साथीको हत्या गरेलगत्तै समातिए खुलाल, खुकुरीले हान्न थालेपछि दुईले झ्यालबाट भागेर ज्यान जोगाए
सांकेतिक तस्बिर
भक्तपुर : सूर्यविनायक नगरपालिका-८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ । सोलुखुम्बु घर भई हाल मनोहराको सुकुम्बासी बस्तीमा बस्ने २० वर्षीय ईश्वर राईको हिजो गाईफार्ममा खुकुरी प्रहार गरी हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
हत्यामा संलग्न काठमाडौँ गोठाटार घर भई सूर्यविनायक बस्ने २० वर्षीय आशिष खुलाललाई प्रहरीले चारैतिर घेरा हाली पक्राउ गरेको छ । अनुसन्धानका क्रममा खुलालले सामान्य विवादमै खुकुरी प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरीको भनाइ छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार खुलाललाई भेट्न गाईफार्म पुगेका राई, महोत्तरी जिल्ला घर भई मनोहरा सुकम्बासी बस्ती बस्ने युनिष योञ्जन र सुनिल बलबीच कुराकानीकै क्रममा विवाद भएको थियो । राई र खुलालबीच विवाद भएपछि खुलालले कोठाबाट खुकुरी ल्याई राईलाई हान्न थालेपछि योञ्जन र बल झ्यालबाट भागेर ज्यान जोगाएका थिए ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाको टोलीले हत्या गरी भाग्दै गरेका कागेश्वरी मनोहरा नगरपालिका-९ गोठाटार स्थायी घर भई सिपाडोलमा गाईफार्ममा रहेका खुलाललाई पक्राउ गरेको हो ।
घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक तारादेवी थापासमेतको टोली घटनास्थलमा पुगेर अनुसन्धान शुरु गरेको तथा घटनास्थलबाट हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको छ । खुकुरी प्रहारबाट मृतक राईको घाँटी र टाउकोलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया