छिमेक

परदेशबाट

साङहाईमा 'मिनी नेपाल'

अजय अलौकिक |
मंसिर ६, २०७७ शनिवार ९:३ बजे

बेइजिङ : पेरिस, लण्डन, न्यूयोर्क यस्ता केही सहर होलान् जसको नामले पनि आममानिसलाई लोभ्याउने गर्छ । यही सूचीमा निर्विवाद रूपमा आउने अर्को नाम हो, चीनको साङहाई । विश्वकै आर्थिक केन्द्र, नवीन आविष्कारको घर, गगनचुम्बी भवनको सहर, मेट्रो रेलको सञ्जाल, व्यस्त बन्दरगाह यी सबै साङहाईका विशेषताहरू हुन् । उन्नाइसौं शताब्दीदेखि नै विश्वमा एक व्यस्त बन्दरगाह सहरको परिचय बोकेको यो सहरमा विश्वभरिकै मानिसको ओहोरदोहोर हुनु नौलो कुरा होइन । यहीँबाट नै यो चीनको आधुनिक सहरको पथमा लम्किएको मान्‍न सकिन्छ ।

यो सहर वित्त, प्रविधि, निर्माण तथा यातायात, अनुसन्धान र नवीन विकासका लागि एक अन्तर्राष्ट्रिय केन्द्र पनि हो । यहाँ विश्व प्रतिष्ठित फूतान विश्वविद्यालय, साङहाई च्याओ थोङ विश्वविद्यालय, थोङची विश्वविद्यालय तथा इस्ट चाइना नर्मल विश्वविद्यालयहरू छन् । यहाँ हजारभन्दा बढी देशीविदेशी वित्तीय संस्थाहरूका साथै ३४० बढी बहुराष्ट्रिय संस्थाहरूको क्षेत्रीय मुख्यालय छन् । त्यसकारण यो एउटा पर्यटन गन्तव्य मात्रै होइन । देशीविदेशीको सपनाको कर्मथलो पनि बनेको छ । हाल झण्डै दुई लाख विदेशी साङहाईमा विभिन्न व्यवसाय या पेशामा आबद्ध छन् । योसँगै यो सहर मिश्रित संस्कृति पाइने थलो पनि बनेको छ ।


यस्तो विविधता पाइने वातावरणका साथै चिनियाँ संस्कृतिको आकर्षणले विदेशी तथा पर्यटकहरूलाई यो सहरले आकर्षित गरिरहेको छ । यसरी मिश्रित संस्कृतिमा घुलमिल बनेको साङहाईमा अध्ययन, काम तथा घरजम गरेर बस्ने विदेशीमा नेपालीहरू पनि पर्छन् । तर पनि चीनकै सबैभन्दा धेरै जनसंख्या भएको सहरमा नेपाली र नेपालीपन भेट्न मुश्किल नै छ । यद्यपि यस्तो जगमग, भिडभाड र आधुनिक सहरको एक व्यस्त केन्द्रमा सानो देश नेपालको परिचय बोकेर नेपाली किचेन विश्वका खाना पारखीलाई स्वागत गरिरहेको छ ।

देशविदेशका रेस्टुराँको लाइन लागेको जुलु सडकमा नेपाली किचेन रेस्टुराँले आगन्तुकहरूलाई १६ वर्षदेखि यसरी नै नेपाली खाना परिकारले मिठ्याइरहेको छ । अहिले उक्त सडकमा सबैभन्दा पुरानो रेस्टुराँ यही नेपाली किचेन मात्र हो । रेस्टुराँ स्थापनाको चार वर्षपछि हालको ठाउँमा खोलिएको त्यहाँका व्यवस्थापकमध्ये एक अर्जुन गुरूङले बताए । ‘यो नेपाली किचेन खोलेको सन् २००१ मा हो, यो ठाउँमा सारेको १६ वर्ष भयो । अहिले सबैभन्दा पुरानो हामी नै हौं,’ उनले भने ।

सन् १९३९ मा निर्माण भएको घरमा खोलिएको तीन तले नेपाली रेस्टुराँको सिसाको प्रवेशद्वार खोलेसँगै नेपाली कलाकृति तथा वास्तुकला झल्काउने सामग्रीहरू सजाइएका छन् । नेपाली आँखीझ्याल, पानस, खड्कुलो जस्ता शुद्ध नेपाली वस्तुले द्वार प्रवेश गरेलगत्तै ठेट नेपालको झल्को दिन्छ । भर्‍याङ उक्लेसँगै भित्तामा झुण्ड्याइएका फोटोहरूले नेपाल चिनाइरहेका छन् । कलात्मक काठका खम्बा अनि भैरवको विशाल मुकुण्डो, बुद्ध मूर्ति, गाग्रीजस्ता नेपाली घरायसी बस्तु त्यसै गरी थारू कलाकृति अनि सजाइएका लुङदरले नेपाली बहुसंस्कृति पस्किरहेको देख्न सकिन्छ ।

रङ्गीचङ्गी भव्य विशाल सहरको एक कुनामा नेपाल चिनाइरहेको यो नेपाली किचेन देखिसाथ नै तरङ्गित बनेको मन खुड्किलो चढ्दै जाँदा नेपालको तराईदेखि पहाड र हिमाल पुगेको महसुस भयो । काष्ठ कलाले पाटनको झल्लो दिन्छ । नेपाली लोकगीत अनि धूनले वातावरणलाई अझै मोहक बनाइरहेको थियो । त्यस माथि नमस्ते गर्दै यति धेरै नेपाली भेट्दाको क्षण ओहो बयान गरी साध्य छैन्, साह्रै रमाइलो थियो ।

हाल नेपाली किचेनमा १३ जना कर्मचारी छन्, त्यसमध्ये ६ जना चिनियाँ र बाकी नेपाली । रसुवा घर भइ हाल काठमाडौं लामबगरका मुख्य सेफ शिवबहादुर दुङ्गानाको चीन बसाइ सहज छ भन्ने कुरा नेपाली किचेन स्थापना अर्थात् २००१ देखि नै सेवामा रहेकाले बुझ्न सकिन्छ । यसबाहेक अरू दुई जना विश्व बन्धु थापा (नुवाकोट) र कृष्ण खत्री (बाग्लुङ) विगत ८ वर्षदेखि नेपाली परिकारका स्वाद चखाउँदै आइरहेका छन् । यसै गरी अर्जुन गुरूङ (मनाङ), बासुदेव श्रेष्ठ (सिन्धुली), सोम तामाङ (नुवाकोट) र रूद्र न्यौपाने (रसुवा हाल काठमाडौं) म्यानेजरको रूपमा कार्यरत छन् ।

सन् २००५ मा हालको स्थानमा रेस्टुराँ सार्न अघिदेखि नै कार्यरत रूद्र न्यौपाने भन्छन्, 'हामीले पूर्ण रूपमा नेपाली रेस्टुराँ नै भनेर बनाएका छौं । कतिपय ग्राहकहरू इण्डियन खानाजस्तै पनि भन्ने गर्छन् तर हामीले यसलाई पूर्ण नेपाली खानाको परिचय दिने रेस्टुराँ बनाएका छौं ।' बेलुकी सबै जना दौरा सुरूवाल लगाएर नै सेवामा बस्ने गरेको पनि रूद्रले बताए ।

चिनियाँ अनि विदेशीलाई नेपाली किचेनले कति लोभ्याएको छ त भन्दा बासुदेव श्रेष्ठ भन्छन्, 'बेलुकी त प्याक नै हुन्छ, ठाउँ नपाएर फर्केर नै जानुपर्ने हुन्छ विकएण्डमा । भ्याइनभ्याइ नै हुन्छ, तीन दिन त र अरू दिन पनि ठिकठाक छ ।' 'लञ्चमा चाहीँ ठीकै छ । चार, पाँचवटा टेबल भरिन्छ' उनले भने ।

बेइजिङमा (२०१७ मा खोली एक डेढ वर्षसम्म सञ्चालित) समेत नेपाली रेस्टुराँ छैन । साङहाईमा अनवरत रूपमा २० वर्षदेखि देशीविदेशी ग्राहकलाई नेपाली स्वाद पस्किरहेको रेस्टुराँमा हाल चिनियाँ ग्राहक नै धेरै आउने गरेका छन् । कोभिडपछि चिनियाँ ग्राहक बढेको उनीहरू सुनाउँछन् । 'अहिले त ८० प्रतिशत चिनियाँ आउँछन्,' अर्जुन भन्छन् । 'त्यो पनि युवा पुस्ताहरू धेरै आउँछन्, पहिलो पटक नेपाली खाना चाख्न धेरै आउने गरेका छन्,' बासुदेवले भने ।

रूद्र भन्छन्, 'युवा पुस्ताहरूलाई विभिन्न देशको खाना चाख्‍ने रहर हुँदो हो । हरेक पटक नयाँ ग्राहक आउने गरेका छन्, अनि एक पटक आएकाले दोस्रो पटक अर्को नयाँ ग्राहकलाई ल्याउने गरेका छन् । चिनियाँहरू जता गए पनि आफ्नो पोकोपन्तरो नै बोकी हिँडछन्, आफ्नै स्वादका मात्र खान्छन् भन्ने गरिन्छ, तर होइन रहेछ, यो नेपाली किचेन यसको प्रमाण हो । कुरैमा सोधेँ, अनि नेपाल गइसकेका चिनियाँ आउँछन् ? आउँछन्, उनीहरू पनि नयाँ नयाँ साथीहरू लिएर आउँछन् । मीठो मानेर खान्छन्, ठमेल या पोखरामा बसेर खाएजस्तो भान भयो भन्छन् । खुसी लाग्छ । हामीले नेपाल र नेपाली स्वादको प्रचार गरिरहेका छौं ।'

नेपाली खाना खान आएका दुई चिनियाँ महिलालाई सोधेँ- नेपाली खाना कस्तो लाग्छ ? के तपाईँ नेपाल घुम्नुभएको छ ? 'म नेपाल गएकी छैन । इच्छा छ,' उनले भनिन्, 'नेपाली खाना मलाई मीठो लाग्छ ।' उनीहरू कोही पनि नेपाल घुमेका थिएनन् । भिभिएन नाम बताउने महिलाले पहिला पनि यहीँ आएर नेपाली खाना खाइसकेकी रहिछन् र उनले आफ्नो साथीलाई पहिलो पटक ल्याएकी रहिछन् ।

यसरी मैले बाहिर नेपाली खाना खान नपाएको पनि धेरै भइसकेको थियो । कोभिडका कारण विदा लिएर घरदेश पनि फर्कने स्थिति छैन । यसरी साङहाई भ्रमणमा नेपाली रेस्टुराँमा बसेर नेपाली थाली सेट खानपाउँदा अझै औंला चाँटुचाँटु लागिरहेको छ । पछिल्लो समय चीनमा व्यापारी र विद्यार्थीका अभिभावकहरू पनि घुम्‍न आउने गरेका छन् । साङहाईलाई गन्तव्य बनाउने हो भने यहाँ यति धेरै नेपाली देख्न, भेट्नपाउँदा पनि त्यो क्षण अविस्मरणीय नै हुने छ । यसरी चीन घुम्ने क्रममा नेपाली खानाको न्यास्रो लागेकालाई साङहाईको बसाइमा यसले अवश्य ओखतीको काम गर्ने छ । हुन त यिवु, क्वानचौजस्ता धेरै नेपाली व्यापारी भएको ठाउँमा पनि नेपाली रेस्टुराँ नभएको होइन ।

मिठो गरी खाना खाएपछि पनि हाम्रो मीठो गफ चली नै रह्यो । अनि कुरैकुरामा मैले सोधेँ । साङहाईमा नेपाली रेस्टुराँ छ, कान्छा दाइको रेस्टुराँ छ नि भन्ने कतै सुनेको थिएँ । के भए छ त्यो... मैले पूरा प्रश्न सोध्न नपाउँदै उनीहरू ओँठमा हल्का मुस्कान छर्दै एकअर्कालाई हेर्दै हाँस्न थाले र एकै स्वरमा भने 'यो नै हो, कान्छा दाइको रेस्टुराँ ।' कान्छा दाइ अर्थात् कान्छा घले हाल फ्रान्समा बस्दैआएको नाताले भाइ पर्ने अर्जुनले सुनाए । हाल उनीहरू मिलेर रेस्टुराँ सम्हालिरहेको पनि बताए । उनको साङहाई बसाइ १५ वर्ष भइसकेको छ भने बासुदेवले १३ वसन्त बिताइसकेका छन् अनि सोम, कृष्ण र विश्वले पनि आठ वर्ष सहज रूपमा बिताइसकेका छन् । आखिर रोजगारका लागि विदेशिनु नै छ भने यहाँ सबै थोक बेस्सै छ, एक मुस्ट आवाजले भने ।

हाल कोभिडका कारण घर जान नपाएकोमा सबै दुःखी छन् । विशेष गरी हेड सेफ शिव यस पाली परिवारबीच पुनःमिलन हुन नपाएकोमा दुःखी थिए । १८ महिनामा घर विदाको व्यवस्था भए तापनि कोभिडका कारण घर जान पाएको छैन । ‘घर जान नपाउने त होइन तर क्वारेन्टाइन अनि हवाइ भाडाले सेकाउँछ, काम गरी खानेलाई गाह्रो छ ।’ हेड सेफको भनाइमा सबै सहमत देखिए । यसै बीच कृष्ण र रूद्रको भने परिवार अहिले यतै छन् । विदाबाट फर्किँदा आफ्ना जहानलाई चीन घुमाउन सँगै ल्याएका कोभिडका कारण फर्कने स्थिति सहज नभएको बताउँछन् उनीहरू ।

विभिन्न रेस्टुरैँरेस्टुराँ भएको चिङआन जिल्लाको जुलु सडकबीचको बाटोमा रहेको नेपाली किचेनले हँसिला अनुहारहरू प्रतीक्षारत छन् भन्ने मन्त्रका साथ खाना पारखीलाई नेपाली स्वादसँगै नेपाल चिनाइरहेको छ । विगत २० वर्षदेखि साङहाईमा नेपाली स्वाद पस्किरहेको कान्छा दाइको रेस्टुराँ यानि कि नेपाली किचेनले सानो नेपालको परिचय पस्किरहेको छ ।

जुलु सडकमा रहेका भिन्न भिन्न रेस्टुराँका सुवास छिचोल्दै नेपाली किचेन पुगेपछि त्यहाँ सजाइएका काष्ठकलाले केही क्षण मलाई जन्मघर काठमाडौं अनि वसन्तपुर पनि पुर्‍याएको थियो र खाना खाइसकेपछि पनि धेरै बेर नेपाली साथीहरूसँग भलाकुसारी गरेँ । मेरो सात दिनको साङहाई बसाइको क्रममा म दुई पटक लञ्च खानलाई पुगेँ । तर डिनरको समयमा भने जान भ्याइएन त्यो चाहीँ अर्को पटक । बाचा रह्यो ।


Author

थप समाचार
x