मधुबाला, नरगिस, मीनाकुमारी, जया, काजोल मेरो स्वरमा सुहाउँछन्
लता मंगेशकरको जीवनी समेटिएका दर्जनभन्दा बढी पुस्तक भारतमा प्रकाशित भएका छन् । यसमध्येको एउटा चर्चित जीवनी थियो, लन्डन बसोबास गर्ने नासिर मुन्नी कबिरले लेखेको ‘लता मंगेशकर ः इन हर वोन भ्वाइस’ । सन् २००९ मा प्रकाशित यो किताबमा लेखकले लताको बाल्यकालदेखि उस समयका समसामयिक विषयमा पनि कुरा गरेका छन् । आइतबार बिहान ‘लताअघि लेट’ थपिएकी लता मंगेशकरसँग नासिरले गरेको कुराकानीको मुख्य अंश यहाँ अनुवाद गरिएको छ:
नासिर : शाहरूख खानले एउटा इभेन्टमा गुनासो गरेका थिए कि तपाईंले उनका लागि कहिलै गाउन पाउनु भएन ? मीनाकुमारीपछि क–कसका लागि गाउनुभयो ?
लता : अहिले मलाई सम्झना भएका नाम हुन्, वहिदाजी, निम्मीजी, नन्दा, साधना, शर्मिला टैगोर, सायराजी, माला सिन्हा र हेमा मालिनी । उनीहरू गीतको दुरुस्त नक्कल गर्थे । यो देख्दा मैले गीतमा दिएको एक्सप्रेसन पर्दामा उसै गरी आएको देख्दा सन्तुष्टि हुन्थ्यो । मलाई ‘गुड्डी’मा जया बच्चनको काम राम्रो लागेको थियो । उनले ‘अनामिका’को ‘बाहो में चले आओ’ गीत राम्ररी नक्कल गरेकी छिन् । अहिलेको पुस्तामा काजोल र रानीले पनि राम्रो गर्छन् । अर्को प्रतिभाशाली करिष्मा कपुर पनि हुन् ।
नासिर : तपाईंले एउटै परिवारको तीन पुस्ताका लागि गीत गाउनु भयो, शोभना सामथ्र्य उनका छोरीहरू नुतन र तनुजा । यसपछि फेरि तनुजाकी छोरी काजल । को अभिनेत्रीसँग तपाईं नजिक हुनुहुन्थ्यो ?
लता : धेरैसँग थिएँ भन्न सकिन्न । म नरगिस र मीनाकुमारीसँग आत्मीय महसुस गर्थेँ । हाम्रो कुराकानी पनि मिल्थ्यो । उनीहरू बडा मजाले कुरा गर्थे । घाघरा र सारी पनि कस्तो मज्जाले लगाउने । एक चोटि म नरगिसको घर गएकी थिएँ । सानदार तरिकाले बसेकी थिइन् । मीनाकुमारीको जीवन दुःखद् थियो । तर भेट्दा तपाईंलाई कहिलै पनि लाग्दैनथ्यो कि उनी दुःखी छिन् । मलाई निम्मीजी, सुलोचना, वहिदा रहमान र रेखा पनि असाध्यै मनपर्छ ।
नासिर : कुनै अभिनेत्री थिए जसले तपाईंलाई मेरा लागि गाऊ भनेर कर गरे ?
लता : मधुबाला पहिलो अभिनेत्री थिइन् जसले मेरा लागि गाउनुपर्छ भनेर भन्थिन् । उनले त आफ्नो सम्झौतामा पनि मैले अभिनय गर्ने गीतमा लताको आवाज हुनुपर्छ भनेर उल्लेख गरेकी थिइन् । मधुबाला मर्लिन मुनरोबाट प्रभावित थिइन् । म सुन्थेँ, अरु अभिनेत्रीले पनि भन्ने गरेका छन् । यस्तो चाहिँ हिरोको पनि माग हुन्थ्यो । जस्तो राज कपूरलाई सधैँ मुकेश नै चाहिने । दीलिप कुमारलाई रफी, देव आनन्दलाई किशोर कुमार चाहिने । यसरी एउटै गायकको आवाज हुँदा दर्शकले पनि हिरोले नै गाएको जस्तो महसुस गर्थे ।
नासिर : गीत छायांकन भएर आएपछि जीवन्त हुन्छ र यसका लागि अनेक कुरा जिम्मेवार हुन्छन् । तपाईंले काम गरेकामध्ये कुन निर्देशकमा संगीतको बुझाइ गहिरो थियो र गीतले कसरी काम गथ्र्यो ?
लता : गुरु दत्त र विजय आनन्द गज्जब थिए । मैले गुरु दत्तका लागि धेरै गीत गाउन पाइनँ तर उनले जसरी गीत छायांकन गर्थे यसले के देखाउँथ्यो भने उनले हरेक शब्दलाई महत्व दिन्थे । मलाई विजय आनन्दको तरिका पनि मन पथ्र्यो ।
नासिर : अरु कुन निर्देशकले पर्दामा सम्झनयोग्य गीत बनाए ?
लता : राज कपूर । उनको संगीतको समझ राम्रो थियो । उनले संगीत निर्देशकलाई यो लाइन यसरी खिच्छु, यहाँनिर कट गर्छु, मेरो क्यामरा यहाँ हुन्छ भनेर व्याख्या गर्थे । उनलाई सिनेमामा गीत कसरी आउँछ भन्ने थाहा हुन्थ्यो । उनको फिल्मका गीत लोभ लाग्दा हुन्थे ।
मेहबुब साहब पनि संगीतको पारखी नै हो । तर अलि पुरानो स्टाइलले छायांकन गर्ने ।
नासिर : विमल रोयको फिल्मका गीत पनि फिल्मको कथासँग एकाकार हुन्थे । उहाँसँग केही छलफल हुन्थ्यो ?
लता : मैले कहिल्यै पनि प्रत्यक्ष रुपमा उहाँसँग कुरा हुन पाएन । उहाँ उसबेला बंगाली बोल्नुहुन्थ्यो र म मुस्किलले बुझ्थेँ । रेकर्डिङमा जाँदा उहाँ कुर्सीमा बसिरहनु भएको हुन्थ्यो । ‘नमस्कार, कस्तो छ तपाईंलाई ? सब ठीक ?’ योभन्दा बढी केही कुरा हुन्नथ्यो । मलाई उहाँका फिल्म राम्रा लाग्थे, चाहे गीत ठीक हुन् कि नहुन् । भएमध्ये राम्रा निर्देशक लाग्थे मलाई ।
नासिर : गुल्जार साहेब गीतकार, कवि, लेखक निर्देशक, निर्देशकको रुपमा उहाँको कामलाई कसरी हेर्नुभएको छ ?
लता : उहाँ बिल्कुलै फरक निर्देशक हो । मलाई उनका गम्भीर हुन् कि कमेडी सबै फिल्म राम्रा लाग्थे । खासगरी ‘अंगूर’ । तर गुल्जार जिद्दी मान्छे हुन् । जे पनि आफूले भने जस्तै गर्नपर्ने । तर यति गरेर पनि राम्रै चिज दिने । हृषिकेश मुखर्जी पनि मन पथ्र्यो मलाई । उनलाई पनि गीत कसरी प्रयोग गर्ने थाहा थियो । उनलाई सितार मनपथ्र्यो र शास्त्रीय संगीतको ज्ञान थियो ।
नासिर : तपाईंले ९० को दशकदेखि कम गाउन थाल्नुभयो । तर यही बेलादेखि सतहमा आएका मणिरत्नमु, सुरज बडजात्या, आदित्य चोपरा, करण जौहर, सञ्जयलीला भन्साली, आशुतोष गोवारिकर, राकेश मेहरा, यी सबै तपाईंलाई सिनेमामा गवाउन चाहन्छन् ?
लता : मैले उनीहरू सबैका लागि गाइसकेँ । मलाई उनीहरूको काम मनपर्छ । आदित्य चोपडाका फिल्म मन पर्छन् । उसले गीतको सिचुएसन मज्जाले व्याख्या गर्छ । म आजभोलि धेरै फिल्म हेर्दिनँ तर राजकुमार हिरानीका ‘मुन्नाभाइ एमबीबीएस’ र ‘लगे रहो मुन्नाभाइ’ मन परे ।
शाहरूखले सबै खाले भूमिका निर्वाह गर्न सक्छन् । ‘डर’ ‘बाजिगर’मा उसले भिलेनको काम गरेको छ तर ‘दिलवाले दुल्हनियाँ ले जाएँगे’मा उसले रोमान्सलाई नै पुनर्भाषित गरेको छ । मलाई कलाकारमा ऋषि कपुर पनि मन पर्छ । ऊ सधैँ राम्रो गर्छ । राम्रो नाच्छ र ह्यान्डसम पनि छ । मैले ‘तारे जमिन पर’ हेरेँ । आमिर खान राम्रो निर्देशक हो र कलाकार पनि । म व्यक्तिगत रुपमा पनि ऊसँग नजिक छु ।
(नासिर मुन्नी कबिरले लेखेको ‘लता मंगेशकर : इन हर ओन भ्वाइस’बाट सामीप्यराज तिमल्सेनाको उल्था ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया