संगीत

दोस्रो विवाह गर्दै अञ्‍जु पन्त, हुनेवाला श्रीमान् भन्छन्, ‘एक वर्षदेखि प्रेममा थियौँ’

इकागज |
माघ २०, २०७७ मंगलबार १३:५४ बजे

काठमाडौं : गायिका अञ्‍जु पन्तले विवाह गर्ने भएकी छिन् । उनले इलामका थीर कोइरालासँग विवाह गर्न लागेकी हुन् । थीरले इकागजसँग कुरा गर्दै विवाहको खबर पुष्टि गरे । उनले विवाह गर्ने खबरमा सत्यता रहे पनि विवाहको मिति भने तय भइनसकेको जानकारी दिए ।  ‘विवाह गर्ने कुरा साँचो हो तर कहिले गर्ने भन्‍ने चाहिँ तय भइसकेको छैन । अञ्‍जुजीको समय हेरेर बल्ल मिति तय गर्छौं ,’ थीरले भने । 

बजारमा दुवैले भ्यालेन्टाइनको समयमा विवाह गर्न लागेको हल्ला पनि चलेका छन् । तर, थीरले भ्यालेन्टाइनमा पोखरामा अञ्‍जु पन्तको कार्यक्रम रहेकाले त्यो मितिमा विवाह हुने सम्भावना नरहेको बताए । 


‘खासमा हामी अर्को साल विवाह गर्ने सोचमा थियौं । अचानक यो खबर बाहिरिएपछि लामो समय नराख्‍ने कि भन्‍ने सोचिरहेका छौं,’ थीरले भने, ‘ फागुन वा वैशाखको मिति हेरिरहेका छौं ।’

थीर र अञ्जु पन्तको पहिलो भेट आजभन्दा ६ वर्षअघि भएको थियो । उसबेला थीर नेपाल टेलिभिजनमा ‘सर्वाङ्गिण संवाद’ नामको कार्यक्रम चलाउँथे । अञ्जु सोही कार्यक्रममा अतिथि बनेर आउँदा अञ्जु र थीरको पहिलो चिनजान भएको थियो । 

‘यो २०१३ को कुरा हो । त्यसबेला एकदमै औपचारिक कुराकानी मात्र भएको थियो । सन् २०१७ मा उहाँले अञ्जु पन्त फाउन्डेसन खोल्ने सिलसिलामा बल्ल गतिलो चिनजान भएको हो,’ थीरले भने । थीरका अनुसार विगत एक वर्षदेखि भने मित्रता गहिरो भएर यहाँसम्म आइपुगेको हो ।

‘एक वर्षयता भने हामी विवाह गरौं भन्ने सोचाइमा पुगेका हौं,’ थीरले भने । थीरले स्थापना कालदेखि नै फाउन्डेसनमा सचिवको रुपमा काम गरिरहेका छन् । 
गायक मनोजराजसँग कलिलै उमेरमा विवाह गरेकी अञ्जुकी १५ वर्षकी छोरी छिन् । थीरले विवाहका लागि अञ्जुको छोरी पारितोषिकाको पनि अनुमति रहेको बताए । 
‘खासमा अञ्जुजी धेरै पछिसम्म पनि विवाह गर्ने सोचमा हुनुहुन्थेन । पारितोषिकाले नै उहाँलाई पनि कन्भिन्स गरेकी हुन् । यो विवाह हुनमा उनको ठूलो योगदान छ,’ थीरले भने ।


Author

थप समाचार
x