संगीत

म्युजिक भिडियोमा कमजोर हमालको उपस्थिति ‘गाउँले ठिटो’मा पनि निरन्तर

इकागज |
फागुन २८, २०७८ शनिबार १३:६ बजे

काठमाडौँ - म्युजिक भिडियोको कमजोर उपस्थिति पछि अभिनेता राजेश हमाल आफैँ गायनमा उत्रन थालेका छन् । यसअघि ‘मन बूढो भएन’ बोलको  गीत गाएको उनले शुक्रबार दोस्रो गीत सार्वजनिक गरेका छन् । तर जसरी म्युजिक भिडियोमा उनको मोडलिङले कुनै फरक पारेको छैन उनको गायकीको पनि त्यही अवस्था छ । कमजोर संगीतमा उनको स्वर भएको गीतले संख्या मात्र थपेको टिप्पणी हुन थालेका छन् । 

तर यस्ता टिप्पणीबाट बेपर्वाह राजेश हमालले अर्को गीत सार्वजनिक गरेका छन् । शुक्रबार उनको ‘गाउँले ठिटो’को सार्वजनिक भएको छ जुन गीतमा हमालले गायनसँगै अभिनयको पनि जिम्मेवारी निर्वाह गरेका छन् ।  गोविन्द भट्टको शब्द रचना तथा सन्तोस श्रेष्ठको संगीत रहेको यस गीतमा अभिनेता हमाल गाउँले भेषभुषामा देखिएका छन् ।


रोजगारीको लागि विदेशिएको युवा आफ्नै गाउँ फर्केर कृषि कर्म गरी सफल बनेर उदाहरणीय बनेको कथा उक्त भिडियोमा रहेको छ । भिडियोमा हमालको साथमा उत्तम केसी, गोबिन्द भट्ट, एस.के. दाहाल लगायतको अभिनय रहेको छ । उत्सव दाहालले छायांकन गरेको यस भिडियोका सम्पादक विकास दाहाल हुन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् । 

गीत सार्वजनिक कार्यक्रममा बोल्दै हमालले आफू गायक नभई नायक नै भएको भएको र गायन केवल प्रयास मात्रै रहेको बताए । तर उनले स्कुले जीवनमा संगीतकार गोपाल योञ्जनबाट संगीत शिक्षा लिएको स्मरण गरेका थिए । ‘विद्यालयमा मेरो संगीतको शिक्षक नै वरिष्ठ संगीतकार गोपाल योन्जन हुनुहुन्थ्यो । छ कक्षा पढ्ने बेलासम्म उहाँले अगाडि बोलाएर गाउन लगाउनु हुन्थ्यो । १० कक्षा पुग्ने बेला सम्ममा चाहिँ खै के भयो स्वर नराम्रो जस्तो लाग्यो । त्यसपछि कहिल्यै गाउने कोसिस नै गरेको थिइँन । अहिले आएर गीत गाउने प्रयास गरेको हुँ ’उनले भने ।

हमालले आफुले अभिनय गरिरहेका अन्य म्यूजिक भिडियो जस्तो यो गीत नभएको बताउँदै तीन महिनाको मेहनत पछि यो गीत तयार भएको प्रष्ट पारे । ‘यो प्रोजेक्ट तयार हुन करिब तीन महिना लाग्यो । गीत रचना हुनु अगाडिदेखि नै छलफल गरेर यो गीत तयार भएको हो । सम्पुर्ण नेपाल र नेपालीको कथा झल्किने गीतको चाहनामा पहिले देखि नै थिएँ’, हमालको भनाइ थियो । 

तर भिडियो हेर्दा हमाल आफैँ मिस कास्ट लाग्छन् । उनलाई गाउँ ठिटो बनेको सुहाएकै छैन । अनि लुगाको छनौट पनि यस्तो छ कि आजभोलि गाउँमा विरलै मानिसले यस्ता लुगा लगाउँछन् ।कार्यक्रममा हमालकी पत्नी मधु भट्टराईको पनि उपस्थिति थियो ।

भट्टराईले भने आफ्नो श्रीमान्को गायनकलाको खुलेर तारिफ गरेकी थिइन् । तर सार्वजनिक भएको २४ घन्टामा गीतले ५० हजार पनि दर्शक पाउन सकेको छैन । ४ महिना अघि उनले गाएको ‘मन बूढो’ले पनि भव्य प्रचारका बीच पनि १० लाख दर्शक कमाउन सकेको छैन । न त यो गीत कसैको ओठमा नै झुण्डिएको छ । 
राजेश हमालले मोडलिङ गरेका अरु गीतले पनि दर्शक पाउन गाह्रो हुने गरेको छ । 

 


Author

थप समाचार
x