संगीत

‘बेनीको बजार’का सर्जक श्रेष्ठको निधन

इकागज |
चैत १३, २०७७ शुक्रवार ८:२ बजे

बेनी : म्याग्दीको सदरमुकाम बेनीलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल  ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जाले रुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । जन्मथलो म्याग्दीबाट बसाइँ सरी रुपन्देहीमा बसोवास गर्दै आएका श्रेष्ठको ७५ वर्षको उमेरमा बिहीबार बुटवलमा निधन भएको हो ।

‘बेनीको बजार,जता मायाँ उतै छ नजर..’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो । श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेर समेत चिनिन्छ ।


लामो समयसम्म मिर्गौलासम्बन्धी समस्याले ग्रसित गायक श्रेष्ठले निरन्तररूपमा डायलासिस गरिरहेका थिए । उनको निधनले लोक सङ्गीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको यस क्षेत्रमा लागेकाहरुले बताएका छन् । मिर्गौलासम्बन्धी समस्या झेलिँरहदासमेत श्रेष्ठ साङ्गीतिक क्षेत्रसँग नजिक थिए । तबला, हार्मोनियम लगायतका थुप्रै बाजा बजाउन जानेका श्रेष्ठ पछिल्लो एक दशकयता भने गुमनाम थिए । 

२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार,जता मायाँ उतै छ नजर..’ बोलको गीत गाएका थिए । सो कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको म्याग्दीका अग्रज कलाकार अबिरकुमार श्रेष्ठले बताए । त्यसपछि सो गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरिएको थियो ।
 


Author

थप समाचार
x