भ्यालेनटाइनमा गायक रामकृष्ण ढकालको प्रेमगीत उपहार
काठमाडौं- गायक रामकृष्ण ढकालको स्वरमा रहेको ‘तिम्ले बोल्ने बोली’ बोलको नयाँ गीत ‘भ्यालेनटाइन डे’ को छेको पारेर सार्वजनिक भएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दीपक शर्माको संगीत र नेत्र कोइराला 'आकाश' को शब्द रचना रहेको छ । प्रेमभाव बोल्ने गीतको भिडियोमा आकाश श्रेष्ठ र खुश्बु खड्काले अभिनय गरेका छन् ।
सुव्रत आचार्य निर्देशित म्यूजिक भिडियोमा दीपक एम सिंहको कोरियोग्राफी र उत्सव दाहाल को छायांकन रहेको छ । रामकुमार श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज मोहित मुनाल र मिक्सिङ किशोर थापाले गरेका हुन् ।
भिडियो सार्वजनिक कार्यक्रममा गायक रामकृष्ण ढकालले गीतको अडियो र भिडियो राम्रो बनेकाले दर्शकलाई मनपर्नेमा विश्वास व्यक्त गरे । ‘तिम्ले बोल्ने बोली’ ले ‘भ्यालेनटाइन डे’ विशेष बनाउन सक्ने बताउँदै उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए । यो गीत उनकै नाममा खोलिएको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
भिडियोका मोडल आकाश श्रेष्ठले रामकृष्ण ढकालको आवाजमा रहेको गीतमा अभिनय गर्न पाउनु आफ्नो सौभाग्य रहेको बताए । उनले भने- ‘म रामकृष्ण दाइको बच्चैदेखि ठूलो फ्यान हुँ । उहाँसँग काम गर्न जसलाई पनि इच्छा हुन्छ र मलाई पनि थियो । यो गीतले मेरो त्यो इच्छा पूरा गरेकोमा एकदमै खुसी छु ।’
त्यस्तै, गीतकी मोडल खुश्बु खड्काले राम्रो टिमसँग राम्रो गीतमा अभिनय गर्न पाएकोमा खुसी व्यक्त गरिन् । निर्देशक सुव्रत आचार्यले भने आफूले यसअघि गरेका म्यूजिक भिडियोभन्दा यसपटक केही फरक गर्न खोजेको बताए । उनले भिडियोलाई ‘भ्यालेनटाइन डे’ सँग जोड्ने गरी तयार गरेका छन् । भिडियोमा आकाश र खुश्बुको केमेस्ट्री मिलेको देखिन्छ ।
रामकृष्ण ढकाल र खुशी गुरुङको प्रस्तुतिमा गीत तयार भएको हो । गीत सार्वजनिक कार्यक्रममा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, नेपाल हाउसका अध्यक्ष रुद्र शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा रामकृष्ण ढकालले स्वर्गीय भारतीय गायिका लता मंगेशकरलाई सम्झिँदै श्रद्धाञ्जली अर्पण गरेका थिए । उनले १० वर्ष अगाडि लतासँग ‘बाचुन्जेलीलाई’ गीत गाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया