लगाउनै छाडे गाउँमा महिलाले झुम्के बुलाकी
वीरेन्द्रनगर : गाउँघर होस वा सहर फुली बुलाकी लगायतका पुराना गहनाले सजिएका महिलाहरू पहिले पहिले थुप्रै भेटिन्थे । तर पछिल्लो समय पुराना गहना लगाउने महिलाहरू भेट्नै मुश्किल छ । आधुनिक परिवेश र रहनसहनमा परिर्वतन भएसँगै गाउँघरमा लगाइने गहना लोप हुँदै गएका छन् ।
बजारमा आएका आधुनिक गहनासँगै महिलाले लगाउदै आएका फुली, चक्ली, बुलाकी, मडहरी, चन्द्रमा लगायतका पुराना गहना ओझेलमा पर्दै गएका छन् । पहिले पहिले विहेबारी नभएपनि गहना लगाउने चलन थुप्रै हुन्थ्योे । अहिले त्यो चलन नरहेको दैलेखकी जशु थापाले बताउँछिन् । ‘पहिले हामी विहे नहुँदै गहना पहिरिन्थ्यौँ । अहिले बजारमा आएको नयाँपनले पुराना गहना ओझेलमा पर्दा दुःख लागेको छ’ उनले भनिन् ।
‘पहिलेकी चेलीको घरमा मगनी गर्न जादा घुसघुसे शैलीमा दुइ तोला, पाँच तोला गहना लगाउने भए बिहे गर्ने नभए विहे नै नगर्ने चलन थियो । तर अहिले आधुनिक फेसन र सुन अत्यधिक महंगिएसँगै लगाउनै छोडेका छन्’ उनले भनिन्, ‘पहिले गाउँघरमा पुग्दा सबैका कान नाखमा फुली बुलाकी चन्द्रमा लगाएर नाक,कान, गलामा सुनले झिलमिल टल्किन्थे तर अहिले त्यस्तो छैन, थापाले भनिन्,‘ अहिले पातलो रुपमा मात्र गहना लगाएको देख्न पाइन्छ ।’
परम्परादेखि चल्दै आएको संस्कृति रितिरिवाज आधुनिक परिवेशका कारण र अत्याधिक मुल्यवृद्धिका कारण यसरी सुनका गहना लोप हुँदै जाने हो भने हाम्रो सुहाउँदो पुरानो संस्कृति परम्परा सधै भरीका लागी लोप हुने कालिकोटकी रामसरा शाही चिन्ता व्यक्त गर्छिन् ।
यसरी अत्याधिक मुल्य वृद्धिका कारण र आधुनिक परम्परा अँगाल्दै गएमा भावी पुस्तासम्म नरहने शाहीको भनाइ छ । पहिले पहिले गाउँघरमा हातमा काँडेँ चुरा, रानी चुरा, कान र नाकमा सुनका गहना गलामा मङ्गलसुत्र र विभिन्न पोतेहरूले भरिभराउ हुन्थे । अहिले भने फाट्टफुट्ट रुपमा मात्र गहना लगाउने गरेको दैलेखकी ४५ वर्षीया पानसरी बुढा बताउँछिन् ।
‘हाम्रो पालामा सबैले फुली बुलाकी, मडहरी लगायतका थुप्रै गहना लगाउँथ्यौँ । तर अहिलेकाले लगाउनै छोडे । चक्ली, फुली बुलाकि त पुरानो मान्छेले लगाउने हो’ उनले भनिन् । समयसँगै आफुहरू पनि परिर्वतन हुनुपर्ने बताउँछिन् दैलेखको ठाटीकाँधकी नमुना शाही । भन्छिन्, ‘२१ औँ शताब्दीका हामी पुरानै कुरामा अल्झिनु हुँदैन । समयसँगै परिर्वतन हुनुपर्छ किन महंङ्गा सुन लगाउने कानमा रिङ र नाकमा नथनि भए पुग्छ ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया