संगीत

६ हजार ५ सय मिटर उचाईमा कन्सर्ट, विश्व कीर्तिमान राख्दै राजु लामा

इकागज |
चैत २७, २०७८ आइतबार १३:१३ बजे

काठमाडौं– मंगोलियन हार्टका गायक राजु लामाले ६ हजार ५ सय मिटर उचाईंमा कन्सर्ट गर्दै विश्व कीर्तिमान राख्न लागेका छन् ।

विश्वमा बढ्दो जलवायु परिवर्तनले गर्दा परेको असर न्यूनीकरणका लागि सन्देश प्रवाह गर्न सगरमाथा आरोहणमा प्रस्थान गरेका लामाले कन्सर्ट गर्न लागेका हुन् ।


गायक लामाले सगरमाथा आरोहणसँगै ६ हजार ५ सय मिटर उचाईको क्याम्प २ मा वैशाख दोस्रो साता सांगितिक कार्यक्रम गर्नेछन् । उनी विश्वको सबैभन्दा उच्च स्थानमा सांगितिक कार्यक्रम (कन्सर्ट) गरी विश्व किर्तीमानी राख्ने तयारीमा छन् । गायक लामाको सो अभियानलाई रोटरी क्लब अफ धुलिखेलले ‘वातावरण र हिमालको सरक्षण गर’ भन्ने नाराका साथ सहयोग गरेको छ । 

उक्त कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका सदस्य एवं वातावरण ईन्जिनियर तथा हिमनदी विशेषज्ञ रोटरीयन ईन्जिनियर लक्ष्मण लामाले बढ्दो जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सम्बन्धित निकायहरुले उच्च प्राथमिकतामा राखेर बेलैमा कार्यविधि बनाई कार्य गर्नुपर्नेमा जोड दिए । सो कार्य समयमै नगरे निकट भविष्यमा गम्भीर प्रकारका संकट आइपर्ने तर्फ ईन्जिनियर लामाले सचेत गराए ।

रोटरी क्लब अफ धुलिखेलका सहसचिव एवं काठमाण्डौ विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा र रोटरीयन ईन्जिनियर लक्ष्मण लामाले गायक लामालाई सिंगो क्लबको तर्फबाट सफल आरोहणको शुभकामना व्यक्त गर्दै निकट भविष्यमा वातावरण संरक्षण, जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य लगायत अन्य सामाजिक कार्यमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

गायक लामा तीन जना नेपाली र बाँकी विदेशीसहितको १० सदस्यीय आरोहण दलसँग चुचुरो तर्फ लागेका छन् ।
 


Author

थप समाचार
x