प्रमुख समाचार

निजामती प्रशासनले जनताको विश्‍वास जित्‍न सकेन: उपप्रधानमन्त्री पोखरेल

इकागज |
चैत २५, २०७७ बुधबार १७:३० बजे

काठमाडौँ : समयको गतिसँग निजामती प्रशासन परिवर्तन हुन नसकेको आरोप उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले लगाएका छन् । बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवहरूबीच निजामती सेवाका विभिन्‍न पक्षसम्बन्धी अन्तरक्रियामा उपप्रधानमन्त्री पोखरेलले समय अनुसार आफूलाई परिवर्तन गराउन निजामती प्रशासनलाई सुझाएका छन् ।

प्रशासनलाई उनले  ‘झिङ्गे टसाइ’को सोचबाट मुक्त हुन पनि आग्रह गर्दै भने, ‘नतिजा भन्दा बढी प्रक्रियामा केन्द्रित भएकाले पनि प्रशासन निकै कमजोर छ ।’ निजामती कर्मचारी सक्षम हुँदाहुँदै पनि जनताको विश्‍वास जित्‍न नसकेको उनको आरोप छ ।


‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या सोचमा सकारात्मक परिवर्तनको अभाव हो,’ उनले भने, ‘यसलाई विरासतमा पाएको भन्‍ने सोच नराखी समय अनुसार परिवर्तन हुन आवश्यक छ । जनताको काम गर्न बढी प्रक्रियामा जान भएन ।’ 

ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न नसक्ने सकेसम्म्म हिचकिचाउने जसता प्रवृत्ति निजामती कर्मचारमिा रहेको उनले बताए । उनले निजामती भित्र पनि राजनीतिक भावमा काम हुने पाटो पनि उजागर गर्दै भने, ‘विभिन्‍न समस्यासँग तर्सनेलगायत प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्‍न उठ्ने गरेको छ ।’ 

शासन प्रणालीलाई सुदृढ र सबल बनाउने मूल जिम्मेवारी निजामती प्रशासनको काँधमा भएकाले यसमा सचेत हुन आवश्यक रहेको उनले बताए । निजामती कर्मचारी जनताको करबाट चल्ने हुनाले उनीहरु पनि जनता प्रति उत्तिकै लोकप्रिय हुन आवश्यक रहेको बताए । 


Author

थप समाचार
x