झापाकी कृपालाई पहिलो ‘सारेगमप लिटल च्याम्प’को उपाधि
काठमाडौँ - ‘सारेगमप लिटल च्याम्प नेपाल’को पहिलो उपाधि झापाकी कृपा पौडेल जितेकी छन् । सोको फस्ट रनर अप पनि झापाकी रोशा फुयाल, दोस्रो रनरअप भारत सिलगुडीका आदित्य विश्वकर्मा भएका छन् । रोशा र आदित्यलाई उछिनेकी कृपाले विजेता बनेसँगै नगद १५ लाख जितेकी छन् । पहिलो र दोस्रो रनरअपले क्रमश ४ लाख र ३ लाख प्राप्त गरेका छन् ।
नोबडी प्रोडक्सनले भारतको जी ग्रुपसँग फ्रेन्चाइज लिएर नेपाल भित्राएको रियालिटी सोको अन्तिम प्रतिस्पर्धासम्म पुगेका पर्वतका अरुण परियार र भक्तपुरकी अविक्षा घिमिरे पनि खाली हात भने भएनन् । कार्यक्रमको अन्तिम पाँच प्रतिस्पर्धीलाई ३ र ३ वटा गीत रेकर्ड तथा म्युजिक भिडियो, नेपालका साथै वल्र्ड टुर तथा कक्षा १२ सम्मको अध्ययनको व्यवस्था आयोजकले मिलाउने छ ।
कार्यक्रमको डिजिटल र फिजिकल अडिसनमा देश विदेशका ३० हजारभन्दा बढी प्रतिस्पर्धी सहभागी भएका थिए । सहभागी मध्येबाट मेगा अडिसनमा छानिएका ६० जनाबाट ग्रान्ड अडिसनमा ३५ जना र ग्रान्ड प्रिमियरमा १५ जना पुगेका थिए ।
कार्यक्रमको निर्णायकमा न्ह्यु बज्राचार्य, कालिप्रसाद बासकोटा र इन्दिरा जोशी रहेका थिए । त्यस्तै १५ जना चर्चित गायक गायिका ग्रान्ड जुरीका रुपमा भूमिकामा थिए । १६ वर्ष मुनिका बालबालिका मात्रै सहभागी हुन पाउने रियालिटी सो १८ हप्ता चलेको थियो । कार्यक्रममा नेपालका चर्चित व्यक्तित्वले प्रस्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया