प्रमुख समाचार

होलीमा झडप प्रकरण : 'भीरबाट खसालेर मारेछन्'

इकागज |
चैत १६, २०७७ सोमबार ७:५८ बजे

पोखरा : आइतबार बिहानबाट नै बागलुङ बल्देधुरीमा सयौँको घुइँचो थियो । बागलुङको बडिगाड गाउँपालिका र प्युठानको सिमानामा रहेको बल्देधुरीमा होली मेला आयोजना गरिएको थियो । बिहानैबाट होली खेल्ने, रङ लगाइदिने कार्यक्रम चरिरहेको थियो ।

पानी छ्याप्‍ने, रङ लगाउने भन्दै निसिखोला, बडिगाड तथा प्युठानका मानिस त्यहाँ जम्मा भएका थिए ।  त्यही मेलामा पुगेका २ जनाले भने ज्यान गुकाएका छन् । आफन्त, साथीभाइसँग रङ लगाउन पुगेका उनीहरुको मृत्युपछि आफन्तको जीवनकै रङ उडेको छ । 


होली खेल्न बल्देधुरी पुगेका निसिखोलका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाइको ज्यान गएको हो । मेलामा झगडा भएपछि उनीहरुलाई भीरबाट धकेलिएको थियो । ‘भीरबाट खसालेर मारिएको भनेर प्रत्यक्षदर्शीले भन्‍नुभाछ’ निसिखोला-९ का वडाध्यक्ष तेजेन्द्र कुँवरले बताए ।

साँझ ५ बज्दासम्म बल्देधुरी शान्त नै थियो । तर परिस्थिति एकाएक बदलियो । रङ दल्ने क्रममा पहिला केही युवाबीच झगडा भयो । झगडा बढ्दै गएपछि प्रकाश त्यहाँ पुगेका थिए । ‘झगडा मिलाउन’ त्यहाँ पुगेका प्रकाशमाथि नै ती युवाहरु जाइ लागे । उनीहरू मात्रै जाइ लागेनन्, अरु पनि त्यहाँ थपिए । दीपक भने प्रकाशसँगै झगडा भएको ठाउँ पुगेका थिए । ‘उनीहरु झगडाको मनस्थितिले गएको देखिँदैन, निर्घात कुटेर धकेलिदिएछन्,’ कुँवरले भने ।

वडाध्यक्ष कुँवरले ती थपिएका पुरुषहरूले राजनीतिको विषय उठाएको बताउँछन् । माओवादीका कार्यकर्ताले पहिला झगडा साँधेर लाठीले पिटेको कुँवरले बताए । ‘माओवादीका जिम्मेवार व्यक्ति आएर कुटेछन्,’ कुँवरले भने । प्रकाश नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमिति सदस्य हुन् भने दीपक कांग्रेस कार्यकर्ता हुन् । 

कुँवरका अनुसार यसअघि पनि पटकपटक माओवादीका कार्यकर्ता र उनीहरुबीच भनाभन हुने गरेको थियो । तर हताहत भएको भने यो पहिलो पटक हो । घटनामा अझै कांग्रेसका १२-१५ जना बेपत्ता रहेको कुँवरले बताए । ‘अझै पनि बेपत्ता छन्, उनीहरुको पनि हत्या भयो कि कतै भागे थाहा पाउन सकेका छैनौँ, खोज्दै छौँ,’ कुँवरले भने ।

जिल्ला प्रहरी कार्यालय, बागलुङले भने अहिले घटनास्थलमा आफूहरुको टोली पुगेको र अनुसन्धान भइरहेको बताएको छ । आइतबार बल्देधुरीमा पिकनिकको योजना रहेको र पिकनिकमै झगडा भएको सूचना आफूहरुले पाएको बागलुङ प्रहरी प्रमुख कृष्णबहादुर पल्ली मगरले बताए । दुई जनाको शव खोंचमा भेटिएको र अरुबारे पनि खोजतलासी भइरहेको मगरले जनाए । ‘हाम्रो टोली घटनास्थलमा छ, अरुको पनि खोजी गर्दै छौँ, राजनीतिको कुरा मिसाइयो भनिएको छ, तर मार्नेहरु फेला परेका छैनन्, बुझ्दैँ छौँ,’ मगरले भने ।

र, यो पनि
- होली मेलामा झडप : दुईको मृत्यु, केहीको हताहती भएको आशंका


Author

थप समाचार
x