प्रमुख समाचार

जोर्डनसँग नेपाल पराजित

इकागज |
जेठ २६, २०७९ बिहीबार ६:३० बजे

कुवेत- एएफसी एसियन कप छनोट २०२३ को तेस्रो चरणअन्तर्गत पहिलो खेलमा नेपाल बलियो टोली जोर्डनसँग २-० अन्तरले पराजित भएको छ । बुधबार राति कुवेत सिटीस्थित जाबिर अल अहमद स्टेडियममा  पहिलो हाफमा जोर्डनलाई रोकेको नेपाल दोस्रो हाफमा भने त्यसलाई निरन्तरता दिन सकेन । जोर्डनको जितमा अलि ओल्वन र हाम्जा अल दारदौरले एक एक गोल गरे ।

पहिलो हाफमा नेपालका गोलकिपर दीप कार्कीले पेनाल्टी बचाउँदा जोर्डन दबाबमा आएको थियो । पहिलो आधिकारिक प्रतियोगितामै सुरुवाती एघारमा स्थान बनाएका दीपले  खेलको ४३औँ मिनेटमा जोर्डनका मौसा मोहमद सुलेमानको पेनाल्टी बचाएका थिए । 


जितसँगै जोर्डनले पहिलो खेलबाट ३ अंक जोडेको छ  । नेपाल बिनाअंक समूह बीको पुछारमा छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुतारीले युवा खेलाडीले राम्रो प्रदर्शन गरेको र जोर्डनलाई रोक्न असफल भएको बताए । यस खेलमा दीपसँगै विकास तामाङले समेत नेपालका लागि डेब्यु गरेका छन् । सेन्ट्रल ब्याक विकास पूरा समय मैदानमा बिताएका थिए ।

अब नेपालले २८ जेठमा घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।

त्यस्तै आजनै भएको खेलमा आयोजक कुवेत इन्डोनेसियासँग १-० ले पराजित भयो । 


Author

थप समाचार
x