प्रमुख समाचार

महाअभियोग दर्ता भएको ६ महिनापछि सिफारिस समितिले भन्यो- जबरा विरुद्धका प्रमाण र कागजात उपलब्ध गराऊ

इकागज |
भदौ १०, २०७९ शुक्रबार ९:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराकाविरुद्ध भएका प्रमाण, कागजात वा जानकारी भए तीन दिनभित्र उपलब्ध गराउन आह्वान गरेको छ ।

शुक्रबार सूचना जारी गर्दै ३ दिनभित्र भएका प्रमाण समितिमा पुग्नेगरी पठाउन महाभियोग सिफारिस समितिले अनुरोध गरेकाे हो। जबराविरुद्धको महाभियोग प्रस्तावमाथि अध्ययन सुरु गरेको छ।


समिति गठन भएको करिब ६ महिनापछि सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले अर्को बैठकमा कार्यविधि टुंगो लगाउने गरी त्यसको मस्यौदामाथि छलफल गरेको थियो। 

महाभियोग सिफारिस समिति ११ सदस्यीय छ । जबराविरुद्ध गत फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएको थियो । 

गोरखापत्रमा जारी सूचनामा लेखिएको छः
सम्माननीय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराका विरुद्ध नेपालको संविधानको धारा १०१ को उपधारा (२) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ बमोजिम प्रतिनिधि  सभाका एक चौथाई भन्दा बढी सदस्यहरुले महाभियोग प्रस्ताव पेस गर्नु भएकोमा सो महाभियोग प्रस्ताव सम्बन्धमा नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) तथा प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६२ बमोजिम प्रतिनिधि सभाबाट गठित महाभियोग सिफारिस समितिको मिति २०७९/५/८ को बैठकले ‘महाभियोग लगाइएको आरोपसँग सम्बन्धित विषयमा प्रमाण, कागजात तथा जानकारी समितिमा उपलब्ध गराइदिन यस विषयमा सरोकार राख्ने निकाय वा व्यक्ति सबैबाट सार्वजनिक सूचना प्राकशन गरी त्यस्तो प्रमाण, कागजात तथा जानकारी माग गर्ने’ निर्णय भएकाले त्यस्तो प्रमाण, कागजात तथा जानकारी भए यो सूचना प्रकाशन भएको मितिले तीन (३) दिनभित्र यस समितिमा आइपुग्ने गरी पठाइदिनुहुन अनुरोध छ।


Author

थप समाचार
x