छिमेक

टीप्पणी

डिजिटल अर्थतन्त्रमा चीन विश्वमै अगाडि, नेपाल कहाँ ?

अजय अलौकिक |
मंसिर १५, २०७७ सोमबार ७:४ बजे

बेइजिङ : चीनको डिजिटल अर्थतन्त्रको कुल परिमाण र वृद्धि गति विश्वमै अग्रस्थानमा छ । सन् २०१९ मा चीनको डिजिटल अर्थतन्त्रले चीनको कुल गाहर्स्थ उत्पादन (जीडिपी)को ३६.२ प्रतिशत भाग ओगटेको छ र यसमा संलग्न रकम ३५८ खर्ब चिनियाँ युआन पुगेको छ ।

चीनको डिजिटल अर्थतन्त्रको विकास सम्बन्धी श्वेतपत्रका अनुसार, सन् २०१९ मा चीनको डिजिटल आर्थिक परिमाण सन् २००५ को तुलनामा १२.७ गुणाले वृद्धि भएको छ । साथै, यस अवधिमा जीडिपी ४.३ गुणाले वृद्धिले भएको छ । सन् २००५ मा डिजिटल अर्थतन्त्रको योगदान दर १४.२ प्रतिशत मात्र थियो । सन् २०१४ देखि २०१९ सम्म, जीडिपी वृद्धि दरमा डिजिटल अर्थतन्त्रको योगदान ५० प्रतिशतभन्दा माथि रहेको छ । र २०१९ मा योगदान दर ६७.७ प्रतिशत पुगेको छ ।


यसैबीच नोभेम्बर २३ तारिख आयोजित ‘विश्व इन्टरनेट सम्मेलन इन्टरनेट विकास मञ्च’ मा सार्वजनिक चीनको इन्टरनेट विकास प्रतिवेदन २०२० का अनुसार, सन् २०२० को मे महिनासम्ममा अप्टिकल फाइबर सञ्जालबाट सबै चिनियाँ सहर तथा ग्रामीण क्षेत्रहरू पूर्ण रूपमा ढाकिएका छन् । साथै चीनमा अप्टिकल फाइबरकर्ताको संख्या ९३.१ प्रतिशत पुगेको छ र यसले विश्वमा पहिलो स्थान ओगटेको छ । यसैगरी सन् २०१९ मा चीनभरि स्थापना गरिएका ४ जी केन्द्रहरूको कुल संख्या ५४ लाख ४० हजारवटा पुगेका छन् । साथै यस वर्षको अक्टुबरसम्ममा ५ जी केन्द्रको संख्या ७ लाख बढी छ । यो पनि चीनको विश्व रेकर्ड हो ।

३ जी प्रविधिमा पछाडि परेको चीनले ४ जीको विकासमा विश्वसँग परस्पर हिँड्दै ५ जीमा अग्रस्थानमा नाम बनाएको छ । चीनमा डिजिटल अर्थतन्त्र कोभिड-१९ महामारीको प्रभावलाई कम पार्न, आर्थिक प्रणालीको पुनःस्थापना गर्न र समग्र देशको क्षमतालाई उकास्ने महत्त्वपूर्ण शक्ति बनेको छ ।

विश्वव्यापी रूपमा फैलिएको महामारीले विश्व अर्थतन्त्र तथा समाजमा ठूलो प्रभाव पारेको अवस्थामा इन्टरनेटको भूमिका झनै महत्त्वपूर्ण बनेको छ । विश्व अर्थतन्त्रमा सङ्कुचन आए तापनि विश्व भर नै डिजिटल अर्थतन्त्रले थोरबहुत टेवा दिएको छ ।

कोभिड-१९ महामारीले उता नेपाललाई भने अति गरिब देशमा धकेलिने खतरा बढेको छ ।

यसैबीच हालै मात्र राजधानी काठमाण्डुमा पहिलो डिजिटल इकोनोमी कनक्लेभ भएको छ, जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व डिजिटल अर्थतन्त्र युगमा प्रवेश गरेको उद्घोष गरेका छन् । फोनपे डिजिटल इकोनोमी कनक्लेभलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वको ध्यान डिजिटल अर्थतन्त्रको खोज र विकासमा लागेको भन्दै कोरोना महामारी नियन्त्रणका लागि बाध्यात्मक रूपमा लगाइएको बन्दाबन्दीले भौतिक सम्पर्क विच्छेद हुँदा अनलाइनमार्फत् व्यापार, वाणिज्य, किनमेल तथा डिजिटल बेङ्किङ र अनलाइन कक्षासँगै डिजिटलबाटै उपचारसमेत भइ आमजीवनको अभिन्न अङ्ग बनेको औंल्याएका छन् ।

यता, चीनमा विगत दश वर्षदेखि डिजिटल प्रविधि र अर्थतन्त्रको विकास तीव्र गतिमा हुँदैआएको छ । पछिल्लो समय अनलाइनबाट तरकारीदखि सबै खाद्यसामग्री, सामान्य लुगाफाटादेखि लक्जरी ब्राण्डसम्म सबै किनमेल गर्ने, यातायात साधनदेखि पर्यटनस्थलका टिकटहरू र रेस्टुराँ, फास्टफुडबाट खानासमेत अर्डर गर्ने चलन युवावर्गमा मात्रै नभइ आमसर्वसाधारणमा पनि बढेको छ । यसैबीच कोभिड-१९ को महामारीको अवस्थामा यो डिजिटल प्रविधि वरदान नै साबित भएको छ ।

मानिस मानिसबीच सिधा सम्पर्क बनाउन नहुने अवस्था र भौतिक दुरी कायम गर्नुपर्ने बाध्यतामा यो प्रविधिले मानिसलाई सहज मात्र गरेन अर्थतन्त्रलाई समेत टेवा दिएको छ । यस्तो अवस्थामा रोजगारीसमेत सिर्जना भएको छ । हाल चीनका सहरहरूमा नौ लाख बढी डेलिभरीम्यान रहेका छन् । यसबाहेक, अनलाइन स्कुल र रिमोट वर्कको व्यवस्थाबाट पनि महामारी नियन्त्रणका साथै समाज र अर्थतन्त्रलाई सुचारू गर्न डिजिटल प्रविधिको योगदान रहेको छ । यसै गरी कन्ट्याक्ट ट्रेसिङ र स्वास्थ्य कोडको व्यवस्थाले देश, सरकार र आममानिसलाई धेरै ठूलो सहयोग उपलब्ध गराएको छ ।

यो वर्तमान अवस्थामा कोभिड-१९ महामारीले उता नेपाललाई भने अति गरिब देशमा धकेलिने खतरा बढेको छ । यो महामारीबाट अर्थतन्त्रलाई पुनःस्थापना गर्न प्रविधि जोड कृषि तथा उद्योगको आवश्यकता छ । साथै प्रविधिको विकास, प्राविधिक भौतिक संरचनाको निर्माण, प्रविधिमैत्री समाजको निर्माण, बाह्रै महिना बिजुली आपूर्ति नभइ डिजिटल अर्थतन्त्रको विकास सम्भव छैन । विद्युत, टेलिफोन, पानीका महसुल डिजिटल प्रविधिबाट तिर्ने सुविधा पाइरहेको नेपालीमा पनि पछिल्लो समय अनलाइन किनमेलमा चासो ह्वात्तै बढेको छ ।

यही अवस्था र महामारीका कारण टड्कारो आवश्यकता बनेको डिजिटल अर्थतन्त्रको विस्तार असम्भव छैन । साथै नेपाल सरकारले पनि डिजिटल नेपालको फ्रेमवर्क २०७६ मन्त्री परिषद्बाट पारित गरिसकेको छ । चीनले पछिल्लो पाँच, दश वर्षमा मारेको फड्कोलाई पछ्याउने हो भने नेपालले पनि चाँडै विश्वका अरू मुलुकसँगै काँधमा काँध मिलाउनसक्ने छ ।


Author

थप समाचार
x