प्रमुख समाचार

एमाले संसदीय दलको बैठक आज, जोगिएला त कर्णालीका मुख्यमन्त्रीको पद ?

लक्ष्मी भण्डारी |
चैत २२, २०७७ आइतबार ६:११ बजे

सुर्खेत : कर्णालीमा नेकपा एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेको छ । जसको लागि आज (आइतबार) संसदीय दलको बैठक बस्‍दैछ । प्रदेशसभाका सांसद तथा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पार्टीको विषयमा छलफल गर्ने उद्देश्यले बैठक बोलाइएको बताए । ‘आजको बैठकमा सांसदहरूले ल्याएका एजेण्डामा छलफल गर्छौ’ संसदीय दलका नेता कँडेलले भने, ‘सांसदका एजेण्डाअनुसार अगाडि बढ्छौ ।’

एमाले प्रदेश कमिटी सदस्य राजु नेपालीकाअनुसार बैठकमा पार्टीको सबै सांसदलाई एकजुट बनाएर अघि बढ्ने विषयमा छलफल केन्द्रित हुने उनले बताइन् । संसदीय दलको बैठकमा सबैलाई सहभागी गराएर छलफलमा जाने उनको भनाइ छ । गएको चैत्र ४ गते एमाले ओली पक्षधर  १० जना सांसदहरूको उपस्थितिमा संसदीय दलको बैठक बसेको थियो । बैठकलाई माधव नेपाल पक्षधरले विरोध गरेको थियो । बैठकले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय समेत गरेको थियो । 


तथापि, सुरुमा माधव नेपाल पक्षधरले समर्थन कायम रहेको बताए पनि संसदीय दलका नेता यामलाल कँडेलको प्रयासपछि एमालेहरू एक ठाउँमा आएको सांसद सुशील थापाले जानकारी दिए । ‘एमालेका सांसदहरू एक ढिक्का भएका छौ र अब हाम्रो नेतृत्वमा सरकार बन्छ’ सांसद थापाले भने, ‘भोलिको बैठकमा पनि एमालेको नेतृत्वमा सरकार कसरी गठन गर्ने भन्‍ने विषयमा छलफल गरिनेछ ।’

गत मंगलबार पनि प्रदेश प्रमुखले मुख्यमन्त्री शाही अल्पमतमा परेको जनाउ गर्दै ध्यानाकर्षण पत्र पठाएका छन् । त्यस्तै २२ गते बोलाएको संसदीय दलको बैठकमा सबै सांसदलाई उपस्थित गराइने एमाले सांसदहरूले बताएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले भोलिको बैठकले पार्टीको आन्तरिक विषयमा छलफल गरिने बताए । ‘भोलि हुने पार्टीको नियमित बैठक हो र एमालले मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ’ उनले भने ‘अब शाहीले विश्‍वासको मत लिनुपर्छ ।’

कर्णाली सरकार गठन गर्नका लागि २१ जना सांसदको आवश्यकता पर्दछ । प्रदेशसभामा सभामुखसहित एमालेका २० जना सांसद रहेका छन् । राप्रपाका एक सांसदलाई पनि साथमा लिएमा एमाले नेतृत्वमा सरकार गठन हुन सक्ने सांसद सुशील थापा बताउँछन् । 

यता कर्णाली प्रदेश सरकार बचाउन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्‍वासको मत लिने दाउपेचमा छन् । मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्मा विश्‍वासको मत लिएर अघि बढ्ने बताउँछन् । मुख्यमन्त्रीलाई विश्‍वासको मत लिनको लागि अहिलेकै अवस्थामा नेपाल पक्षका सांसदको सहयोग आवश्यकता पर्दछ । 

प्रदेशसभामा माओवादी केन्द्रका १३ जना सांसद छन् । नेपाली काँग्रेसका ६ जना र राप्रपाका एक जना सांसदले साथ दिएमा २० जना पुग्छ । यस्तो अवस्थामा नेपाल पक्षका सांसदले मुख्यमन्त्रीलाई साथ दिएमा मात्र शाही नेतृत्वको सरकार जोगिन सक्छ । तर नेपाल पक्षका सांसदले मुख्यमन्त्रीलाई साथ दिएको खण्डमा एमाले संसदीय दलले कारबाहीसम्म गर्न सक्ने आँकलन छ । 
 


Author

थप समाचार
x