क्षेत्रीय वृहत् आर्थिक साझेदारी : विश्वकै ठूलो स्वतन्त्र व्यापार समूह
बेइजिङ : एसिया तथा प्रशान्त क्षेत्रका १५ मुलुकले नोभेम्बर १५ (आईतबार) विश्वकै सबैभन्दा ठूलो स्वतन्त्र व्यापार सम्झौता गरेका छन् । क्षेत्रीय वृहत् आर्थिक साझेदारी (आरसिइपी) मा सहभागी १५ राष्ट्रहरूले भियत्नामको राजधानी हनोइमा आयोजित ३७ औं आसियान तथा चौथो आरसिइपी सम्मेलनमा उक्त सम्झौतामा औपचारिक रूपमा हस्ताक्षर गरेका हुन् । योसँगै आरसिइपीमा सम्मिलित राष्ट्रहरू विश्वको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार समूह बनेको छ ।
आसियान (पूर्वीदक्षिण एसिया संगठन) का १० मुलुकसहित चीन, जापान, दक्षिण कोरिया, न्यूजील्याण्ड र अस्ट्रेलियाका सरकार प्रमुखहरू उक्त सम्झौतामा भिडियोमार्फत् सहभागी भएका थिए । आरसिइपीमा सम्मिलित राष्ट्रले विश्व जनसंख्याको लगभग एक तिहाइ भाग अर्थात् २.२ अर्ब जनसंख्या र विश्वको कुल ग्राहस्थ उत्पादन जीडिपीको ३० प्रतिशत भाग ओगटेको छ । सन् २०१९ को तथ्याङ्क अनुसार, आरसिइपीमा आबद्ध मुलुकको जीडिपी २६.२ त्रिलियन अमेरिकी डलर रहेको छ ।
उक्त सम्झौतापछि चीनका प्रधानमन्त्री ली खछ्याङले औपचारिक रूपमा सम्झौता सम्पन्न हुनु पूर्वी एसियाली क्षेत्रको सहकार्यका लागि मात्र नभइ बहुपक्षीयतावाद र स्वतन्त्र व्यापारको जीत भएको दावी गरे । उनले क्षेत्रीय विकास तथा समृद्धिमा जीवन्त शक्ति थप्नुका साथै विश्व अर्थतन्त्रको पुनरूत्थानमा समेत नयाँ शक्ति थप्ने विश्वास लिएका छन् । आठ वर्षको सम्झौता वार्तापछि सबै सदस्य राष्ट्रले औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरिनु अँध्यारोबाट उज्ज्यालो देख्न पाएको भन्दै प्रधानमन्त्री लीले पूर्वी एसियासहित समस्त मानवजातिका सुमधुर भविष्यको निर्माण गर्न सकिने आशा पनि व्यक्त गरे ।
निरन्तर आठ वर्ष र तीस चरणको वार्ता पश्चात् यो सम्झौतामा हस्ताक्षर भएको हो । सन् २०१२ मा आसियानका १० सदस्य राष्ट्रहरूले चीन, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, अस्ट्रेलिया र भारतसँग स्वतन्त्र व्यापार सम्झौताका लागि प्रस्ताव राखेका थिए । भारत गत वर्षमात्र उक्त समूहबाट बाहिरिएका हुन् । सन् १९६७ मा स्थापित आसियानमा ब्रुनाई, कम्बोडिया, ईण्डोनेसिया, लाओस, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियत्नाम सम्मिलित छन् ।
साथै उक्त आसियान तथा सम्बन्धित सम्मेलन हनोइमा नोभेम्बर १२ देखि १५ सम्म आयोजना भएको हो । यो आरसिइपी सम्झौताले सदस्य राष्ट्रहरूलाई कोरोना महामारीपश्चात आर्थिक सुधार गर्न तथा विकास र समृद्धिका लागि महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया