट रोक्नुपर्छ ।’रोगन विरुद्ध योङको विरोध पहिलो पटक भने होइन । उनले आफूलाई कोभिड भएको बेला नशालु पदार्थ सेवन गरेर ठीक भएको हल्ला चलाएका थिए ।
योङबाहेक २ सय ७० जना वैज्ञानिक र स्वास्थ्य विज्ञले स्पटिफाईलाई गलत सूचना जारी गर्ने काममा संलग्न नहुन चिठ्ठी लेखेका थिए । जवाफमा स्पटिफाईका मुख्य कार्यकारी अधिकृतले आफूहरूको काम आएका सिर्जना प्लेटफर्ममा राख्ने भएको र योभन्दा पर गएर सर्जकलाई ‘यो गर या नगर’ भन्ने अधिकार आफूहरूसँग नभएको बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया