संगीत

दमकमा नयाँ वर्षमा नेपथ्यको कन्सर्ट

इकागज |
चैत २४, २०७८ बिहीबार ११:२५ बजे

काठमाडौं -  नेपथ्यले नयाँ वर्षको दिन  दमकमा कन्सर्ट गर्ने भएको छ । आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरुका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्नेभएको छ ।

दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरि एक पटक उभिने भएको छ । यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा त्यसै मैदानमा आफूलाई उभ्याएको थियो । यसरी खुलाआकाशको चौरमा प्रस्तुत हुनुअघि उक्त सहरका अघिल्लो तीनवटा कन्सर्ट सिनेमाहलमा आयोजना गरिएका थिए । पछिल्लो खुला कन्सर्टका निम्ति भने पाँच वटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाश ब्यवस्थाहुँदै ध्वनि प्रणालीसमेत त्यहाँ पुर्याइएको थियो ।


‘संगीतप्रेमी दर्शकहरुका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भब्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ ब्याण्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को पनि हुनेछ ।’ भौगोलिक अवस्थिति, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रुपमा विकास हुँदै गइरहेको छ । पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगरहुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिति जनाएका थिए । त्यो सहरमा नेपथ्यको यो पाँचौ प्रस्तुति हुँदैछ ।

कोरोना भाइरसले उसको कठोर पञ्जा विश्वभर फैलाउनुअघि नेपथ्यले आफूलाई राजधानी काठमाडौंकै भृकुटी मण्डपमा उपस्थित गराएको थियो । २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो । त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो ।

यसपटकको नेपथ्य कार्यक्रम दुई वर्ष पछिको अन्तरालमा हुँदैछ । नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई विसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रुपमा पनि महत्वपूर्ण हुने अमृतको विश्वास छ । उनका अनुसार कन्सर्टमा सदा झैँ नेपथ्यका सर्वकालिक हिट गीतहरु प्रस्तुत गर्नुका साथै केहि नयाँ प्रस्तुतिको तयारी पनि अघि बढिरहेको छ ।

दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रुपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो ।

‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरु अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन् ।   यो कन्सर्टको टिकट विक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, बिराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन् । स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ । अनलाइन टिकट को निम्ति www.thuprai.com/nepathya  मार्फत व्यवस्था गरिएको छ । सँधै झैँ तोकिएकै अवधिमा सुरुहुने यो कन्सर्टका लागि उक्त दिन बेलुकी ठीक पौने पाँच बजे मैदानका ढोका खोलिनेछन् ।

 


Author

थप समाचार
x