प्रमुख समाचार

भरतपुरको मेयरमा पुन: रेनु दाहाल, उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी

इकागज |
जेठ १०, २०७९ मंगलबार ९:० बजे

चितवन- भरतपुर महानगरपालिकामा मेयर सत्ता गठबन्धनका दुवै मेयर र उपमेयर उम्मेदवार विजयी भएका छन् । मेयरमा पुन: नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् ।  निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँकी छ । 

दाहालले ५२ हजार ३० र नेपाली कांग्रेसका उपमेयर उम्मेदवार अधिकारीले ५२ हजार ८०३ मत प्राप्त गरेका छन् ।


त्यस्तै नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ३९ हजार ५ सय ८१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याएका छन् ।

उपमेयर उम्मेदवार राप्रपाकी हिमला गुरुङले ३० हजार ६ सय १२ मत ल्याएकी छन् । महानगरमा कूल एक लाख २७ हजार ५६६ मत खसेको थियो ।

को हुन् रेनु दाहाल ?
रेनुलाई कतिपयले माणवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरीका रूपमा आलोचना गर्छन् । उनी प्रचण्डकी छोरी त हुन् नै । विक्रम सम्वत् २०३३ साल असार २२ गते चितवन शिवनगरको भीमसेन नगरमा जन्मेकी रेनु माओवादी अध्यक्ष प्रचण्ड र सीता दाहालकी माहिली छोरी हुन् ।

तर, उनी प्रचण्डकी छोरी मात्रै होइनन् । माओवादी राजनीतिमा उनको आफ्नै पहिचान पनि छ ।  बि.स. २०५१ सालमा उनी पार्टी प्रवेश गरिन् । २०५२ सालको माओवादी सशस्त्र द्वन्द्वकालमा भूमिगत भइन् । 

सशस्त्र द्वन्द्वकालमा रोल्पामा सहइन्चार्ज, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव रहेकी दाहाल काठमाण्डूकी जिल्ला सचिव हुँदै पोलिटब्युरो सदस्यको समेत रहिन् ।  प्रवासमा अखिल महिला समाजकी केन्द्रीय समिति अध्यक्ष समेत भइन् । 

प्रवेशिकासम्म अध्ययन गरेकी दाहाल पहिलो संविधानसभामा समानुपातिकबाट सभासद् भएकी थिइन् ।


Author

थप समाचार
x