प्रमुख समाचार

त्रिनगर नाकाबाट भित्रिएका २२ सयको परीक्षण गर्दा १९६ जनामा कोभिड

नवराज पनेरु |
बैशाख २, २०७८ बिहीबार १४:२७ बजे

धनगढी : पछिल्लो पाँच दिनमा भारतबाट कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिएका १९६ जनामा कोभिड-१९ भाइरस संक्रमण पुष्टि भएको छ । चैत २८ गतेदेखि त्रिनगर नाका हुँदै नेपाल भित्रिएका एक सय ९६ जनामा संक्रमण पुष्टि भएको नाकामा स्थापना गरिएको हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

एन्टिजेन परीक्षण गर्दा क्रममा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको ठकुल्लाले जानकारी दिए । ‘चैत २८ गते एक हजार एक सय १८, २९ गते एक हजा एक सय, ३० गते नौँ सय १५, ३१ गते ८ सय ९६ र बैशाख १ गते ६ सय ६८ गरी चार हजार ६ सय ९७ जना त्रिनगर नाका हुँदै नेपाल आएका छन्,’ उनले भने, ‘उनीहरूमध्ये दुई हजार दुई सय एक जनाको परीक्षण गर्दा एक सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।’ यो परीक्षणको झण्डै ९ प्रतिशत हुन्छ । 


एन्टिजेन परीक्षणका क्रममा पोजेटिभ देखिएकाहरूलाई धनगढी उप-महानगरपालिका-१५ को कनरीमा बनाएको आइसोलेसनमा राख्दै आएको ठकुल्लाले जानकारी दिए । आइसोलेसन भरिएपछि धनगढीको कवर्डहलमा राख्ने तयारी भएको उप-महानगरपालिकाले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएका व्यक्तिलाई आइसोलेसनमा पठाउने गरिएपनि उनीहरूको कन्ट्याक्ट ट्रेसिङमा परेका बाँकी नागरिक भने सोझै घर गइरहेका छन् । भारतमा कोभिड संक्रमणको दोस्रो लहर तिव्र फैलिएपछि अहिले सीमा नाकामा स्वदेश फर्किनेको लर्को छ । भारतमा पछिल्लो २४ घण्टामा झण्डै दुई लाख कोरोना संक्रमित थपिएका छन् । त्यहाँ कुल संक्रमितको संख्या एक करोड ४० लाख ७० हजार पुगेको छ । 


Author

थप समाचार
x