संगीत

संगीतकार जंगमलाई १ लाखको पुरस्कार

सरिता दाहाल |
फागुन २८, २०७८ शनिबार १८:१८ बजे

मकवानपुर- संगीतकार तथा प्राध्यापक दीपक जङ्गम १ लाख नगदसहित हेटाैंडामा सम्मानित भएका छन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुरले विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट जङ्गमलाई सम्मान गरेकाे हाे ।

भीम विरागको १० औं स्मृती दिवसमा शनिबार हेटौंडामा प्रतिष्ठानले आयाेजना गरेकाे सम्मान तथा सांगीतिक कार्यक्रममा साहित्यकार तथा प्राध्यापक एलवी क्षत्रीले उक्त पुरस्कार जंगमलाई प्रदान गरे । २०६४ सालमा स्थापना भई प्रतिष्ठानको व्यवस्थापनमा उक्त सम्मान हरेक वर्ष प्रदान गर्दै आइरहेको छ ।

बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारकाे १३ ओं सस्करणबाट यस बर्ष जंगमलाई सम्मानित गरिएकाे हाे । २०६४ सालमा वरिष्ठ संगीतकार अम्बर गुरुङलाई पुरस्कार प्रदान गरि सुरु गरिएको पुरस्कार गतवर्ष नेपाली भाषी भारत दार्जिलिङकी गायिका दाबा ग्याल्मोलाई प्रदान गरिएको थियो । फागुन १५ गते भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान मकवानपुरले जंगमलाई उक्त सम्मानबाट सम्मानित गर्ने निर्णय गरेकाे थियाे ।

२०१० सालमा भक्तपुरमा जन्मिनु भएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भरेका छन् भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिएका छन् । हेटौंडाका व्यवसायी/समाजसेवी कन्हैयाकृष्ण श्रेष्ठले आफ्नी आमाको नाममा १ लाख राशीकाे विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् ।

यसैगरी यस वर्षकाे भीम विराग युवा स‌गीत पुरस्कारबाट युवा गायक शिव परियार सम्मानित भएका छन् । २५ हजार राशीकाे उक्त सम्मानबाट परियारलाई प्रमुख अतिथि क्षेत्री सम्मानित गरेकाे हुन् । हेटाैडाका समाजसेवी निरा गाेर्खालीकाे व्यबस्थापनमा उक्त पुरस्कार प्रदान गरिएकाे भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल मकवानपुर अध्यक्ष ह्याग्रिव आचार्यले बताए । गत वर्ष उक्त पुरस्कार पाेखराकाे महिलाहरुले मात्र संचालन गरेकाे हार्माेनिक सांगीतिक समूहलाई प्रदान गरिएकाे प्रतिष्ठानले जनाएकाे छ ।

उक्त पुरस्कार सँगसँगै अन्य १० वटा पुरस्कार पनि प्रतिष्ठानको व्यवस्थापनमा प्रदान गरिँदै आएकाे प्रतिष्ठानका अध्यक्ष आचार्यले जानकारी दिए । वर्षमा २ पटक कार्यक्रम आयाेजना गरी प्रतिष्ठानले व्यवस्थापन गरेकाे पुरस्कार प्रदान गर्दै आएकाे बताइएकाे छ ।

२०५९ असारमा तरगं सांगीतिक परिषद् मकवानपुरले भीम विरागकाे नाममा सांगीतिक साझँ कार्यक्रम आयाेजना गरेकाे थियाे । उक्त कार्यक्रमबाट संकलन भएकाे रकमकाे सदुपयाेग गर्नका लागि भीम विरागकै अनुराेधमा २०५९ भदाैमा प्रतिष्ठान स्थापना गरिएकाे अध्यक्ष आचार्यले बताए ।

पुरस्कार सम्मान कार्यक्रम पश्चात पुरस्कृत जंगम र परियारले आआफ्नो सांगीतिक प्रस्तुति प्रस्तुत गरेका छन्। प्रतिष्ठानका अध्यक्ष आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा प्राध्यापक क्षेत्रीको प्रमुख अतिथ्यतामा भएकाे सम्मान तथा सांगीतिक कार्यक्रममा भीम विराग तथा प्रतिष्ठानका बारेमा सल्लाहकार प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार तुल्सी थापा, मुक्तिगोविन्द वैद्य, गायिका शुशिला मानन्धर, कोषाध्यक्ष निरा शर्मा, पुरस्कार संस्थापक कन्हैयाकृष्ण श्रेष्ठ तथा निरा गाेर्खाली साथै कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्ति तथा साहित्य र संगीत प्रेमीहरुकाे उपस्थिति रहेको थियो ।

 



Author

थप समाचार
x