राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु, ६१ टोलीबीच प्रतिस्पर्धा
काठमाडौं - ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ बुधबारबाट काठमाडौं भृकुटीमण्डप बगैँचामा सुरु भएको छ । अर्थ मन्त्रालयका सचिव मधुकर मरासिनी, वरिष्ट लोक गायक कुमार बस्नेतले यो प्रतियोगिताको बुधबार उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै अर्थ सचिब मरासिनीले एक समय गाउँमा गाइने लोक दोहोरी गीत अहिले सहरमा पनि त्यत्तिकै प्रचलित भएको बताए । नेपालको मौलिक लोक संगीतको रुपमा लोक दोहोरी गीत रहेको चर्चा गर्दै यो प्रतियोगिताले लोक दोहोरीका विकासमा अझ टेवा पु¥याउने विश्वास उनले व्यक्त गरे । आफूले मन्त्रालयका तर्फबाट लोक दोहोरी गीतको प्रवद्र्धनका लागि सहयोग गर्ने पनि उनले बताए ।
अर्का अतिथि तथा बरिष्ट लोक गायक कुमार बस्नेतले आफ्नो पालामा लोक गीत गाउनेलाई गाउँलेको रुपमा हेर्ने गरेको स्मरण सुनाउँदै अहिले निकै राम्रा लोक दोहोरी गीत आउने गरेको सुनाए । कोरोनापछि लोक दोहोरी गीत प्रतियोगितामा दर्शकको उपस्थित देखेर खुसी व्यक्त गर्दै लोक दोहोरी प्रतिष्ठानले निकै राम्रो काम गरेको उनले चर्चा गरे ।
यस्तै लोक दोहोरी प्रतिष्ठानको पूर्व अध्यक्ष तथा लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानले अहिलेका कतीपय चर्चित लोक दोहोरी गायक गायिकाहरु विगतमा यस्तै प्रतियोगिताबाट यो क्षेत्रमा आएको स्मरण गर्दै भने,‘ हाम्रा श्रष्टाको निधन हुँदा कमलादीको प्रज्ञा प्रतिष्ठानमा श्रष्टाको शव राखेर श्रद्धाञ्जली प्रकट गर्न पनि रोक लगाइयो । हामीले टोखामा प्रतिष्ठानको कार्यालय जेनतेन बनाएको भए पनि अब दिवंगत श्रष्टालाई श्रद्धाञ्जली दिनको लागि समेत केही जग्गा जोहो गर्न आर्थिक जोगाड गर्नु पर्ने भएको छ ।’
हास्य अभिनेता जितु नेपालले आफू हास्यव्यंग्य अभिनेता भए पनि मोडल बनेर कैयौं लोक दोहोरी गीतमा मोडलिङ गरेको स्मरण सुनाए । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आजिवन सदस्य बन्ने घोषणा गर्दै आफू पनि अभिनयको हिसावले लोक दोहोरीको कलाकार भएको बताए । प्रधानमन्त्री शेर बहादुर देउवा लगायत विभिन्न कलाकारको क्यारिकेचर गर्दै उनले यस्तो प्रतियोगिताले लोक दोहोरीमा उत्साह जगाउने धारणा राखे ।
बुधबारबाट ४ दिनसम्म जारी रहने यो प्रतियोगितामा राजधानी र मोफसबाट ६१ वटा टोलीले भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने टोलीले रिनङ सिल्डसँगै पदक, २ लाख ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै द्धितीय हुने टोलीले ट्रफी, पदक र रु १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
प्रतियोगितामा तेश्रो हुने टोलीले नगद १ लाख रुपैयाँ सहित ट्रफी, पदक र प्रमाणपत्र र सान्त्वना हुने टोलीले ५० हजार रुपैयाँ सहित ट्रफी, पदक, प्रमात्रणपत्र प्राप्त गर्ने पनि अध्यक्ष बिजीले कार्यक्रममा जानकारी गराए । उनका अनुसार यो प्रतियोगितामा उत्कृष्ट हुने दुई जना गायक र दुई जना गायिकालाई जनही १० हजार रुपैयाँसहित उत्कृष्ट गायक गायिकाको पुरस्कार प्रदान गरिने छ भने उत्कृष्ट भेषभुषा र उत्कृष्ट अनुसासन टोलीले पनि १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । सो कार्यक्रममा दोहोरीसँगै खानाका स्टल पनि राखिएको छ ।
वुधबारको उद्घाटन समारोहमा गायक प्रकाश सपुतले ‘पिर’ गीत गाएर सुनाएका थिए । यसैगरि कार्यक्रममा कुलेन्द्र बिक, रामजी खाँडलगायतका विभिन्न कलाकारले गीत प्रस्तुत गरेका थिए । बिहीबार बिहान नौ बजेबाटै दोहोरी गायन टोली बीच गायन प्रतिस्पर्धा हुने भएको छ । बिहान ९ बजे देखि बेलुका ७ बजेसम्म जारी रहने यो प्रतियोगिताको समापन शनिबार बेलुका हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया