छिमेक

यस्तो छ चीनको भावी योजनाको खाका

अजय अलौकिक |
कात्तिक १४, २०७७ शुक्रबार ११:१० बजे

बेइजिङ : चिनियाँ कम्युनिष्ट पार्टी १९ औँ केन्द्रीय समितिको ५ औँ पूर्ण बैठक अक्टोबर २९ तारिख बिहिबार सम्पन्न भएको छ । योसँगै चीनले आगामी पाँच वर्षको योजना ‘१४ औँ पञ्च वर्षीय’ का साथ ‘सन् २०३५ सम्मको दीर्घकालीन लक्ष्य’ प्रस्ताव प्रस्तुत गरेको छ । यो १४ औँ पञ्च वर्षीय योजना आधुनिक शक्तिशाली समाजवादी देशको निर्माणको नयाँ यात्राको आरम्भ र दोस्रो सय वर्षको प्रयास लक्ष्यतिर अघि बढ्ने पहिलो ५ वर्ष हो ।

सो बैठकले १४ औँ पञ्च वर्षीय योजनाका लागि सुझाव प्रस्तुत गर्दै उच्च गुणस्तरीय विकासको प्रवर्द्धन गर्नुका साथै आधुनिक चीनको निर्माणमा विज्ञान तथा प्रविधि र नवीनतालाई आधारभूत प्रवर्द्धक शक्तिको रूपमा लिनुपर्ने निर्णय गरेको छ । साथै बैठकले चीन उच्च गुणस्तरीय विकासको चरणमा प्रवेश भइसकेको भन्दै रणनीतिक स्थिरता कायम राखेर विकासमा अडिग रहन जोड दिएको छ ।


चीनको विकासका लागि पञ्च वर्षीय योजना चिनियाँ कम्युनिष्ट पार्टीले देशको सुशासन गर्ने र राजनीतिलाई व्यवस्थित गर्ने महत्वपूर्ण तरिका हुनुका साथै चिनियाँ कदमको मूल्याङ्कन गर्ने मापदण्ड पनि हो । सन् १९५३ मा नयाँ चीनले सर्वप्रथम पहिलो पञ्च वर्षीय योजनाको कार्यान्वयन गरेको थियो । आउने वर्षबाट १३ औँ पञ्च वर्षीय योजना सम्पन्न भइ १४ औँ पञ्च वर्षीय योजना आरम्भ हुने छ ।

सो पूर्ण बैठकद्वारा जारी विज्ञप्तिमा चीनले नयाँ उच्चस्तरीय खुला आर्थिक प्रणालीको निर्माण, खुलापनको स्तरमा व्यापक सुधार, व्यापार तथा लगानी उदारीकरण र सहजीकरणको प्रर्वद्धन, नविन व्यापारको विकास र त्यसलाई प्रोत्साहन तथा 'बेल्ट एण्ड रोड' को उच्च गुणस्तरीय विकासलाई प्रोत्साहन गर्न र विश्वव्यापी आर्थिक शासन प्रणालीको सुधारमा सकारात्मक रूपमा सहभागी हुन प्रस्ताव गरेको छ ।

पूर्ण बैठकले आगामी ५ वर्षमा चीनले जनताको जीवनस्तर उकास्न, सह-निर्माण, सह-प्रशासन र साझेदारीको सामाजिक प्रशासन प्रणालीमा सुधार ल्याउन, साझा समृद्धिलाई अनुशासनपूर्वक अघि बढाउन, रोजगारी प्राथमिकताका नीतिहरूलाई सुदृढ पार्न, उच्चस्तरीय शिक्षा प्रणालीको निर्माण गर्न र बहुस्तरीय सामाजिक सुरक्षा प्रणाली सुधार गर्न पनि प्रस्ताव अघि सारेको छ ।

चीनले सुरक्षा विकासलाई सबै क्षेत्र र राष्ट्रिय विकासको सम्पूर्ण प्रक्रियामा एकीकृत गर्ने, आधुनिकीकरण प्रक्रियालाई असर गर्ने विभिन्न जोखिमहरूलाई निस्क्रिय तुल्याउने, राष्ट्रिय सुरक्षा प्रणाली र क्षमता अभिवृद्धि गर्ने, राष्ट्रिय आर्थिक सुरक्षा, सर्वसाधारणको जीवन सुनिश्चित गर्ने र सामाजिक स्थिरता र सुरक्षा कायम गर्ने पनि प्रस्ताव गरेको छ ।

अब उक्त प्रस्तावलाई चीनको राज्य परिषदले मस्यौदाको रूपमा सन् २०२१ मा आयोजना हुने दुई अधिवेशनका क्रममा राष्ट्रिय जन काङ्ग्रेससमक्ष पेश गर्नेछ । अक्टोबर २६ तारिखदेखि २९ सम्म राजधानी बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी १९ औँ केन्द्रीय समितिको ५ औँ पूर्ण बैठक आयोजना भएको हो ।
 


Author

थप समाचार
x