३५ लाखको म्युजिक भिडियोमा यसकारण भयो निरुताको डेब्यु
काठमाडौँ - ‘हजुर मुसुक्कै’ बोलको गीत केही दिनयता ट्रेन्डिङमा छ । चार दिनअघि सार्वजनिक भएको यो गीतको विशेषता के हो भने यसमा कुनै समयकी चल्तीकी हिरोइन निरुता सिंहले अभिनय गरेकी छिन् । उनको यो डेब्यु म्युजिक भिडियो हो ।
जतिबेला निरुता सिंहको नेपाली चलचित्रमा हैकम थियो त्यतिबेला म्युजिक भिडियोको उतिसारो प्रचलन थिएन । म्युजिक भिडियो बने पनि त्यसमा अभिनय गर्ने मोडल बेग्लै हुन्थे । तर अहिले फिल्म र म्युजिक भिडियोमा खास भिन्नता छैन । नेपाली फिल्मका स्टार–महास्टार, रियल–अनरियल सब म्युजिक भिडियोमा वाक्क हुनेगरी देखिन्छन् ।
यस्तोमा केही अभिनेता र अभिनेत्री छन् जसले आफूलाई म्युजिक भिडियोबाट अलग राख्दै आएका छन् । निरुता तिनैमध्ये एक थिइन् । तर चार दिनअघि निरुता सिंहले पनि आफूलाई म्युजिक भिडियोबाट अलग राख्न सकिनन् । ‘आखिर निरुतालाई म्युजिक भिडियो खेल्न केले प्रेरित गर्यो ?’ इकागजको यो प्रश्नमा निरुताले मेकरको पर्खाइ र गीतको कन्सेप्टले काम गर्न बाध्य भएको जवाफ दिइन् ।
‘मलाई उहाँहरूले म मुम्बई हुँदा नै यो गीत पठाएर म्युजिक भिडियो अफर गर्नु भएको थियो । मलाई गीत त पहिलो पटक सुन्दा नै मन परेको थियो तर म्युजिक भिडियोमा काम गर्न ठीक हुन्छ कि हुन्न भनेर निर्णय गर्न सकेको थिइँन,’ निरुताले भनिन्, ‘म डान्स च्याम्पियनका लागि नेपाल आएपछि उहाँहरूसँग भेट भयो । गीतलाई उहाँहरू जातीय विभेदविरुद्धको सन्देशको रुपमा पनि प्रस्तुत गर्ने गरी तयार गर्ने सोच थाहा पाएपछि म गीतमा अभिनय गर्न राजी भएँ ।’
निरुताले भिडियोका कन्सेप्टसँगै अभिनेता राजेश हमालसँग पनि काम गर्ने मौका जुर्न लागेकाले पनि भिडियो खेल्ने निर्णय गर्न सहज भएको बताइन् । निरुताका अनुसार दुवैले १२ वर्षपछि एकै फ्रेममा रहेर अभिनय गरेका थिए ।
कृष्ण विक र रचना रिमालको स्वर रहेको गीतमा सुरेश अधिकारीको शब्द÷संगीत रहेको छ । याक एन्ड यतिमा तामझामका साथ खिचिएको गीत निकै खर्चिलो देखिन्छ । निर्माण निकट स्रोतका अनुसार यो भिडियो निर्माणमा ३५ लाख हाराहारी खर्च भएको छ । ३ रात २ दिन गरी कुल ५ दिन खिचिएको भिडियोमा होटलले मात्र ७ लाख रुपैयाँ लिएको स्रोतले बतायो ।
यसैगरी भिडियोमा अभिनय गरेवापत राजेश हमाल र निरुता सिंहले पनि ३–३ लाख पारिश्रमिक लिएको स्रोतको दाबी छ । भिडियोमा देखिने बाल कलाकार दुई जना र प्रिन्स विश्वकर्मा र प्रियना आचार्यले पनि राम्रै रकम लिएका छन् । ब्याकग्राउन्ड डान्सर, ड्रेस, छायांकार, कोरियोग्राफर सबैको मूल्य जोड्दा भिडियोको खर्च ३५ लाख हाराहारी पुगेको स्रोत बताउँछ । भिडियो अहिलेसम्म १२ लाख चानचुनले हेरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया