प्रमुख समाचार

मुख्यमन्त्रीलाई विश्‍वासको मत दिन कर्णालीका सांसदलाई माओवादीको अपिल

इकागज |
बैशाख २, २०७८ बिहीबार २०:२ बजे

सुर्खेत : कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्‍वासको मत दिन नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलले अपिल गरेको छ । माओवादी केन्द्र कर्णाली प्रदेशले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिन कर्णाली प्रदेशसभाका सबै सांसदहरूलाई अपिल गरेको छ । 

संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्‍वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल गरेकी छन् ।


‘प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्यूको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सबै राजनीतिक दल र सम्बद्ध माननीय सदस्यज्यूहरूमा हार्दिक अपिल गर्दछु,’ नेपालीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
 
वर्तमान अवस्थामा एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिमा कुठाराघात भएको नेपालीको भनाइ छ । ‘केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ,’ विज्ञप्तीमा उल्लेख छ । 

कर्णाली प्रदेश सभाको सातौं अधिवेशन भोलि दिउँसो दुई बजे बोलाइएको छ । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिनेको लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता भएको छ । यही चैत ५ गतेदेखि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । 

माओवादी सांसद रेग्मी पदच्यूत भएपछि हाल ३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ ।


Author

थप समाचार
x