प्रमुख समाचार

बालेनको पदभार ग्रहणकै दिन किन भयो महानगरविरुद्ध प्रदर्शन ?

इकागज |
जेठ १६, २०७९ सोमबार १५:२५ बजे

काठमाडौँ- स्वतन्त्र उम्मेदवार बनेर काठमाडौँ महानगरपालिकाको मेयरमा विजयी भएका बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोलले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै पदभार ग्रहण गरेका छन् । महानगरमा नवनिर्वाचित मेयर शाह र उपमेयर डंगोलले पदभार ग्रहण कार्यक्रम हेर्न पुग्‍नेहरूको बाक्लै भीड थियो।

पहिलोपटक स्वतन्त्र उम्मेदवारी दिएका शाह विजयी भएपछि सबैको चासो बनेको थियो काठमाडौँ महानगर । ओहोरदोहोर गर्ने मानिसहरू ढल गन्हाएको भन्दै नाक थुन्दै हिँडिरहेका थिए । केही मानिस भन्दै थिए, ' कस्तो के गन्हाएको हो भन्दै थिए ।'


नयाँ मेयरको कार्यालय प्रवेशको पहिलो दिन फरक दृश्य देखियो । सबैको हात-हातमा फूल र माला हुनुपर्थ्यो तर, त्यस्तो देखिएन । विरोध गर्न ब्यानरसहित केही व्यापारीहरू देखिए ।

'पाँच वर्षसम्म विद्यासुन्दर ज्युले देख्‍न नसकेको नगरपालिकासहितको जलमग्न पार्किङ ढल मग्न' काठमाडौँ महानगरपालिकाको अस्थायी कार्यालयमा देखिएको दृश्य हो ।

भवनमा महानगरको विभिन्न कार्यालयसहित अन्य निजी कम्पनी गरी करिब २० वटा कार्यालय छन् । भवनको पार्किङमा फोहोर पानी जमेको भन्दै उनीहरूले विरोध जनाएका  हुन् ।

त्यस्तै सँगै रहेको व्यापारिक भवन चाइना टाउनको पार्किङमा पनि फोहोर पानी जमेकाले विरोध जनाउनु परेको सहभागी रामकुमार खड्गीले बताए । पाँच वर्षसम्म निवर्तमान मेयर विद्यासुन्दर शाक्यले केही काम गर्न नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका थिए ।

पुरानो मेयर शाक्यले ढलको समाधान गर्न सकेनन् । धेरै पटक यहाँको वातावरणको बारेमा सुनाउँदा कसैले पनि वास्ता नगरेको विरोधमा सहभागी व्यापारीहरूको गुनासो थियो । शाक्यले पाँच वर्षको समयमा केही गर्न नसकेकाले ढलबाट पीडित हुनुपरिरहेको उनीहरूको भनाइ थियो ।

विरोधमा सहभागी व्यापारीहरू भन्दै थिए,' नयाँ मेयरलाई हाम्रो समस्या सुनाउन चाहन्छौ । तर, तत्काल फोहोर पानीको व्यवस्थापन गरिदिनुपर्यो । हामीलाई पनि मेयरले सहयोग गर्नुपर्छ । हामी पनि सहयोग गर्न तयार छौ, कसैको विरोध गर्न आएका होइनौ ।'


Author

थप समाचार
x