९२ वर्षमा ‘दिदी’ लता मंगेशकरको निधन
काठमाडौँ - ‘दिदी’ नामले विख्यात भारतीय गायिका लता मंगेशकरको निधन भएको छ । जनवरीको पहिलो सातादेखि बिरामी रहेकी लताको आइतबार बिहान सवा ८ बजे सिटी हस्पिटलमा निधन भएको भारतीय सन्चार माध्यमले जनाएका छन् ।
उनलाई कोभिड पोजेटिभसँगै निमोनिया भएको थियो । जनवरीको अन्तिम हप्ता उनलाई भेन्टिलेटरबाट निकालिएको थियो । शनिबार उनको अवस्था झन् खराब भएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । लताले १३ वर्षको उमेरदेखि गाउन सुरु गरेकी थिइन् ।
उनको पहिलो गीत सन् १९४२मा रेकर्ड गरिएको थियो । सात दशक लामो सांगीतिक यात्रामा उनले ३० हजार बढी गीत रेकर्ड गरेकी थिइन् । उनले नेपालीसँगै भारतका सबै भाषामा गीत गाएकी छिन् ।
लताले दादासाहेब फाल्के, पदमभूषण, पदम विभूषणसँगै फ्रान्सको नागरिक सम्मान पनि प्राप्त गरेकी छिन् । ५ जना सन्तानमध्ये जेठी लताका दुई बहिनी आशा भोस्ले र उषा मंगेशकर पनि गायनमा जमेका नाम हुन् । थुप्रै नेपाली गीतमा स्वर दिएकी लताले पछिल्लो समय भने रामकृष्ण ढकालसँग ‘बाँचुन्जेलीलाई’ गीतमा आवाज दिएकी थिइन् । लता मंगेशकर अविवाहित थिइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया